कुच्याउनुसम्म कुच्याइएको
थेचार्नुसम्म थेचारिएको
हेपिएको
होच्याइएको
घाँटी ङ्याँकिएको
लुछाचुँडी गरिएको
छियाछिया हुन्जेलसम्म
चिथोरिएको
यौटा अमर सपना आएर सोध्यो,
त्यो कहिले आउँछ ?
ऊ त्यहीँ थियो
बर्सौं लगाएर हजुरबाले बनाएको
ढुङ्गामाटोको लामो घरअघिल्तिर
सिङ्गो शताब्दी खर्चेर
बाले चर्चरी घाममा सुकाएको
काँचो इँटाको घरको आँगनमा
अथवा
मैले दशकौँ दन्दनी आगो बालेर पकाएको
रातो इँटाको घरछेउमा
ऊ त्यहीँ थियो,
त्यही प्रश्न गरिरहेको ।
ऊ सोधिरहेथ्यो,
किन टालिएन अझै
आन्द्रेदमाईहरूको टाउकाको टोपी ?
ल्वान्द्रेकामीहरूले
आफ्नै हतियारमा साँध
किन लगाउन पाएनन् ?
ठुल्ठूला घर बनाउने किस्नेघर्तीहरूको
छानो किन चुहिन्छ अझै ?
कैयौँका मरेका पितृलाई पिण्ड चढाउँदै हिँड्ने
हाँसेबाहुनहरूको घरमा
किन अनिकाल छ ?
बर्सौंदेखि
हरेक नयाँ घरअघि उभिएर
ऊ त्यही सोधिरहेको छ,
ऊ त्यहीँ छ ।
यतिबेला
बा,
म
र तरबार टेकेको हजुरबाको भित्ताको तस्बिर
नयाँ घर बनाइरहेको छोरोलाई
इतिहास सम्झाइरहेछौँ,
‘बाबु,
ती अमर सपनाहरू खतरनाक छन्,
बच्नू !’
००