अचेल खास्खुस मात्रै सुनिन्छ
हाँसो हराएको छ शहरमा
मुर्तीहरु साउती मार्छन्
मान्छेको बिवशतामा
सत्य यही हो
कि नसुनिने धूनहरुको मैले वाचा गरेको छैन
केवल कलेटी ओठ्हरुमा मुस्कानका छर्रा बर्षाउन सकुँ
सम्पन्नताको बिस्कुन होइन
सभ्यताको मान्द्रो बुन्न /बुनाउन सकुँ
ताकी लम्पसार लडेको अन्तिम पलमा आँफैँसँग दिग्मिग नलागोस्।
चिरा चिरा छन् मनहरू
दुरी बढ्दोछ आफ्नाबिचमा
आत्ममिमांसा बेपत्ता छ
अभिमानको बोलवालामा
कोशीस यही हो
कि नभेटिने सपनाहरुको पिरामिड उभ्याएको होइन
केवल जीवनदेखी जीवन सम्म आत्मियताको धर्सो पुर्याउन सकुँ
अतिरञ्जित आश्वासनको भकारी होइन
सम्भावनाको मानो मुट्ठी बाँट्न सकुँ
ताकी समयको पैया घुमेर पोल्टा रित्तिएको बेला आँफैँसँग लाज नलागोस्।
भग्न् हृदयहरू
सुक्खा आँखाहरू
सपना देख्न छोड्दैनन्
कामना गर्न बिर्सँदैनन्
परिस्थितिको ढाडमा उभिएर चिप्लिनेहरू
समयको घोडा बत्तिएको छनक पाउँदैनन्
भ्रम ओढेर यथार्थ बम्किनेहरूलाई
आँखाको सेतो पर्दा च्यातेर
दिनको उज्यालो र रातको अंध्यारो पालैपालो
नियाल्न लगाइ जिन्दगीको सत्य बुझाउन सकुँ
सागरको मोती होइन
पानीको थोपा थोपा चिनाउन सकुँ
ताकी बांच्नुको परिभाषा केलाउँदा 'निरर्थक' शब्दको कतै ठेस नलागोस्।
धादिङ्ग, हाल इजरायल।