यो दूर देशमा
दरदर्ती वर्षा दर्किरहंदा
मन त्यसै त्यसै तानिएर पुग्छ
प...अ...र मनास्लु मुन्तिरको मेरै गाउँ सम्म
जहाँ असारे मनसुनमा
बर्सन्छन स्निग्ध थोपा हरु ।
सुसाउंछे सल्लेरी,
तप्प तप्प चुहिन्छन पातहरुबाट
पानीका थोपाहरु
माथि माथि नम्किका डाँडाहरु
कुहिरोको घुम ओढेर
तरुनो नजरले तल हेर्छन दरौंदी तिर,
असारे भाका गाउँदै
जिस्किंदै इत्रिन्दै बग्छे दरौंदी बैश छरेर
माथि बुक्यानी पाखातिर
शिर बर्संदै गर्दा
हतार हतार गाईबस्तु
सोतिखोला तार्छे तरुनी
आँगनमा झर्छ बर्खे बलेनी
हिउँद भरि तिर्खिएका नालाहरु
उर्लन्छन बेस्मार
मनभित्रको छाल जसरि
घाँसका मुठाहरु
घोचोमा उधिनेर पहाड जत्रै भारी बोक्दै
ओरालो झर्छन आमाहरु
पसिनाले निथ्रुक्कै भिजेर !
पारि फाँटतिर गुन्जन्छ्न
समहाका कल कल आवाजमा
मंग्सिर निम्त्याउन रोपिएका
स्वच्छन्द हाँसोहरु ।
यो दूर देशमा म आज त्यहि हाँसो यादानुभूति गरि रहेछु ।