पहिलो जुनी
वि.सं. १८७१ असार २९ मा आए भानुभक्त
र गए —
वि.सं. १८२५ असोज ६ सँगै
दोस्रो जुनी
भए आदिकवि
कतै चिम्सा आँखा
कतै लामो नाक
कतै गोरो वर्ण
कतै कालो वर्ण
कतै पूर्ण कद
कतै अर्ध कद
कतै रथयात्रा
कतै अविरजात्रा
तेस्रो जुनी
भए माछा
नदीको लहरमा कविता लेख्दा—लेख्दै
एकदिन अचानक
खायो गोहीले
बयालीस लाख जुनी
भए किम्बुको रुख
शरद ऋतुको आँखैअघि
खायो रेशम किराले
चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
मानिसको जीवनको कुनै भर छैन
र हिँडे भानु
ऋमरावती कान्तिपुरी नगरी
ह्तारमा बिर्सेछन् बिर्केटोपी
बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि गोल्डस्टार सुज
झोलामा टावेल, गन्जी, कट्टु
एसएलसीको सर्टिफिकेट र श्रीप्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट, रु. सातसय पचास
र आमाको सादा तस्विर
बालाजु, बसपार्क, धरहरा
घण्टाघर र रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला—अवला
जब ढल्क्यो घाम
गमे कविजी कता जाम ?
कविले कविको मर्का बुझ्छ
सम्झे उनले चित्तधर
खल्तीमा छ रु. सातसय पचास
लच्छिन्की रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झे उनले चुँदी—रम्घा
झर्यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख
किनकि
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ — रामायण ।
साभार : बिसे नगर्चीको बयान (२०६७)