ऊ मानवअधिकारको सम्मान गर्ने मान्छे, सम्पूर्ण मानवका अधिकारहरुको रक्षा चाहने मान्छे । ऊ अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने मान्छे । ऊ वर्गीय, जातीय, लैङ्गिक आदि सम्पूर्ण विभेदको विरोधी अनि सामाजिक समानता र समताको पक्षधर मान्छे । ऊ पशुअधिकारलाई पनि सम्मान गर्ने मान्छे । ऊ पर्यावरणप्रेमी, शान्तिप्रेमी, अहिंसाप्रेमी मान्छे । ऊ राष्ट्रप्रेमी मान्छे । तर समाजका अधिकतम सभ्य भनिने मान्छेहरुले जस्तो ऊ आफ्नो आदर्शलाई बोली र सिद्धान्तमा मात्रै सीमित राख्न चाहँदैनथ्यो । दैनिक जीवनमा, व्यवहारमा लागू गर्न चाहन्थ्यो । आफ्नो ठाउँबाट सकेसम्म केही गरेर देखाउन चाहन्थ्यो । अरुको लागि एउटा उदाहरण बनेर देखाउन चाहन्थ्यो । एकदिन उसको घरअगाडिबाट पशुहरुलाई दिइने यातना र पशुवधको विरोध गर्दै पशु अधिकारवादीहरुको एउटा ¥याली गुज्रियो । ऊ पनि हत्तपत्त जुत्ता लगाएर दगुदै त्यसमा संलग्न भयो । बोल्न नसक्ने निर्दोष पशुहरुको अधिकारका लागि आफूले अलिकति भएपनि योगदान गर्न सकेकोमा ऊ निकै खुशी भयो । तर भोलिपल्टै आफ्नो गरि खाने अधिकारको हनन हुनलागेकोमा विरोध गर्दै त्यहीँबाट मासुविक्रेताहरुको ठूलो जुलुश निस्कियो । उनीहरुको भनाई थियोः हामीले काटेको मासु खाएर, हाम्रै खेदो खन्ने ? कसैले मासु नखाए त हामीले पनि किन काट्नु, किन बेच्नु ? आठदसवटा कुखुरालाई साइकलमा नओसारे कसका बाबुको गाडीमा ओसार्नु त ? अर्कोदिन ऊ अफिस जाँदैगर्दा नदीहरुबाट अनधिकृत रुपमा अत्यधिक बालुवा निकालेर नदी, पुलहरु र वातावरण नै खतरामा पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्न “बालुवा गिट्टी निकासी रोकौँ, वातावरण जोगाऔँ” भन्ने नारासहित पर्यावरणप्रेमी जागरुक नागरिकहरुको रयाली देखेर ऊ अफिस अलि ढिलो भएपनि होस्, पर्यावरण जोगाउनु हामी सबैको कर्तव्य हो भन्दै त्यसमा सामेल भयो । फलस्वरुप सर्वोच्च अदालतले तत्काललाई बालुवा गिट्टी झिक्न र बेच्न रोक लगायो । सर्वोच्चको फैसलाको लगत्तै बालुवा गिट्टी र ढुङ्गाको कारोबार गर्ने “डन” हरु र त्यहाँ काम गर्ने मजदूरहरुले आफूहरुको रोजगार खोसिएकोमा विरोध गर्दै अझै लामो “राँके जुलुस” निकाले । सर्बोच्चले आदेश तुरुन्त फिर्ता नलिए आफूहरुले क्रशर, डोजर आदि किन्न बैंकहरुबाट लिएको ऋण नतिर्ने र बैंकहरुलाई टाट उल्टाइदिने धम्की पनि उनीहरुले दिए ।
एवं रीतले वनविनाश रोक्न सालका रुख कटानी र बिक्री रोक्न दिइएको आदेशमा काठव्यापारी र काठमिस्त्रीहरुले विरोध जनाए, सडकबाटोहरु चौडा पार्ने अनि सरकारी र नदी किनारका जग्गा अतिक्रमण रोक्ने कार्यप्रति कथित “सुकुम्बासी” हरु आक्रोशित भएर हिंसात्मक प्रदर्शनमा उत्रिए, उपभोक्ता ठग्ने ट्याक्सी चालकलाई कारवाही गर्दा “चालक संघ” हरुले चक्का जाम गरे, दण्डहीनता रोक्ने, चन्दा आतंक अनि गुण्डागर्दी नियन्त्रण गर्ने कार्यक्रम ल्याउँदा “राजनीतिक दल” हरुले नै आन्दोलन थाले........... हुँदाहुँदा चोरहरु लाई पक्रेर कारवाही गर्दा समेत “रात्रिकालीन स्वररोजगार युवा संघ” ले कि त सरकारले हामीलाई रोजगार दिनुपर्छ, हैन भने चोरेर खान त्यसपछि भने ऊ चुपचाप लागेर बस्यो, अरु सामान्य सभ्य जनता जस्तै ।