अन्ततः दुई पक्ष मिलेर समुन्द्र मन्थन गर्ने टुंगोमा पुगे । निकै कष्टसाध्य थियो मन्थन कार्य । तर विवाद र द्धन्द्ध समाधान गर्ने यो बाहेक अर्को उपाय पनि थिएन । निकै वेर चल्यो मन्थन कार्य । जे चीजको खोजी थियो त्यही निस्किरहेको थिएन । धेरै प्रयासपछि बल्ल एउटा अद्भूत वस्तु निस्कियो । हीरा समान चहक भएको सुनको नीब जडित त्यो चमत्कारी कलम थियो । त्यस कलमले जे लेख्यो त्यो साकार हुन्थ्यो । पहाड लेखे पहाड खडा हुन्थ्यो, खोला लेखे पानी बग्न थाल्थ्यो । जे को¥यो तत्क्षण तयार हुन्थ्यो । चमत्कारी कलम पाएपछि तिनीहरु हर्षले विभोर भए । तर जब त्यस कलमले लेख्ने बेला आयो तब फेरि विवाद शुरु भयो । कलम कसले समाउने र के लेख्ने ? यसै विषयमा दुबै पक्षको विवाद र दावी शुरु भयो ।
पहिलो पक्ष आफ्नो कारणले मन्थन सफल भएकोले कलमले लेख्न पाउने हकदार आफूहरुलाई ठान्थ्यो भने दोश्रो पक्ष मन्थनको नेतृत्व गरेकाले कलम स्वतः आफूले चलाउन पाउने दावी गर्न थाल्यो । दुवै पक्ष आआफ्नै अडानमा थिए ।
तिनीहरुको द्धन्द्धले गर्दा केही लेख्नै नपाई कलमको नीब भाँच्चियो र चमत्कार गर्नसक्ने मसि त्यतिकै सुक्यो । छिमेकीहरुले तिनीहरुलाई सल्लाह दिए पुनः मन्थनको लागि ।
चमत्कारी कलम कामै नलाग्ने भएपछि छिमेकीहरुको सल्लाहमा तिनीहरु अर्को मन्थनका लागि पुनः तयार भएका छन् ।