मुख्य पृष्ठ » कथा » घर नं. एक र एक एघार

घर नं. एक र एक एघार

bool(false)

यो शहरको प्रसिद्ध `पुस्ता कोलोनी´ को कथा हो । शहरका घरहरू कस्ता नमिल्दा ढंगले बसोबास गर्छन्। शहर घरहरूको जंगल हो । जंगलमा कुनै रूख अग्ला हुन्छन्, कुनै पुड्का, कुनै मोटा र कुनै सुकेनास लागे जस्ता । कतै बनमाराले बाटै छेकेर बस्छन्। कतै चोकमै सिस्नो झैँ उम्रेका हुन्छन् । कुनै रूख बूढो भएर कुप्रो परेर बसेको हुन्छ । कुनै घर माटो र ढुङ्गाले बान्ता ओकल्ने पोजिसनमा बसिरहेका हुन्छन् । फेरि कुनै कुनै त सुकेको हाँगा जस्तै हावाको वेगको ठक्करबाट भाँचिने दिन कुर्दै बसेका हुन्छन् । शहरमा झाङ्गिएको जंगलभन्दा ठ्याक्कै फरक छ, पुस्ता कोलोनी । पुस्ता कोलोनी शहरको कोलाहलमय वातावरणबाट चोखो छ । शहरको धुँवा र धुलो खासै भ्रमणमा आउँदैनन्, यस कोलोनीमा । शहरको दुईतीन माइलमा अवस्थित छ, पुस्ता कोलोनी ।


कोलोनी पनि घरहरूको जंगल नै हो तर कोलिनीका रूखमय घर एकनासका छन् । सिक्का जस्ता बराबर, चुरोटका खिल्ली जस्ता एकै किसिमका, ए-फोर साइजका पेपर जस्ता एकतमासका । ड्रोनको आँखाबाट पुस्ता कोलोनीका घरहरू स्कुलको एसेम्बली एरियामा प्रार्थना गर्न सतर्क पोजिसनमा उभिएका विद्यार्थीको समूह जस्तो देखिन्छ । पुस्ता कोलोनीलाई चारैतिरबाट पर्खालले घेरिएको छ । जसमा मुख्यद्वारबाट मात्र प्रवेश गर्न सकिन्छ । मुख्यद्वारको गेटको माथि ठूला अक्षरमा `पुस्ता कोलोनी´आकर्षण ढंगले लेखिएको छ । पुस्ता कोलोनी लेखेको तलपट्टि सानो इटालिक शैलीमा `यहाँ अटाउँछन् हरेक पुस्ता´ भनेर लेखिएको छ । यसलाई पुस्ता कोलोनीको ट्याग लाइनको रूपमा राखिएको हुनुपर्छ । यसले `यो पारिवारिक कोलोनी हो´ भनेर बुझाउँछ । पुस्ता कोलोनीमा जम्माजम्मी हजारवटा घरहरू छन् । जसको शैली एकै छ । एउटा लाइनमा दशवटा घर छन् । प्रत्येक घर दुई तलाका छन् । एउटा कौसी छ, फूलवाटिका छ । एक लाइनमा दशवट घर त्यसपछि एउटा कलात्मक ढुङ्गाको गलैँचा बिछ्याइएको जस्तो बाटो, अनि फेरि अर्को लाइन सुरु हुन्छ, दशवटा घरको । यसरी यस्तो लाइन सयवटा छ । उस्तै दुरुस्तै शैलीमा । प्रत्येक घरलाई नंवरको नामले न्वारान गरिएको छ , घर नं. १ , २,३ ..... गरेर । जब दशवटा घरको लाइन सकिन्छ, सुरु हुन्छ अर्को लाइन घर नं. ११ , १२, १३ गरेर । यहाँका हजारवटा घरमा कतै तीन पुस्ता , कतै दुई पुस्ता र कतै तीन पुस्ता बसोबास गर्दछन्। यहाँका हजारवटा घरको कथा भन्न उपन्यास नै लेख्नुपर्ने हुन्छ । त्यसैले म कथा भन्न आएकोले आजको कथा दुईवटा घरको मात्र कथा भन्छु । एउटा घर नं. एक को कथा र अर्को ठीक त्यसको सामुन्नेको घर नं. एघारको कथा ।

घर नं. एक जसमा चार जनाको सानो परिवार बस्छन् । परिवारको ज्येष्ठ सदस्य - फत्तबहादुर परियार उमेरले पैसठ्ठी नाघे ।उनका छोरा बुहारी र एकजना नाति बाँकी सदस्य हुन् । फत्तबहादुर विधुर हुन्, दस वर्ष पहिले आफ्नो सहयात्रीलाई गुमाइसके । छोराबुहारी फत्तबहादुरलाई भन्दा उनको नाममा रहेको सम्पत्तिलाई बेस्सरी माया गर्छन् । फत्तबहादुर गुलियोको खानी हुन् । चिनी कारखाना हुन् । महको चाको हुन् । गुलियो भएरै होला उनलाई चिनी रोगले पनि माया गर्छ । चिनी मिसिएको उनको रगत बाक्लिएर विपिले पनि सहयात्रा गर्छ । उनका छोराबुहारी चिनी र प्रेसरले बुवालाई माया गरेर मायावी दुनियाँको संसारबाट अलग्गिने दिन कुरेर बसेका छन्। बुहारी फत्तबहादुरलाई देख्ने बित्तिकै हत्तपत्त मुख बङ्ग्याएर प्यारालाइसिस भएको बिरामीको जस्तो अवतार लिन्छिन् । छोरा बुवाले योग अभ्यास गरेको देख्यो कि, बुढोको आयु बढ्ने चिन्ताले तनावग्रस्त हुन्छन् । नाति आफ्नो हजुरबुबासँग भन्दा ल्यापटपसँग बढी समय व्यतित गर्छन् । तीन पुस्ताको बसोबास रहेको यो पुस्ता कलोनीमा अग्रज पुस्ताको मूल्य शून्य अङ्कको जस्तै छ । जिन्दगीभर ईश्वरलाई वास्ता नगरेका फत्तबहादुर आजको दिनमा हार्मोनियममा भजन गाएर आफ्नो समयलाई भक्तिमार्गमा व्यतित गर्छन् । पत्रपत्रिकामा छोराबुहारीले आफ्नै आमालाई वृद्धाश्रममा पुर्‍याएको समाचार पढेर उनी झस्किन्छन् । आफ्नो श्रीमतीलाई सम्झिन्छन्, आँसुका थोपाले पत्रिकाको पानालाई मुख धोइदिन्छन्।

घर नं. एघारमा बस्छिन्, साठी वर्षिया गोमा अर्याल । उनको छोराबुहारी र नातिनातिना गरेर परिवार सङ्ख्या पाँच छ । उनी पनि परिवारबाट घृणित व्यवहार गरिने पात्र हुन् । उनी विधवा हुन् । एक वर्ष मात्र भयो उनको बाहुनले छोडेर गएको । एक वर्ष पहिला उनका बाहुनले सबै सम्पत्ति आफ्नो छोराको नाममा पास गरेर गए । त्यसपछि गोमा प्रत्येक दिन अपहेलित हुनु परेको छ । छोराबुहारी आमाको उपस्थितिलाई पटक्कै मन पराउँदैनन् । उनी बिहानै सूर्य भन्दा पहिले उदाउँछिन् । एक घन्टा पूजा कोठामा आराधाना र ध्यानमा व्यतित गर्छिन् । भजन गाउँदा उनको स्वरमा तारादेवी आएर बसे जस्तो लाग्छ । उनी छोराबुहारीको खस्याकखुसुक कुराकानीबाट आफूलाई वृद्धाश्रममा पठाइने कुरासँग अवगत छिन् ।

पुस्ता कोलोनीको बार्दलीमा सन्ध्याको मधुरो किरण आएर फुल्छ । गोमाले कातेको कपासको बाती चुडेर दुईटा टुक्रा हुन्छ । उनी मनमनै सोच्छिन्, `जति नै लामो तन्काएर काते पनि बाती आखिर जल्नु न छ तर जल्नु नै परेपछि सही समयमा हो भने कति आनन्द हुन्छ । कपासको बाती जले पनि कति सुन्दर देखिन्छ । प्रकाशको निशब्दतामा कति धेरै गुञ्जन हुन्छ । जल्नु त आखिर दियो जस्तै भएर जल्नु राम्रो । हुन त दियोले आफ्नो वरिपरि उज्यालो छरे पनि आफूमुनि निष्पट अँध्यारो नै हुन्छ ।´ आफ्ना छोराबुहारीलाई सम्झिन्छिन् । अनि एक्लै बरबराउन थाल्छिन्, `मैले र मेरो बाहुनले मिलेर छोरालाई संसारभरिको दियो किनेर उज्यालोको लेप लगाइदियौँ तर आज ऊ उज्यालो छ र म ठ्याक्कै त्यहीँ दियो मुनिको अँध्यारो भएको छु ।´

पुस्ता कोलोनीको ठ्याक्कै त्यस्तै सन्ध्याको घामको मधुरो किरण फत्तबहादुरको झ्यालबाट बिना अनुमति पस्छ, हरेक उज्यालो दिनमा । फत्तबहादुर मधुरो घाम र आफ्नो जीवनलाई तुलना गर्छन् , `घाम मधुरो भएपछि त नाथे मान्छेका दृष्टिले पनि हेप्छ । जुन घामलाई मध्यान्हमा आँखा जुधाउन सकिन्न, त्यहीँ घामसँग आँखा लडाउन तयार हुन्छन् मानिसका आँखा । मधुरो हुँदै गएपछि घामलाई अँध्यारोले पनि हस्तक्षेप गर्न थाल्छ । दिउँसभरि लुकेर बसेको चन्द्रमा पनि मधुरो घामलाई जितेरै प्रकट हुन्छ । घाम मधुरो भएपछि न हो विलीन हुँदै जाने क्षितिजको रेखामुनिबाट । घाम मधुरो भएपछि घरमा परिवारको उदय हुँदै जान्छ तर मेरो जीवनमा न घाम उदाउँदा छोराबुहारी उदाउँछन् न त घाम अस्ताउँदा नाति उदाउँछ । हरेकको जीवनमा दुईवटा घाम हुने रहेछ ! एउटा घाम जो आकाशमा फुल्छ अर्को घरमा तर मेरो घरको घामको फ्युज उडिसकेको छ । मलाई किन लाग्छ कि घाम डुब्नु भनेको अँध्यारो हुनु होइन बरु सीतारालाई स्वागत गर्नु हो । जूनको किरण पिउनु हो । थकानले गलेका ब्याट्री जस्तै देहलाई रिचार्ज गर्नु हो । निराशा उम्रेका मस्तिष्कलाई सपनाको जुनकीरी बाल्नु हो । मलाई मधुरो घामले दिएको यो जीवनपाठ , मैले अनुसरण गर्नै पर्छ ।´


साउने सोमबारको बिहानी छ । फत्तबहादुरका छोराबुहारी बोलबम यात्रामा छन् । नाति, बाउआमा नभएकोले प्राय घर आउँदैन । साथीको घरतिरै बस्छ । फत्तबहादुरले कौसीमा हार्मोनियम लिएर बजाउँदै भजन गाउन थाल्छ, `कति सुहायो, कति सुहायो, पार्वतीलाई शिवजी कति सुहायो ।

यो भजन गोमाको कानमा गएर ठोकिन्छ । गोमाको परिवार पनि घरमा छैनन् । एक महिने विदेश भ्रमणमा छन् । एक्ली गोमाले फत्तबदादुरको भजन खुब चाख दिएर सुन्छिन् । मनमनै फत्तबदादुरको भजनसँगै गुनगुनाउँछिन् । फत्तबहादुरको भजनले उनलाई चुम्बकले झैँ तान्छ । अचानक गोमाको मनमनैको भजन ठूलो स्वरमा गुञ्जिन्छ, `कति सुहायो, कति सुहायो, पार्वतीलाई शिवजी कति सुहायो ।´

सुरिलो अवाज श्रवण भएपछि फत्तबहादुर घर नं. १ बाट घर नं. ११ को कौसीतिर नजर फाल्छन्। गोमाको भजनको सुर समात्न औँलालाई आदेश दिन्छन्। यसरी उनीहरूको एक्लोपनलाई मेटाउन सत्संगको माहोल सिर्जना हुन्छ । यो क्रम एक घण्टासम्म चलिरहन्छ । एक घण्टाको भजन दोहोरीले उनीहरूमा खुसीको हिमपात गराउँछ ।

गोमा आफ्नो कोठामा प्रवेश गर्छिन् । आज उनको मन आनन्दित छ । फूलको मालाभित्र भित्ताको सोफामा आँखा उघारेर उनको श्रीमान एउटै भावमा मुस्कुराइरहेको दृश्य हेर्छिन् । उनी सोच्छिन्, `पक्कै पनि उहाँ मेरो खुसी देखेर मुस्कुराउनु भएको हुनुपर्छ ।´ गोमा बाहिर बगैँचामा गएर फूललाई पानी पिलाउँछिन् । आज बगैँचामा फुलेका फूलमा बेग्लै सुगन्धको परागपान गर्छिन् । फूलको रसपान गर्न आएका भवरालाई हेरेर उनी मख्ख पर्छिन् । अरू दिन भएको भए उनले फूलको चास्नीमा डुबेका भवरालाई धपाउने गर्थिन्। आज उनलाई धपाउन मन लागेन । आज उनले फूल र भमरामा राधाकृष्ण देखिन्। फत्तबहादुरको हार्मिनियमको नाद उनको कानमा मात्र होइन मनमै गुञ्जियो । `यो खुसी, यो उमंग, यो तरंग अचानक कहाँबाट आयो ? फत्तबहादुर जो मेरो छिमेकी हो । आजसम्म उसमा मैले त्यो प्रेमिल भाव देखिनँ । उसको बारेमा जानकारी पनि थिएन । म लज्जावती झार झैँ लजाएर मुर्झाउनुमा फत्तबहादुरको अमूर्त स्पर्श छ ।´ मनमनै आफैसँग गफ लगाइन्।

घर नं. ११ मा फत्तबहादुर स्नानगृहमा छन्। आज उनलाई रुझाइरहेको पानीले अर्कै काउकुती लगाउँदै छ। यति मीठो काउकुती उनले आफ्नो श्रीमतीसँगको पहिलो चोटिको स्पर्शमा अनुभव गरेका थिए । उनले साबुनको गाँजलाई आफ्नो शरीरको उनानब्बे प्रतिशत भागमा लगाए । उनी कल्पिन थाले , `यो साबुनको गाँजले मेरो जीवनका दुःखका मैलोलाई सफाचट गर्दै छ। म दुःखको फोहोरबाट निक्लिएर स्वप्निल स्वर्गीय आनन्दबस्तीमा पुग्दै छु । यो कस्तो चमत्कारी साबुन, यो साबुन गोमा हुन् ।´

आज मङ्गलवारको बिहानी । फत्तबहादुर हिजो जस्तै कौसीमा बसेर हार्मिनियमको कान निमोठ्दै छ्न् । घर नं. एघारको कौसीमा गोमा अघि नै आँखा ओछ्याएर बसेकी छिन् । फत्तबहादुरले सुर लगाउँदै ,अहँ अहँ गर्छन् । हार्मोनियमको सुरमा फत्तको अवाज गुञ्जिन्छ, `राधे राधे ........... ।´ उताबाट गोमाले युगल भजनमा साथ दिन्छिन् , `कृष्ण कृष्ण ....... । ´

यो क्रम निरन्तर करिब एक घण्टासम्म चल्छ । एकघण्टामा गोमा राधा बन्छिन् , फत्तबहादुर कृष्ण । प्रेमको रंगले निश्चित उमेरको भित्तामा मात्र रंग पोत्दैन । प्रेमको रंगको बुरुस गोमा र फत्तबहादुरको मनमुटुमा पनि गएर पोतिन्छ । गोमाको चाउरी परेको गालामा प्रेमको लाली चढ्छ । फत्तबहादुरको जीर्ण परेको शरीरमा प्रेमले मृग बनाउँछ ।

मध्याह्नको समय छ । गोमा घर नं. एघारबाट घर नं. एकमा नजरको पुल बनाएर फत्तको मनको बार्दलीमा पुग्छिन् । पार्कतर्फ जाने सांकेतिक चिठ्ठी प्रेषित गर्छिन् । फत्तबहादुर तुरुन्तै इसारा पत्रको जवाफ फर्काउँछन्, जुङ्गा मुसार्दै, हुन्छ भन्ने भावमा ।

गोमा र फत्तबहादुर पुस्ता कोलोनीको पार्कमा भेट्छन् । पार्कमा रङ्गीबिरङ्गी फूल छन्। युनिक वनस्पति छन्। मझौला पीपलको चौतारी छ र त्यो चौतारीको हाँगा पोखरीको पानीमा छाया बनेर पौडिरहेको छ । चौतारीको डिलमा दुबैजना एकर्कालाई बस्न आग्रह गर्छन् । दुबैजनाको बैठक सुरु हुन्छ ।

गोमा - `कति शीतल यो पीपल बोटको छहारी ।´

फत्तबहादुर - `सन्तानले पनि शीतल छहारी दिने भए कस्तो मीठो हुन्थ्यो है ।´

गोमाले , भिज्न लागेको आँखालाई पुछ्दै - `छहारी बन्ने जिम्मा त अभिभावकको मात्र रहेछ । सन्तानले त छहारी हुँदासम्म शीतल ताप्छन् । जुन दिन छहारीको पात सुक्न थाल्छ, त्यस दिनदेखि बोटै काट्ने योजना बनाउँछन् ।´

फत्तबहादुर - `गोमा हेर्नोस् न यो पोखरीका माछाहरू कति आनन्दित छन्, पोखरीमा । जुन दिन पोखरीबाट पानी विलय हुन्छ, त्यो दिन माछाको जीवन नष्ट हुन्छ । हामीहरूको जिन्दगी पनि यो पानीको पोखरी जस्तै हो । जहिलेसम्म हाम्रो जीवनमा पानी छ, तबसम्म हामी सुरक्षित छौँ । हाम्रो जिन्दगीबाट पानी सुकाइँदै छ । हामी यो पानी सुक्नुपूर्व पोखरीबाट नदीको बाटो लाग्नु पर्छ । नदीलाई सुकाउन जो कसैको हिम्मत हुन्न । हामी एक अर्काको छहारी बन्न पर्छ ।´

गोमा आशाको दीपक बोले झैँ मुहार बताउँछिन् , ` बगैँचामा फुलेका फूल फुल्छन् अनि झर्छन् । फूल झरेपछि त्यसका बीज माटोमै मिल्छन्। त्यहीँ माटोमा अंकुरित हुन्छ नयाँ फूल । फत्त !हजुरको हृदयको माटोमा म अंकुरण हुन चाहन्छु । यो पाकेर झर्न लागेको फूलका बीजलाई हजुरको बगैँचामा अटाइदिनुहोस्।´

फत्तबहादुर - `म सानो जातको मान्छे । तपाईं ब्राह्मणी मसँग फुल्न सक्नुहुन्छ ?´

गोमा - `मेरा आफ्ना जातका छोराबुहारीले त मलाई संरक्षण दिएनन् । मानिसको जात मानवता, करुणा र प्रेमको आधारमा मापन हुनपर्छ फत्तजी । मेरो लागि यो समय हजुरको ममतामयी प्रेम भन्दा अर्को कुनै ठूलो जात छैन । जातलाई यसका आधारमा नाप्ने हो भने हजुरभन्दा ठूलो जात अर्को कोही छैन । ´

दुबैजना यसरी गफिएछन्, घाम डुब्न लागेको पत्तै भएन । पश्चिमतर्फ नवदुलहीको टीका झैँ आकाशको निधारमा झुण्डिएको छ, सिम्रिक घाम । फत्तबहादुरलाई त्यो घाम टिपेर गोमाको खाली निधारमा लगाइदिन मन लाग्छ।

निकै अनुशासित भएर उभिएका पुस्ता कलोनीलाई एक -एक नजरपान गर्छन् दुबैले ।

गोमा - `यो पुस्ता कोलिनीका घर कति सुन्दर छन्, है ! कुनै परेड खेल्न उभिएका सिपाहीको झुण्ड जस्तै तर बाहिरबाट जति सुन्दर छ, पुस्ता कोलोनी,भित्रबाटै त्यति नै कुरूप छ । नाम चाहिँ पुस्ता कोलोनी रे तर कहाँ अटाउन सकेका छन् र हामी जस्ता पुराना पुस्ता ?´

फत्तबहादुर - ` बरु शहरका झोपडबस्ती सुन्दर छन्, गोमा !जहाँ घर सानो होला, फोहोर होला तर मन कति ठूलो र सफा छ । सबै पुस्ता कति मायाले बस्छन् । यो ठूलो शहरमा ठूलो कोलोनीमा, ठूलाठूला मान्छे बस्छन् तर यी ठूला छवि भएका मानिसको मन कति सानो है !´

सन्ध्या आरतीको समय भयो भनेर एकर्कालाई फेरि भेटौँला हात हल्लाउँदै घर नं. एक र एघारतर्फ मोडिन्छन् उनीहरूका पाइताला ।

एक वर्षपछि

गोमा र फत्तबहादुर हिमालको काखमा नदीको किनारमा अवस्थित एउटा आलयमा छन् । उनीहरूसँगै अरु थुप्रै वृद्धावस्थाका मान्छे पनि छन् । सबै जना खुसी देखिन्छन् कोही समूह बनाएर चुट्किला सुनाउँदै बेस्सरी हाँस्दै छन् । कोही फूटबल खेल्दै छन् । कोही कुर्सीमा बसेर दृश्य पिउँदै छन् ।

एक वर्षपहिले

पार्कबाट फर्किएर घर पुग्पछि गोमाको मनमा कुरा खेल्न थाल्यो , `जुन घरमा उनको उपस्थितिलाई मनपराइन्न । त्यो घरमा बस्नुको के अर्थ ? यो घरमा म बसेँ भने एकदिन मलाई वृद्धाश्रम पुर्‍याउने पक्का छ ।´उनको दिवंगत बाहुनको तस्वीर अगाडि उभिएर उनले भनिन् , ` हजुरले अन्तिम श्वास लिनुअगाडि मलाई खुसी भएर बाँच्न कसम खुवाउनु भएको थियो । त्यहीँ कसमको लाज राख्न गइरहेकी छु । ´म अब खुसी भएर बाँकी जीवन हजुरको नाममा समर्पण गर्न चाहन्छु ।´

उता घर नं. एकमा फत्तबहादुरको मनमा पनि हलचल चलिरह्यो। उनले गोमालाई फोन गरे, ` गोमा हामी अब यस्तो ठाउँमा जानुपर्छ । त्यहाँ गएर एउटा वृद्धाश्रम खोल्नु पर्छ । हामी जस्तै सन्तानबाट अपहेलित आमाबुवालाई जम्मा गरेर राख्नुपर्छ । अब हामी हाम्रो मात्र होइन हामीजस्तै धेरैको खुसी बन्न सक्नुपर्छ । पैसाको चिन्ता नगर्नू। मेरो नाममा अथाह सम्पत्ति छ । त्यो सम्पत्तिको एक टुक्रा पनि म छोराबुहारीलाई दिन्नँ । सबै सम्पत्ति बेँचेर हामीले आश्रममा लगानी गर्नुपर्छ । एउटा सुनौलो संसारको निर्माण गर्न हामी भागेर कतै टाढा जानुपर्छ ।´

गोमाले खुसी हुँदै भनिन्- `हुन्छ´


यसरी गोमा र फत्तबहादुर भागेर हिमालको काखमा आएर `एक र एक एघार´ नामक वृद्धाश्रम खोले । आजभोलि उनीहरू सन्तानको मायाबाट वञ्चित आमाबुवालाई खोजेर आश्रममा ल्याउँछन् । उनीहरूको स्याहारसुसार गर्छन् । खुसीको ताल्चा लागेका ओठलाई प्रेमको चाबीले खोलेर मुस्कुराउन सिकाउँछन् । 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस