मलाई प्रेम मन पर्छ । ऊ घन्टा–घन्टामा प्रेम गर्छु भनिरहन्छ । सात हप्ता भो भेटेको । आफूले जानेको अङ्ग्रेजी भाषा सकियो । अब शिल्पालाई नसुनाई विकल्प छैन । हुन त राम्रो कुरा धेरैलाई सुनाउन हुँदैन भन्थे हाम्रो गाउँघरतिर..., आ होस् । शिल्पा एउटीलाई सुनाउँदैमा के नै हुन्छ र ! ऊ त मालिक्नीकी छोरी कम र साथी बढ्ता छे मेरा लागि ।
ऊ पनि मेरो भलो चाहन्छे । उसैले गर्दा त छुटेको पढाइले निरन्तरता पाइरहेको छ । मालिक–मालिक्नी त कम्ती छुच्चा छन् र ? ‘अर्काकोमा काम गर्नेले पढेर के लछारपाटो लगाउने हो ?’ भनेर गाली गर्छन् खालि । अचेल त झन् मोबाइलकै कारण गाली खाइरहन्छु । मलाई मात्रै कहाँ हो र, काम गर्नेलाई टाउकोमा टेकाई भनेर शिल्पालाई पनि गाली गर्छन् । शिल्पालाई आइफोन किनिदिएपछि उसले चलाइरहेको नोकियाको पुरानो मोबाइल मलाई दिएका हुन् । त्यसपछि नै त मैले फेसबुक चलाउन थालेकी हुँ । मेरो फेसबुक अकाउन्ट त शिल्पाले पहिले नै बनाइदिएकी थिई । दुई–तीन सय जना साथी भइसके फेसबुकमा । अब त म अनलाइनमा ऊबाहेक अरुसँग गफै गर्दिनँ । एकदमै बेर्फुसदी छु । हतारहतार काम सक्छु र मोबाइल समात्छु ऊसँग गफ गर्न । ऊ अर्थात् ड्यानियल बुरेल । स्वीडेनको मान्छे ।
ड्यानियल : तिमी मेरो मुटुको उज्यालो हौ । सधैं मुटुभित्र चम्किरहन्छौ । क्रिसमस उपहार पठाउन चाहन्छु तिम्रो नाम–ठेगाना देऊ ।
पार्वती : म तिम्रो माया चाहन्छु ।
ड्यानियल : मलाई थाहा छ केटीहरु सम्बन्धको सुरूमै उपहार लिन मन पराउँदैनन् । अर्को कुरा आधुनिक केटीहरु आपैmँमा सक्षम हुन्छन् अरुको आश गर्दैनन् । तिमी मलाई खुसी देख्न चाहँदैनौ ? होइन त ?
पार्वती : होइन होइन । पछि पठाइदिन्छु ।
ड्यानियल : खुसी छु तिमी पनि मेरो बाटो हिँडेकामा । म कसम खाएर भन्छु ह‘नि, जब तिम्लाई मेरो आवश्यकता पर्छ म तिमीसँगै हुनेछु ।
पार्वती : धन्यवाद !
ड्यानियल : अचानक कोही मान्छे तिम्रो जीवनमा आयो भनेर कारण नसोध, किन ? तिमी आँखा बन्द गरेर बस । तिम्रासामु आपैmँ उपस्थित हुनेछ, सत्य के हो । हामी धेरै माइल टाढा छौं । यद्यपि तिमी मेरो मुटुको आवाज सुन्न सक्छौ । ध्यान दिएर सुन त ? मेरो मुटुले भन्दै छ तिम्लाई— सत्य, केवल सत्य प्रेम गर्छु ।
पार्वती : म पनि ।
धेरै कुरा भन्न मन भएर पनि सक्दिनँ । मेरो अङ्ग्रेजी लेखाइ कमजोर छ । धन्न म अङ्ग्रेजी बुझ्नलाई त राम्रैसँग बुझ्छु । मनको कुरा व्यक्त गर्न नपाउँदा कम्ती त सकस नहुँदो र‘छ । उर्लंदो नदीलाई बाँध लगाएर छेके जस्तो ।
ड्यानियल : तिमी मेरी सपनाकी राजकुमारी ...।
पार्वती : धन्यवाद !
ड्यानियल : ह‘नि ! आज राति तिमी मेरो पाखुरालाई सिरानी बनाएर निदाएकी थियौ । तिमी असाध्यै सुन्दर, उत्तिकै प्यारी देखिएकी थियौ । तिम्लाई म कहिले पनि छोड्न सक्दिनँ । तिमी मेरो चम्किलो तारा हौ । तिमी त मेरो जिन्दगीको नक्सा नाप्ने पहिलो आइमाई हौ । मलाई थाहा छ तिमी पनि मलाई कहिले पनि धोका दिनेछैनौ । तिमी मेरो खुसी हौ ।
पार्वती : सायद !
ड्यानियल : तिम्लाई थाहा छ ? हाम्रो सम्बन्ध मुटु–मुटुले पत्ता लगाएको हो । यो कुरा हाम्रो भेटपछि प्रमाणित हुन्छ । हामी जब भेटिन्छौं एकआपसका लागि पग्लछौँ । हाम्रा आत्मा र शरीर एक हुन्छन् । हाम्रो धैर्य टुट्नेछ त्यो बेला । तिमी सधैंका लागि मेरी हुनेछौ । तिमी सधैंका लागि मेरो हो । हाम्रो प्रेम संसारको उत्कृष्ट प्रेमको एक अंश हो प्रिय ! तिम्लाई थाहा छ तिमी को हौ ? तिमी तिम्रो प्रेमीको सुरूवात र अन्त हौ प्रिय !
साँच्चै, आँखा चिम्म गरेर उसलाई सम्झन थाले भने ऊ मसँगै भइदिन्छ । म ऊसँगै हुन्छु । उसको हात समातेर इङ्ग्ल्यान्डका सहर घुम्दै । हामी मीठा–मीठा गफमा हराउँछौं । म आफ्नो देशका कुरा सुनाउन आतुर हुन्छु । ऊ आफ्नो देशका कुरा एकएक गर्दै सुनाइरहेको हुन्छ । उसको सङ्गतले नेपाली बोल्न बिर्सिसकेँ । म पनि ऊ जस्तै पर्फेक्ट अङ्ग्रेजी बोल्न थाल्छु । उसले पनि सिकेकै अङ्ग्रेजी हो क्यारे । कति धेरै माया गर्छ ऊ मलाई, म त त्यो भन्न र देखाउन पनि त सक्दिनँ । अर्काको घरमा काम गर्ने केटीले भोलि त्यत्रो सुखभोग गर्न पाउली भनेर कस्ले सोचेको छ र ! यो सबै भगवान्कै अपरम्पार लीला हो भन्ने ठान्छु म ।
ड्यानियल : ह‘नि ! तिम्रो नेटवर्क असाध्यै नराम्रो छ ।
हो त, गएगुज्रेकै छ हाम्रो नेटवर्क सर्भिस । कहिले नेटवर्क बिजी भन्छ, कहिले इरर कनेक्सन भन्छ, कहिले टेम्पुररी नेटवर्क प्रोब्लम, कहिले लिङ्क नट अभाइलेबल । मेरो मेसेज त गएकै रहेनछ ।
पार्वती : हो, यस्तै छ यहाँँको नेटवर्क सर्भिस । अझ यो साँझको बेलामा त चल्दै चल्दैन ।
ड्यानियल : एउटा मात्रै हो ? अरु छैन ? म तिम्रो अर्को नेटवर्क किन्नेबारे सोच्दै थिएँ ।
मलाई पनि यो थोत्रो मोबाइल दिक्क लागिसकेको छ ।
म त मज्जाले कुरा गर्न पनि पाउँदिनँ । उसले एक पेज जति मेसेज लेख्दा म एक लाइन लेख्छु । त्यो पनि बल्लतल्ल डिस्नेरी हेरीहेरी, कहिले शिल्पालाई सोधी–सोधी । त्यही पनि छिटो–छिटो सेन्ट नै हुँदैन । नेटवर्क, थोत्रो मोबाइल र मेरो सरकारी पढाइ उस्तै–उस्तै...।
पार्वती : अरु थुप्रै छन् । सबै यस्तै हुन् । छाड्देऊ यो नेटवर्कको कुरा, तिमी के गर्दै छौ ?
ड्यानियल : ह‘नि ! कहाँ गयौ ? कुरा गर न मसँग । तिम्लाई थाहा छ प्रिय ? जब तिम्रो याद आउँछ मलाई अन्त कहीँ टाढा जानु नै पर्दैन । म आफ्नो मुटुभित्र हेर्छु । त्यहाँँ म तिम्लाई भेट्छु । कस्तो अचम्म छ दुई मुटुको मिलन, होइन त प्रिय !
पार्वती : निश्चय नै ।
भाँडा माझ्नै बाँकी छ । किचनमै उभिएर ऊसँग च्याट गरिरहेकी छु । आन्टीले (मालिक्नीलाई आन्टी भन्छु म) देखिन् भने मार्छिन् । अचेल त मलाई गाली गर्दा पनि नरमाइलो लाग्दैन । पहिले जस्तो रूँदिनँ पनि । काम गर्न पनि अल्छी लाग्दैन । प्रेमले माल्छेलाई स्फूर्ति दिँदो रहेछ । प्रेमले सबै कुरालाई सुन्दर देखाउँदो रहेछ ।
पार्वती : अब म सुत्छु । यहाँँ रातको ११ बजिसक्यो । आफ्नो ख्याल गर । फेरि भेटौंला ।
ड्यानियल : प्रेमलाई बगैंचा जस्तै स्याहार गर्छन् मान्छेहरु । स्याहार धेरै भयो भने पनि र स्याहार कम भयो भने पनि बिरूवा मर्न सक्छ, तर माया ? माया नै हो, यो रहन्छ र युगयुगान्तरसम्म बाँचिरहन्छ । शुभरात्रि मेरी प्रिय !
हाम्रो सम्बन्ध यो घरमा र मेरा साथी सबैलाई थाहा भैसक्यो । भन्थ्यो, उसले मेरो फोटोे ल्यापटप स्क्रिनमा राखेको छ रे ! मैले पनि मेरो मोबाइल वालमा उसको फोटोे राखेकी छु । अस्ति आन्टीले ‘यसको अनुहार हेर्दा लाग्छ, यो स्वीडेनको महाखलनायक हो’ भन्दा त म रून मात्रै सकिनँ । ‘मम्मीले राम्रोसँग आँखा देख्नुहुन्न क्या हो, त्यति राम्रो हिरो जस्तो मान्छेलाई खलनायक रे ।’ यसो भनेर शिल्पाले मेरो आँसु रोकिदिएकी थिई । मेरा साथीहरु भन्दैछन्, ‘तिमी त अन्तर्राष्ट्रिय हुने भयौ क्यारे, हामी घरेलु कामदारसँग त के भेटघाट होला र अब ?’ म मख्ख त छु नै । भेटघाट त भैहाल्ला नि यहाँँ आउँदा ।
बिहान उठ्दा उसको अफलाइन मेसेज नपढी दिन सुरू हुँदैन मेरो । उसले कसम पनि त खाएको छ नि, मेरा लागि सधैं अफलाइन मेसेज छोड्नेछु भनेर । मलाई कुनै शङ्का लाग्दैन । म सम्पूर्णरुपमा निश्चिन्त छु उसको प्रेममा । ऊ सधैं म निदाउनु अघि फोन गर्छ । म त ‘हेलो’ भन्दा अरु केही बोल्नै पनि सक्दिनँ । प्रेम आखिर अनुभूति रहेछ । शरीर अनुभूतिको दास ।
‘हेलो ह‘नि ! तिम्रो कुराले म धेरै खुसी भएँ । तिमी मेरो बच्चा हौ । सधैं मेरो बच्चा नै रहनेछौ । तिम्लाई म जीवन छउन्जेल प्रेम गर्नेछु । तिमी त मेरी परी हौ, जसलाई प्रभुले मेरै निम्ति स्वर्गबाटै पठाइदिएका हुन् । मेरो एक्लो र नीरस जिन्दगीमा प्रत्येक पल हाँसो ल्याउने तिमी मेरी परी हौ, मात्र परी ।’
मलाई यस्तै समर्पित माया मन पर्छ । मलाई पनि लाग्दै छ, भगवान्ले नै मेरा लागि फेसबुकमार्फत ऊसँग भेट गराइदिएका हुन् । यस्ता प्रेमिल कुरा सुनेर कहिले पनि अघाउँदिनँ म । मलाई यस्तै कुरा सुन्न मन पर्छ । म असाध्यै खुसी छु । संसारका कमै मान्छेले भोग्न पाउने यो उत्कृष्ट खुसीको पल म भोगिरहेकी छु ।
अहो ! गाउँमा जाँदा मेरा बाउ कति खुसी होलान् आफ्नो विदेशी ज्वाइँलाई देखेर । अझ आमा हुन्थिन् भने बाउभन्दा दोब्बर खुसी हुन्थिन् । आमा त बितेको पनि नौ वर्ष भइसक्यो । बैनी जन्मँदा आङ खसेर ...। हाम्रो पहाडतिर यस्तै हो सहरमा भइदिएको भए आमा मर्ने थिइनन् ।
बैनीहरुलाई म अनेक–अनेक खाने कुरा र लुगा लगिदिनेछु । तिनीहरु खुब रमाउनेछन् । अचेल त हाम्रो घरै अगाडि गाडी चल्ने बाटो पनि बनेको छ । दिनको एक पटक गाडी चल्छ । एक पाइलो हिँड्दैनन् कोही । सबैलाई त्यही गाडीमा चढ्नुपर्छ । त्यो कोचाकोच, त्यसमाथि फोहोरी आइमाई र केटाकेटी मात्रै बेसी चढ्छन् । त्यस्तोमा उसलाई कसरी लग्नु ? हुँदैन । हामी आफ्नै कारमा जान्छौं । म पनि ऊ आएपछि ऊसँग कार चलाउन सिक्छु । अनि त उसलाई आपैmँ घुमाइदिनेछु पूरा नेपाल । ऊ छक्क पर्छ होला हाम्रो देशको सुन्दरता देखेर । मैले त नेपालमै बस्नुपर्छ भनेको, ऊ हुँदैन भन्छ । तीन–चार महिना बसेर मलाई लिएर फर्कन्छु रे ! हामी यहाँँ बसुन्जेलका लागि, उताबाट यता आउँदा बस्नका लागि सायद अपार्टमेन्ट किन्नुपर्छ । म स्वीडेन जाने बेला शिल्पालाई सपिङ गराइदिन्छु । मालिक–मालिक्नीलाई पनि खाना खान बोलाउनुपर्छ हाम्रो अपार्टमेन्टमा ।
‘तेरो राजकुमार सेतो घोडा लिएर तेरो अगाडि उपस्थित हुने कहिले हो पारु ?’
शिल्पा जिस्काउछे मलाई । २१ डिसेम्बरको रात डरले म शिल्पाको कोठामा आएर सुतेकी छु । पृथ्वी ध्वस्त नै होला भनेर पत्याएकी त छैन मैले, कताकता मनभित्र डर लागेर...।
‘साँच्चिकै पृथ्वीमा ज्वालामुखी गयो भने त तिमरुको भेट पनि नहुने भो च्व...च्व बिचराहरु ।’
‘केही पनि हुँदैन भन्या ।’ दबेको आवाजमा बोलँे ।
आफ्नो पहिलो र भर्खर–भर्खरको प्रेम सम्झेर झन्नै नरोएकी ।
धन्न प्रभु ! डिसेम्बर २१, २२ र २३ सकियो । केही भएन । कम्ती आतङ्कित बनाएन यी तीन दिनमा प्रलय हुने भन्ने हल्लाले । प्रेममा परेपछि मान्छेलाई आफ्नो ज्यानको बेसी नै माया लाग्दो रहेछ ।
शिल्पाले नै सिकाइदिएको क्रिसमस–शुभकामना मेसेज गरेकी छु । रिप्लाइ आएको छैन । दुई दिन भैसक्यो, कुनै खबर छैन ।
म त भुङ्ग्रोको माछा भएकी छु । उसले भनेको थियो । उसका सबै आफन्त तीन वर्षअघि कार दुर्घटनामा मरे । उफ् ! उड्न मिल्ने भए पनि...। अन्तिम पटक भेट हुँदा भनेको थियो– एसिया आउँदै छु । ऊ कति खुसी थियो !
दुई दिनपछि उसलाई अनलाइनमा भेट्दा, रोकिएको सास चलेभैmँ भएको थियो मेरो ।
पार्वती : म बोल्दिनँ । मलाई एक दिन पनि नछोड्ने कसम खाएका थियौ होइन ?
ड्यानियल : म दुःखी छु प्रिय !
पार्वती : किन ?
ड्यानियल : म आज मलेसिया आइपुगेको छु । एसिया आइपुग्नेबित्तिकै तिम्रै घरको ढोकामा आइपुगेको जस्तो लाग्दै थियो...।
पार्वती : मलाई पनि अब त तिमी यही नेपालभित्रै छौ जस्तो लागि रा’छ ।
ड्यानियल : प्लेनबाट ओर्लेपछि जब बस्ने होटल जाँदै थिएँ ट्याक्सीमा लुटिएँ ह‘नि म ।
पार्वती : हे भगवान् ! असाध्यै नराम्रो भएछ ।
ड्यानियल : मसँग भएको पैसा, एटीएम जे जति भएको सबै लगे । अहिले मसँग खानेकुरा किन्ने पैसा पनि छैन ह‘नि । असाध्यै भोकाएको छु ।
उसको कुराले मेरो आँखा कुन बेला रसाइसकेछ । आँसुको ढिक्का मोबाइलमा खस्दा झन् भक्कानिएर रून मन लाग्यो ।
पार्वती : म कति अभागिनी हुलाँ, तिम्लाई त्यत्रो दुःख पर्दा पनि केही गर्न सक्दिनँ । तिमी टाढा छौ ।
ड्यानियल : तिमी चाहन्छौ भने मलाई सहयोग गर्न सक्छौ ह‘नि ! यो संसारमा मेरो अरु कोही पनि छैन ।
पार्वती : यहाँँदेखि त्यहाँँ म तिम्लाई कसरी सहयोग गर्न सक्छु त ?
ड्यानियल : पैसा पठाइदेऊ । म एक हप्तामा फिर्ता गर्छु ।
बिचरा ऊ । बिचरा म । असाध्यै ननिको लाग्यो आफ्नो धरातल सम्झेर । मलाई असाध्यै पीडा भयो ऊ भोकै भएको सम्झेर ।
पार्वती : कति ?
ड्यानियल : तिमी जति सक्छौ ।
पार्वती : तिम्लाई थाहा त छ है नेपाली रुपैयाँको रेट ? असाध्यै सस्तो छ । म तिम्लाई जम्मा एक सय डलर मात्र पठाउन सकूलाँ । पैसा पठाउने ठेगाना देऊ ।
उसले दिएको नाम र नम्बर कागतमा उतारेँ ।
पार्वती : पैसा पठाइसकेपछि मेसेज गर्छु । चिन्ता नगर । भगवान्माथि भरोसा राख ।
ड्यानियल : धन्यवाद प्रिय !
दिउँसोको २ बज्दै छ । घरमा म एक्लै छु । सबै जना अफिस जान्छन् । सबै झ्याल–ढोका लगाएर म आन्टीको अफिस हिँडेँ । प्रेमले मान्छेलाई साहसी बनाउँदो रहेछ ।
‘बाउ सिकिस्त बिरामी छन् ।’ भनेर आन्टीसँग पैसा माग्नेछु ।
मैले तीन महिनादेखि काम गरेको पैसा लिएकी छैन । पहिले पहिले बाउ आपैmँ काठमाडौं आउँथे मैले काम गरेको पैसा लिन । अचेल म आपैmँ पठाइदिन्छु । बाउले बैंकमा खाता खोलेका छन् । कमसेकम बैनीहरु त अरुको घर काम गर्न जानुपरेको छैन । आफ्नै घरको भात खाएर स्कुल जान्छन् उनीहरु । म पनि भाग्यमानी नै छु, मेरो स्कुलको पढाइ खर्च कटाउँदैनन् । पूरापर तलब दिन्छन् । पाँच वर्ष भैसक्यो म यो घरमा बसेको पनि । आउँदा ११ वर्षकी थिएँ ।
जिन्दगीमा पहिलो पटक झुट बोलेँ मैले । प्रेमले मान्छेलाई झुटो पनि बनाउँदो रहेछ । झुट बोलेर आफ्नो पैसा मागेँ । आन्टीले बढी कुरा केही पनि सोधिनन् । बरू, बाउलाई साह्रै भएको भए काठमाडौं नै बोला भनिन् । म हतारहतार दरबारमार्गको वेस्टर्न युनियन मनि ट्र«ान्सफरको अफिस गएँ । पैसा लिने र पैसा पठाउनेहरुको निकै भिड रहेछ । ड्यानियलले दिएको नाम–नम्बर लेखेको कागज भिकेँ । लौ ! पैसा रिसिभ गर्ने ठेगाना त मलेसियाको हुनुपर्ने । लन्डनको पो ठेगाना छ, सार्दा कस्तो ध्यान नदिएकी ! ऊ त आफू मलेसियामा पो लुटिएँ भन्थ्यो । उफ् !
पाठकवृन्द ! त्यसपछि के–के भयो, थाहा छैन । होस खुल्दा म हस्पिटलको साइक्याटिक वार्डमा थिएँ । उफ् !