मुख्य पृष्ठ » कथा » होस्टेलकी दिदी

होस्टेलकी दिदी

अंशुमाली
नाम : अंशुमाली
  अंशुमालीका रचनाहरू

कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथु्रक्क भिझेर  लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मुनिबाट ऊ देख्छे टाढाबाट कोही मान्छे अजङ्गको घोडामा उतिर दौडदै आउछ । कालो घोडामा कालो लुगा लगाएको भिमकाय मान्छे । अहो कस्तो भयङ्कर उसको मुटु जोडले धड्कन्छ । त्यो मान्छे त हेर्दाहेर्दै ऊ नेरै आयो । लौ उसले त उसको पाखुरामा च्याप्प समात्यो दुख्नेगरी र हुइँकायो आफुसँगै ।
‘कहाँ लग्यो होला त्यो मान्छेले मलाई ?’ उसले डराई डराई सोची । ‘कस्तो तर्साउने सपना’ शिरसम्म सिरक तानी अनि गुट्मुटिएर सुती ।

    ऊ होस्टेलमा आएको हप्तादिन भएको छ । ‘काठमाण्डौ’ उसले मनमनै सोची ‘यस्तो पो रैछ ।’ उसलाई काठमाडौं देखेर खास अचम्म लागेन । जस्तो सोचकी थिई लगभग उस्तै । ठूलाठूला घर, धुलाम्मे बाटो, गाडीको आवाज अनि सिमीको झाङमा लाग्ने लाई किरा जस्ता बग्रेल्ती मान्छे । बरु बानेश्वर चोकमा एकहुल मान्छेसँगै मिसिएर ठेलमठेल गर्दै बाटो काट्दा भने उसलाई रमाइलो लाग्यो ।

    बडेमानको डेक्चीमा चियाको लागि पानी बसाल्दै गर्दा उसले दिदीसँग भनी “मलाई त केई अनौठो लान काठमान्डू ।”
“तैले ठूला–ठूला बिल्डिङ्ग महल त देखेकै छैनस् ।” ग्याँसको लाइटर खाज्दै गरेकी दिदीले ऊ तिर पिठ्यू फर्काउँदै भनिन् –“ती महलाँ त लिफ्ट हुन्छ । सिँडी पनि आफै चल्छ । तँ त उभिए मात्र हुन्छ । म त एकचोटी सिँडीमा झन्नै लडेकी । कसो कसो अडिए नत्र त्यत्रा मान्छेका बिचाँ बेजेत हुनी नि ।”
दिदी लडेको कुराले उसलाई हाँसो लाग्यो । चियाको पानी उम्लाउदै गर्दा उसले आफै हिड्ने सिँडीको कल्पना गर्दै थिई ।

होस्टेलमा उसलाई त्यती नरमाइलो लागिरहेको थिएन । ‘दिदी भएर होला ।’ त्यही दश–बाह्र जना मान्छे भाँडा पनि त्यति हुदैनथे । तराई मुलका केटाहरु ज्यादा थिए होस्टेलमा । पढ्न आएका । कोही इन्जिनियर कोही सिए । उसले यो सिए भनेको बुझेकी थिइन । पढ्न त दश कक्षासम्म पढेकी थिई । पहिलोचोटीमै सेकेण्ड डिभिजनमा एसएलसी पास पनि गरेकी थिई तर यो सिए उसले पहिला कतै सुनेकी थिइन । उसलाई ती तराई मूलका केटाहरु त्यती मन पर्दैनथे । ‘मधिसेहरु’ ऊ सोच्ने गर्थी ‘नेपालीमा पनि होइन, हिन्दीमा पनि होइन के हो भाषामा के के बोल्छन् के के ।’ खाना थप्न जाँदा उनीहरु हाँसे भने उसलाई लाग्थ्यो ती केटाहरु उसैलाई खिल्ली गरेर हाँसिरहेका छन् । बरु पहाडेमुलका केटाहरु जाती थिए । पोखरातिरका झापातिरका । मिठो बोल्थे उनीहरु ।

‘हाम्री होस्टेलकी दिदी साह्रै राम्री क्या !’ एकदिन एउटा झापाली केटाले खाजा खाने बेलामा यसरी जिस्काउँदा बाहिर रिसाएजस्तो गरेपनि भित्रभित्रै खुबै मख्ख परेकी थिई ऊ । केटाहरु गइसकेपछि ऐना हेरेर फुरुङ्ग पर्दै गाजल मिलाएकी थिई । त्यसदिन देखि उसले गाजल लाउन भने कहिल्यै छुटाएकी छैन । त्यती नक्कल झक्कल पनि नपार्ने र आफूलाई साह्रै राम्री नमाने पनि नराम्री छु जस्तो पनि लाग्दैनथ्यो उसलाई ? त्यही अलिअलि मोटी त हो । ‘केटाहरुले लिखुरी–दुब्ली केटी पनि मन पराउन्नन् रे क्या !’

एकदिन कोही नभएको बेला टिभी खोलेर फिलिम हेर्दै गर्दा होस्टेलका सरले एउटा नयाँ केटा लिएर उक्लिए । उसले हतपत टिभी बन्द गरी र बाहिर निस्किई ।
“त्यो किचन ।” सर भन्दै थिए । “यहाँ राखेर खाना खाने” “तातो पानी छ ? लुगा हप्तामा कति जोर धुन दिन पाइन्छ ?” ऊ साध्दै थियो । सर उत्तर दिदै थिए सकेसम्म कुरा मिलाएर “वहाँ नै हो किचनको दिदी ?” भनेर उसले सरसँग सोध्दा उसलाई पहिलोचोटी देखी ।
लाम्चो अनुहार, कालो–कालो, गोरो गोरो, छड्के कपाल कोरेको, अग्लो अग्लो धेरै अग्लो पनि होइन, अलि अलि पुरानो फिलिमको हिरोजस्तो उसलाई त्यो केटा देख्ने बित्तिकै मनप¥यो ।
“दुई चार दिनमा आउँछु ।” उसले सरसँग भन्दै थियो । “भोली नै आए हुन्थ्यो !” उसले मनमनै सोची र खित्तित हाँसी ।

भोलीपल्ट होइन, पर्सीपल्ट होइन, झन् पर्सीपल्ट ऊ आयो । खैरो लेदरको ज्याकेटमा खरानी रङ्गको गलबन्धी देब्रे सप्को हालेर बेरेको ऊ ट्क्यासीबाट निक्लदै गरेको उसले बार्दालीबाट झुलुक्क देखी । ज्याकेटको चेन अलिकति खोलेर उसले गेटबाट माथितिर हेर्दा उसको आँखा ऊ सँग जुध्यो । उसको मुटु धडक्क धड्कियो र हतपत नजर हटाइहाली । आफूलाई अपराधी झै महसुस गर्दै ऊ दौडदै भित्र पसी अनि सोची ‘छ्या के सोच्यो होला त्यसले ?’

दिउँसो ऊ खाजा खान माथि उक्लियो ।
“दिदी खाजा ।” उसले किचनतिर हेर्दै भन्यो । उसलाई खाजा लगेर दिन कस्तो कस्तो धक लाग्यो । दिदीले लगेर खाजा राखिदिइन् । उसले भित्र झ्याल खुसुक्क चियाइन् ।
“भाइ नयाँ हो ?” दिदीले सोधिन् ।
“अ आज आएको ।”
“भाइको घर कहाँ नि ?”
काँधबाट झरेको गलबन्धीको सप्को उठाउँदै उसले भन्यो “पोखरा” उनलाई त्यो गलबन्धी विछट्ट मन प¥यो ।

बेलुका ऊ खाना खान आयो । उसले पुर्लुक्क भित्रबाट हेरी टेबुल फोहोर रैछ । भात छरिएको टेबुलभरी । ‘धत्’ । टेबुल सफा गर्न गईन् । उसको अगाडि निहुरिएर टेबुल पुछ्दा उसको मन किन किन त्यसै धड्कियो । डराएझै भयो । उसलाई लाग्यो उसले उसलाई घुरिराखेको छ, उसको टाउकोमा । कपालमा । ‘ला ! कपाल पनि कोरिन आज । कस्तो सुद्धि मेरो !’ ऊ मनमनै भुतभुताई । ‘कमसेकम कपाल त कोर्नुपर्ने !’
उसको अगाडि निहुरिएर टेबुल पुछ्दाको आधा मिनेट उसको लागि आधा घण्टा लाग्यो । सबैभन्दा बढी  खेद त उसलाई कपाल नकोरेकोमा लाग्यो ।

“त्यो केटी साह्रै अल्छी छे ।”घरमा हुँदा दिदी बारम्बर उसँग कराउने गर्थिन् । “यत्री भइसकी कपाल–सपाल कोर्न पनि मैले भनिराख्नु पर्छ । उमेराँ त अलिअलि नक्कल झक्कल पनि पार्नू पर्छ क्या । आमाचाँही उसलाई फ्याङ्ली भन्थिन् ।
“तिमी नै फ्याङ्ली” ऊ मुखमुखै लाग्थी ।
“राम्राको रुप त त्यसै देखिन्छ । नराम्राले जति नक्कल पारे नि त्यही हो ।”  

हिजोआज भने उसलाई खुब ‘नक्कल पार्न’  मन लाग्ने भएको छ । गाजल त अलि अस्तिनै देखि लाउन थालेकी हो । कपाल पनि हिरोनीको झँै कैले यता झार्थी कैले उता  ‘आल्ली चिटिक्क परेर हिडेको बेला ‘त्यो केटोले’ देखे नि हुन्थ्यो नि जस्तो लाग्यो । उसले देख्ने बित्तिकै आएर ऐन हेर्थी । ऐनामा आफू राम्री देखिई भने उसको मन चङ्गाझै उचालिन्थ्यो । नराम्री देखिएँ जस्तो लाग्यो भने पछुतो मान्थी “यस्तैबेला देख्न पर्नी ।”
अल्छी भन्नुको साटो दिदी आजकल उसलाई ‘धेरै उचुल उचुल नगर’ भन्नु थालेकी थिइन् । उसलाई भने ‘उचुल उचुल’ गर्नुमा खुबै रमाइलो लाग्न थालेको थियो ।

ऊ ‘त्यो केटा’ भने गम्भीर स्वभावको थियो । धेरै नबोल्ने ‘चिनेको साथी नभएर होला ।’ उसले सोच्थी । तर बोल्यो भने हल्का मुसुक्क हाँसेर बोल्ने गथ्र्याे । दाहिनेतिरको ओठ भित्र धकेलेर । उसलाई उसको त्यो बानी साह्रै मन पथ्र्याे । उसको गलबन्धी जस्तै । तर्क गर्न भने उसलाई कसैले जित्दैनथे । केही कुरा बोल्न सुरु ग¥यो भने त्यसलाई के के तर्क दिएर सहि साबित गरेर नै छाड्थ्यो । अझ भनौ जितेर नै छाड्थ्यो । त्यो उसको आदत थियो होला कि घमण्ड ?

“भान्छे दिदी ! ओ भान्छे दिदी !” एकदिन पल्लो कोठाका केटाहरु हल्ला मच्चाउँदै खाना खान आए । ‘मधिसेहरु’ उसले मनमनै सरापी । उसलाई यो भान्छे दिदी भनेको फिटिक्कै मन पर्दैन । कस्तो होच्याएजस्तो ।
“दिदी रिसाउनु भो क्या ?” अर्काे मधिसे केटाले भन्यो “भाडाँ माझ्ने दिदी भन् न ।” सबैजना गलल्ल हाँसे ।

उसको मनमा चसक्क बिझ्यो । भित्रैदेखि क्रोध उर्लेर आयो तर त्यो भन्दा बढी सरम लाग्यो । उसको अगाडि उनीहरुले उसलाई होच्याएर भाँडा माझ्ने दिदी भने, सबैजना गलल्ल हाँसे । ऊ, हाँस्यो कि हाँसेन होला ? उसलाई कौतुहल भयो तर उसको आँखामा हेर्न सकिन । आँखामा हेर्न त के उसको अगाडि पर्न पनि उसलाई मरेझै भयो ।

“खाना पकाउने दिदी हो कि भाडा माझ्ने दिदी हो तिमीहरुलाई कसरी थाहा छ ?” बाहिरबाट उसले रिसाएर जवाफ फर्काएको उसले सुनी । उसलाई राहत मिल्यो । जोडसँग धड्किरहेको मुटुलाई बलियो हातले च्याप्प समातेर अड्याएजस्तै लाग्यो । “कति जाती मान्छे” उसले मनमनै भनी ।

“भाडा माझ्ने दिदीलाई भाँडा माझ्ने दिदी भन्दा तिम्लाई किन टाउको दुख्यो ?” उनीहरुले व्यङ्ग्य मिसाएर ठाडो उत्तर फर्काए । तर उसलाई थाहा थियो उसँग बोलेर जित्न कसैले पनि सक्दैन । कसरी उसले सरसँग एकचोटी विवाद पर्दा खरर्र पाँच मिनेट सम्म नन्स्टप बोलेको थियो र सरपनि चुप परेका थिए । उसको कुरा सकिने बितिकै सबैले उसको अनुहारमा ट्वाँ परेर हेरेका थिए । उसलाई भित्रभित्रै कति खुशी लागेको थियो त्यतिबेला ।

“हरेक मान्छेको आत्मसम्मान हुन्छ र सम्मान गर्नेले मात्र अरुको सम्मान पाउँछ ।” ऊ बोल्दै थियो बाहिर र उठेर हिड्यो । उसलाई त्यसै खुशी लाग्यो यतिबेला ।

ऊ उसँग त्यति बोलेकी थिइन । यसो भनौ बोल्न सकेकी थिइन । ऊ पनि खासै बोल्न खोज्दैनथ्यो तर एकदिन बार्दालीमा एक्लै घाम तापेर बसेको बेला झ्याप्प सोध्यो “दिदी तपाईले कति क्लाससम्म पढ्नुभा’को छ नि ?”
“दशसम्म उसले हड्बडाउँदै भनी र मनमनै सोचित “थोरै त भएन ?”
“अनि कुन सालमा जन्मनुभएको नि ?”
“पचास सालमा ।”
“म पनि पचास सालमा” उसले मुस्कुराउँदै भन्यो “कुन महिना ?”
“मङ्सिर”
“म त असार । बहिनी पो भन्नुपर्ने रै’छ ।” उ हाँस्यो ।
उनले के भनौँ के भनाँ भनेर भनि “दिदी भनेपनि केही छैन ।”
त्यसपछि भने ऊ ऊसँग बोलेको छैन ।

दुई चारजना मधिसे केटाहरु भने उसलाई पछि पछि दिदीको चम्चे भन्थे तर उसको अगाडि चुप रहन्थे । खाजा बनाउँदै गर्दा उसले एकदिन सुनी “त्यो सालेले भ्यायो होला यो दिदीलाई” यस्तो चिताउँदै नचिताएको कुरा सुनेपछि साह्रै नराम्रो लाग्यो उसलाई । हिड्दा हिड्दै ज्यान खस्न लागे जस्तो लाग्यो । ‘कतिसम्म नराम्रो चिताउँछन् मान्छेहरु’ उसको अगाडि बसेर जोडसँग रुन मनलाग्यो । उसलाई गएर सबै कुरा सुनाएर ती केटाहरुलाई लागी गराउन मन लाग्यो । त्यो राती ऊ खाना खान आएको गएको पनि वास्तै गरिन । खाना थप्न पनि दिदी गइन् । उसको मन भारी भइराख्यो । राती सुत्नेबेलामा सोची “केटाको जात कतै उसले पनि यस्तै सोच्छ की”
‘हैन सौच्दैन’ उसले मनमनै आफूलाई विश्वास दिलाउन खोजी ‘ऊ अरुजस्तो छैन ।’

होस्टेलको वातावरणमा ऊ घुलमिल हुँदै गई होस्टेल उसलाई घरजस्तै लाग्न थाल्यो । उसको काम भाँडा माझ्नु, खाना पकाउन अलि अलि सहयोग गर्नु र हल्का–फुल्का घरको सरसफाई गर्नु बस यति थियो । यसबाहेक बिहान–बेलुका केटाहरुको ‘चकाप’ सुन्नु उसको दिनचर्या बनेको थियो । कहिले केटाहरु सलमान खान र साहरुख खान भन्दै झगडा गर्थे त कहिले पृथ्वी ध्वस्त हुन लाग्यो भन्दै डराउन दिन्थे । कहिले फेरी इन्जिनियर यस्तो, सिए यस्तो, डाक्टर यस्तो भन्दै आफ्नो विषयको धक्कु लाउँथे । उसले ती गफमा प्रत्येक पल्ट नयाँ कुरा सुनी जुन कुरा उसको लागि खासै माने राख्दैनथे । ऊ भने शनिबार भरि एक अँगालो पत्रिका लगेर बार्दालीमा घाम ताप्दै पढ्ने गथ्र्याे । ऊ पनि कहिलेकाही ऊसँग पत्रिका मागेर पढी टोपल्थी । उसले मुसुक्क हाँसेर पत्रिका दिन्थ्यो तर फर्काइन भने माग्दैनथ्यो ।

यस बिचमा उसले थापा पाई सिए पास भएपछि टन्नै पैसा कमाउँछन् । ऊ पनि सिए पढ्न आएको थियो । कहिलेकाही राती सुत्नेबेला सिरकमा गुटुमुटु परेर ऊ सोच्ने गर्थी ‘ऊ छिट्टै सिए बनोस् – धैरै पैसा कमाउने । उसको ठूलो गाडी होस्् र ऊ काम खोज्दै उसैको घरमा खाना पकाउन जान पाओस् ।’ ‘छ्या । सोचिहालेसिद्धि नि के जाबो खाना पकाउन जाऊ भन्ने सोचेकी नि ?’ ऊ मनमनै तर्कना गर्थी अनि अध्यारोमा फिस्स हाँस्दै निदाउने गर्थी ।
एकदिन फेरी उसले त्यही सपना देखी । त्यही कालो–निलो  आकाश । त्यस्तै मुसलधारे पानी । ऊ त्यसरी नै बाटोको छेऊमा निथ्रुक्क रुझेर काप्दै उभिएकी छ । हेर्दाहेर्दै रातपर्छ र त्यसरी नै एउटा मान्छे कालो घोडामा ऊ तिर दौडदै आउँछ । उसको मुटु जोडले धड्कन्छ । त्यो मान्छे उसको नजिकै आउँछ । लौ ! त्यो मान्छे त त्यही केटा पो रै’छ । उसैको सिए । कस्तो अचम्म । उसले उसको पाखुरामा समाउँछ । यसपाली उसलाई कत्ति पनि दुख्दैन । उसले पाखुरामा समातेर घोडामा राखेर तेजसँग दौडाउँछ । उसलाई रोमाञ्चक अनुभूति हुन्छ । अनुपम आनन्दको आभाषा हुन्छ । हेर्दाहेर्दै उनीहरु हावामा उड्छन् माथि माथि । उसले यो सपना पटक पटक देख्न थालेकी थिई– बिहानीपख ।
“बिहानीपख देखेको सपना साँचो हुन्छ है” एकदिन उसले दिदीसँग सोधी ।
“भन्नेमात्रै हुन् क्या ।” दिदीले उसको कुरामा वास्तै नगरी भनी । ऊ खिस्रिक्क भई ।

ऊ आएपछि काठमाडौंले एक हिउँद बितायो । होस्टेल पछाडिका रुखका हाँगाले हरिया पात झारे । फाल्गुन–चैतको हुरी सहे र फेरी नयाँ पालुवा पलाउन थाले । उसको मनभित्रको पालुवा भने– उसलाई देख्दाखेरिको उत्साहको पालुवा, एकतर्फी आकर्षणको पालुवा अलिअलि जवानीको पालुवा, कताकता प्रेमको पालुवा यो हिउँदमा झन्झन् पलाउँदै गयो– मुटुभित्रै मुर्झिदै गयो । छातीको बिचमा न्यानो गरी लुकाएको त्यो पालुवालाई न त पुस–माघको चिसो सिरेटोले छुनै सक्यो न त काठमाडौंको मुटु छेड्ने जाडोले कमाउनै सक्यो । त्यो त झन् उसको छातीको तापमा झनै तातो हुदै गयो, अझै रातो हुँदै गयो ।
नयाँ बर्षको भोलिपल्ट क्यालेण्डर फेर्दा दिदीले भनिन् “हामी आ’को पर्सी छ महिना हुन्छ ।”
‘छ महिना !’ उसलाई अचम्म लाग्यो । छ महिनामा उसले उसलाई छ सय पटक भन्दा बढी देख्यो होला । त्यो भन्दा बढी उसले उसलाई लुकी लुकी हेरी होली । मुस्किलले छ पटक उनीहरु बोले होलान् र छ पटक जानीनजानी छोइयो पनि होला तर पनि यो छ महिना उसलाई छ दिन जस्तो पनि लागेको छैन ? यो बिचमा केही नयाँ मान्छे होस्टेलमा थपिए केही पुराना बाहिरिए तर उसलाई तिनीहरुको खासै मतलब छैन । उसलाई त यो छ महिना भर्खर भर्खर मध्यान्ह हुन लागेको दिन जस्तो पो लाग्दैछ जहाँ उसको एउटै काम भनेको कसरी उसलाई लुकीलुकी हेर्नु भन्ने मात्र हो । ‘छ महिना’ उसलाई अझै पत्यार लागेन ।

बेलुका खाना खाईसकेपछि उसले ऊ सरसँग कुरा गर्दै गरेको थाहा पाई । झुलुक्क बाहिर हेरी ।
“त्यसो भए जाने नै भयौ हैन त ?” सर भन्दै थिए ।
“अँ सर अब त जाने प¥यो नि ।”
ऊ जाने भन्ने सुनेपछि उसको मन भरङ्ग भयो । त्यसले सिधै उसको छातीमा सङ्गीन रोपेझैगरेर दुख्यौ उसलाई । भित्रैदेखि कहालीलाग्दो अत्यासलाग्दो लाग्यो उसलाई ।
“अनि अब आउन ?” सर सोध्दै थिए ?”
“जेठको अठार गते इक्जाम छ क्यारे । पन्ध्र गते भित्र आउँछु होला सर ।”
पन्ध्र गते आउने कुराले उसको अतासिएको मनलाई केही राहत मिल्यो तर त्यो राहत असिना पानी दर्केको बेला कर्कालाको पातले टाउको छोपे जस्तो मात्र थियो ।

भोलिपल्ट बिहान ऊ सरकी आमालाई लिएर पशुपति गई । बेलुका  ऊ खाना खान आएन । ‘गयो होला’ उसले सोची । ‘जान्छु पनि नभनी गयो ।’ ‘किन भनोस् उसलाई जान्छु भनी ? को हो र ऊ उसका लागि ? तैपनि उसले मनमनै सोची ‘एकवचन भन्या भए ।’

ऊ गइसक्यो भन्ने कुरा सम्झदा सम्झदा उसको मन अमिलो भएर आयो । निकै खल्लो लाग्यो उसलाई ।
“तरकारी थपिदे रे क्या ।” दिदी कराइन् । ऊ झस्केझै गरे तरकारी थप्न टेबुलतिर गई । त्यो टेबुलमा बस्थ्यो ।’ उसले मनमनै सोची । गह्रौ पाइला गरेर फर्की । थप्दा थप्दा एउटैेमा तीन चोटी थपिछ । धत् ।
“के हो दिदीलाई त आज केही कुच भएजस्तो छ नि ।” एउटा केटाले जिस्काउँदै भन्यो । उसलाई त्यो जिस्क्याएको मन परेन । सबै तरकारी त्यसैकोमा घोप्ट्याइ दिऊ जस्तो लाग्यो । चुप लागेर भाडाँ माझ्न गई । धारो खोली ठूलो गरेर । धाराको वेग भाडाँसँग ठोक्किएर आएको आवाज सुन्दा उसलाई रुन मन लागेर आयो । उसले अझै जोड जोडले झन् ठूलो धारा खोली ।

राती सुत्नेबेलामा ऊ अब छैन भन्ने सोची । मन भक्कानिएर आँखाबाट आँशुको धारा बग्यो र बग्दै सिरानीसम्म पुग्यो । उसले त्यो आँशु छामी – चिसो । नरमाइलो । अत्यारलाग्दो । विरसिलो । उसलाई झनै रुन मन लाग्यो । फेरी भक्कानिई । आँशु फेरी बग्यो । बगिरह्यो केही बेर । सिरानी भिजुन्जेल बग्यो । मन रुझिन्जेल बग्यो । तर त्यो आँशु कसैले देखेन । दिदीले पनि । अनि आँखाबाट आँशुको मुहान रित्तिएपछि ऊ निदाई ।

आजपनि उसले त्यही सपना देखी । त्यही मुसलधारे पानी त्यही अध्याँरो । त्यसरीनै ऊ लुगलुग काप्दै छे । त्यही घोडा । त्यही मान्छे नजिकै आउँछ । उसले देख्छे त्यही केटा । उसको आफ्नो केटा । उसलाई उसले लैजान्छ  भन्ने कुराले उसको काँपिरहेको शरीर खुशीले फूल्छ । घोडामा नजिकै आएपछि उसले हात फैलाउँछे उसलाई समाउन सजिलो होस् भनि तर उसले उसलाई समाउन त के ऊ भएतिर फर्केर पनि हेर्दैन । दायाँबायाँ नहेरीकन ऊ सिधा आफ्नो बाटोमा हुइकिन्छ । बतासको भन्दा तेज गतिमा ।
ऊ निरिह हुन्छे, बेसाहारा हुन्छे । जाडोले उसलाई कपाँइरहन्छ, कपाँईरहन्छ ।

‘आज सत्र गते’ । उसले क्यालेण्डर हेरी । ‘उसले त पन्ध्र गते नै आउँछु भन्थ्यो होइन र ? ढिलो ग¥यो त ? एक दुई दिन ढिलो त हुन सक्छ । आउने दिन मिलेन कि ? कि बिरामी प¥यो ? जाँच दिन आउने हो भन्थ्यो । जाँच दिन त ढिलो गर्नु भएन फेरी । कि आउँदैन ऊ ? अर्कै होस्टेलमा पो बस्यो कि के भर ? अर्कै होस्टलमा बस्यो भने त ऊ आउँदै आउँदैन ।’ ऊ आउँदैन भन्ने सोचर उसको भने निरास भयो । दुई–चार दिनमा आउँला भन्ने आस गर्नु बाहेक अरु कुनै सान्त्वनाको उपाय भेट्टाइन उसले ।

भोलिपल्ट बिहान दिदी होस्टेलको सरसँग कुरा गर्दै थिईन् ।
“भोलिनै जान्छौँ ।” दिदी भन्दै थिइन् ।
दिदी आएप्छि “कहाँ जाने दिदी ?” उसले सोधी ।
“घर जानी नि ।” दिदीले भनिन् ।
“किन र ?” ऊ अचम्म परी ।
“आमा पनि बिरामी छिन् रे । हेर्नी मान्छे चाहिएन ?”
“अनि कहिले आइन्छ त ?”
“अब नआउनी । हामी गाऊँ ग’सी ह्या नयाँ मान्छे खोजीहाल्छन् । ह्या पनि काम मात्रै धेरै । पैसा नि त्यती नहुनी अब उतै बस्नी, नफर्कनी ।”

उसले अवाक् भएर दिदीको अनुहारमा एकोहोरो हेरिरही । उसले झट्ट सोची “ऊ भोली पर्सी तिर आयो र मलाई देखेन भने ? लाऽऽ’
“दिदी दुईचार दिन बसेर जाँदा हुन्न ?” उसलाई सोध्न मन लाग्यो तर सोधिन । उसलाई लाग्यो अब आउँदैन ऊ । उसलाई अब सबै सकिएजस्तो लाग्यो । शुन्य । सबै समाप्त । सबै खत्तम । फिल्मको अन्त्यमा लेख्ने ‘द इन्ड’ जस्तो । केवल ब्याकराउण्ड म्यूजिक बाँकी छ उसको छातिमा अनि हल्काफूल्का रिप्लेहरु । अरुसबै सकियो । द इन्ड ।

राती सुत्नेबेला उसले त्यही केटाले एकचोटि कुरा गर्दा भनेको सम्झी ‘जीवन फगत सपना हो ।’ ‘रै’छ क्यारे’ उसले मनमनै तर्कना गरी ।

पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस