प्रिय असीम जी,
आज शनिबार हो र म सर्भिस स्टेशनमा गाडी सर्भिस गर्न दिएर उनीहरूको फोन कल पर्खेर बसिरहेको छु । मलाई कति पय पर्खाइहरू झन्झटिला लाग्छन् । तर अक्कल झुक्कल मात्रै आउनु पर्ने यो सर्भिस स्टेशनमा पर्खिंदा मलाई त्यती सकस हुँदैन । यो पर्खाइमा मलाई साथ दिन सिड्नीको टेम्पी पार्क हरेकचोटि झैं उपस्थित छ, यद्यपि स्प्रिङ सक्किन दुईहप्ता मात्र छ भनेर झोक्राएको हो कि झैं देखिन्छ । यो मौषम शिरिष फुलाएर हामीलाई सर्वप्रिय पारिजात र उनकी सकम्बरीलाई सम्झाउने मौषम पनि हो । यो सुन्दर मौषमको आजको बिहानीमा म सँग तपाइँका ५५ वटा कविताहरू छन् । पुस्तकको नाम ‘क’ राख्नु भएछ । अब नानीहरूलाई क बाट कछुवा मात्र होइन, क बाट कविता पनि सिकाउनु पर्छ है । यतिखेर नेपालमा भर्खर बिहानीको तर्खर शुरुभयो होला । लखगनखेलमा तरकारी बेच्ने तयारी गर्दै हुनुहुन्छ होला । हामी सबैसँग जीवन भोगाइका कथाहरू छन् । त्यही कथाले हामीलाई हाम्रो परिचय दिएको हो । त्यही कथाले हामीबीच मनोरञ्जन ब्यापारी परिचित छन् र, असीम सागर । मनोरन्जनले ठूलो तपेस वा कराइमा केही पकाउँदै चिन्तन गरिरहेका होलान् र तपाइँ तरकारी बेच्दै । तपाइँले ठेलामा तरकारी बेच्दै गर्दा सात तलाबाट थुक्ने मानिस मालिक पनि हुन सक्छ वा भाडामा बस्ने अर्को मजदूर । यहाँ को कति तलामा बसेर थुकेको छ भन्ने मात्र पनि समस्या होइन । जो कोहीले पनि, जहाँ बाट पनि, जता पनि थुक्न हुन्छ भन्ने किन ठान्दछ भन्ने प्रश्न मलाई झनै जटिल समस्या जस्तो लाग्छ । थुक्नु एउटा प्रवृत्ति हो । हामीले शायद थुक्न जानेका छौं र श्रृंगार्न बिर्सिएका छौं । जसरी हाम्रा सत्ताधारीहरूले जनताको आवश्यकतामाथि थुकिरहेका छन् र आफ्नो कर्तव्य बिर्सिरहेका छन् । यो अर्को यथार्थ हो कि कसैले तपाइँको शिरमा पर्ने गरी थुक्यो । र, म सँगसँगै यो घटना घटित भएको मा त्यती निराश पनि छैन किनकि यसो नभएको भए, तपाईंको ‘क’ भित्रको ज्ञ कविता ‘सडकको आवाज’ जस्तो कालजयी सृजनाको गर्भ बस्ने थिएन । र, तपाइँले ती तमाम मानिसहरूको असभ्यतालाई यसरी लल्कार्नु हुँदैनथ्यो ।
“कृपया
त्यो सातौं तलाको झ्यालबाट
बाहिर नथुक्नुहोला
तल सडकपेटीमा
केही असहाय फुलेका केशहरु
हात या खुट्टा नभएका
केही जोर आँखाहरु
र दृष्टिविहीन भोका पेटहरु
एक गास उज्यालोको पर्खाइमा छन्
उनीहरुकै छेउमा बसेर
खुुइलिएका मजेत्राहरु साग बेच्दै छन्
उध्रिएका कमिजहरु मोजा बेच्दै छन्
र हजारौं जुत्ताचप्पल र टोपीहरु
सडकमा आवतजावत गर्दै छन्
कृपया
त्यो सातौं तलाको झ्यालबाट
बाहिर नथुक्नुहोला”
सडकको आवाज (पृष्ठ १००)
असिम जी, तपाईंले निर्माण गर्न खोज्नु भएको ‘सम्भावनाको चित्र’ भित्र छुट्टिएका आठवटा वर्गहरुलाई निर्देशित गर्ने तीनवटा मुख्य वर्गहरू भोक, भय र लोभ हुन् । हामी यस्तो देशका नागरिक हौं जसले जनताको आधारभूत आवश्यकता के हो भन्ने चिन्तन गर्ने शासक नपाएको दशकौं भइसक्यो । जसले समाजमा सम्वृद्धिको बदला भयको निर्माण गरिरहेको छ । र, अनिश्चतताले मानिसहरू त्रसित छन् र जुका जसरी चुसिरहेका छन् एक अर्काको पसिना जसले अग्ल्याइदिएको छ वर्गिय उचाई मार्नौ त्यसको नाम सगरमाथा हो र हामी त्यसैमा गर्व गछौं ।
“म यी तमाम वर्गहरुको वर्गीय क्यानभासमा
अक्षरका रङले पोतेर भावनाको कुचीले
सम्भावनाको चित्र निर्माण गर्छु
यस्तो चित्र
जसको निधारबाट झर्दै गरेको
पसिनाको गोलो थोपालाई
सबैले पृथ्वी देखून् ।”
वर्गचित्र (पृष्ठ १)
प्रिय कवि, स्वरुप र आकारको धरातलमा उभिएर सुन्दरता वा कुरुपताको विशेषण खोज्न हामीले विर्सिनु पर्छ । हामीलाई पुतली राम्रो लाग्नु र भुसिलकिरा कुरुप लाग्नु पनि भ्रम हो जुन हाम्रो मानविय सभ्यताको एउटा कुनामा फोहोर जसरी नै थुप्रिएर बसेको छ । हामीले नानीहरूलाई ‘क’ बाट कविता पढाउँदै गर्दा झुसिलकिराको सुन्दरताको पनि बखान गर्नु पर्छ है । हामी माटोको सपना देख्ने मानिस हौं, नानीहरूलाई चराहरू जति सुन्दर छन् गड्यौंलाहरू पति त्यति नै सुन्दर छन् भनेर बुझाउने प्रयास गर्नु पर्छ है ।
“त्यसपछि
सिमी र फर्सीको पात खाँदै हिँड्ने
म झुसिल्कीरा भएँ
जुन दिनदेखि म झुसिल्कीरा भएँ
त्यही दिनदेखि मेरो सिकार कम भएको छ
लाग्छ कुरुप हुनु पनि
जीवनको एक पक्ष सुन्दर हुनु रहेछ”
चक्र (पृष्ठ ६)
पानी बग्यो भनेर पहाड भत्कियो भनेर हामी बिनासित्ति पानीसँग रिसाउछौं र, बिर्सिन्छौ, हाम्रो शरिरमा सबैभन्दा बढी हिस्सा पानीले नै ओगटेको छ । पानीले त पानीहुनुको धर्म निभाइरहेको छ, हामीले पो बिर्सिएका छौं मानिस हुनुको धर्म । तपाईंको पानी कविताको अन्त्य भएपछि मैले टेम्पी पार्कमा एक घुट्की पानी पिउँदै लामो शास फेरेको छु ।
“पानी त हो
चलायो भने उसको ऐनालाई
जो कसैको अनुहार
कच्याककुचुक पार्छ
भत्काउँछ
बिगार्छ ।”
पानी (पृष्ठ ११)
‘क’ का शब्दहरू सबै कविताका अंगहरू हुन् तर केही कविता अंशहरू पढ्दा लाग्छ, तिनीहरू कविताका दुई आँखाहरू हुन्, मुटुका चारवटा कोठाहरू हुन् वा कविताको शरीरभित्र बग्ने रगतको प्रवाह हुन् । त्यस्तै छ यो कविता अंशः
“ठाउँठाउँमा फोहोरको थुप्रो भएको
सफा यो सहरमा
भोकले ढुङ्गा चपाइरहेका नानीहरुले
कतै रोटी भेटाए भने
यो देशको चन्द्रमा दाग लाग्न सक्छ”
सर्वोच्चलाई आदेश (पृष्ठ १५)
प्रिय असिम जी, तपाइँ कविताको पनि मिहिनेती कमिला हो । एउटा कर्मशिल कविको नाताले यो पनि नभुलीदिनुहोला, कि कति कविहरू साउदी गएका छन् र पनि तपाइँले जस्तै हिमालकै गीत गुनगुनाएका छन् । र, ठानेका छन्, सप्तकोसी, कर्णाली र वाग्मतीको पानी बग्दै बग्दै जीवनले उनीहरुलाई मिल्काएको समुन्द्रको किनारमा छाल बनेर पुगेको छ । जीवन यात्रा हो । सपना र आधारभूत आवश्यकताहरूको । तपाइँले लगनखेलमा तरकारी बेच्दै गर्दा, तपाइँको ग्राहक ले सब्जी किन्न आउँदा दिएको पैसामा त्यो साउदी गएको कविको पनि पसिना लत्पितिएको छ । यो नबिर्सिनुस् है कवि । तपाइँ भाग्यमानि हो, कि कमसेकम तपाईंको पसिना देशमै बगेको छ ।
“जिउँदै झुसिल्कीरा लतारिरहेका
हजारौं मिहिनेती कमिलाका फौज देखाउँदै भन्छु
यी, यसरी बाँच्नुपर्छ मान्छे
आमा ! म साउदी जान्नँ ।”
“आमा ! म साउदी जान्नँ” (पृष्ठ २२)
यतिखेर लाखौं मानिसहरूले एउटा विषाणुका कारण मृत्यु वरण गरिसकेका छन् । र मृत्युको वरपर उभिएका मानिसहरूलाई शायद तपाईंले लेखेजस्तै बाँचेको अनुभूति भइरहेछ होला । तर, किन छिनमै हामीले बिर्सिहाल्छौं कि हामी एक दिन मर्नुपर्छ । नबिर्सिने हो भने हामीले अलि कम बिर्सिनेथियौं कि मानिसको हुनुको धर्म ?
प्रिय मृत्यु !
तिमी छौ र त
म बाँचेको अनुभूति भइरहेछ मलाई ।
प्रिय मृत्यु (पृष्ठ ४२)
तपाइँले रुखलाई गर्नुभएको आग्रह जस्तो कुनै आग्रह छैन म सँग रुखहरूसँग । म रुखहरूसँग संवाद पनि गर्दिन, र आग्रह पनि । मलाई लाग्दैन रुखहरूलाई हामीले चुपचाप बस भनेर अनुरोध गर्नु पर्दछ । असिम जी हामीले लिंग, वर्ग, जात जस्ता मानव निर्मित भिन्नताहरुको आधारमा धरैलाई चुप वा मौन बस्नै अभिशप्त बनाएका छौं । यदि तपाईंलाई रुखको आवाज हुन्छ जस्तो लाग्छ भने, बोल्न दिऊँ रुखलाई पनी । स्वच्छन्द नाँच्न दिऊँ उसका पातहरूलाई हावाको सँगीतमा ।
“एक दिन
तिम्रो कद अग्लो देखेर
तुफान आउनेछ तिमी
मात्र चुपचाप उभिनू”
मात्र चुपचाप उभिनू (पृष्ठ ९४)
प्रिय असिम जी करोडपतिको ‘क’ भूकम्ममा पुरिएको छ झैं मलाई लाग्दैन । यहाँ मानिसहरू पीडाको, युद्धको, क्रान्तीको पनि ब्यापार गर्छन् र करोडपति बन्छन् । सत्य यहि हो को कि मानिस मानिसकै आर्तनादको ब्यापार गर्छ । म पृष्ठ १०२ मा तपाइँले आभार ब्यक्त गरेका नामहरू पढिसकेपछि, तपाईंलाई पनि पृथ्वीको यो सुदूर भागबाट आभार प्रकट गरिरहेको छु । पानीले त कहिलेकाहीँ बग्ने बाटो पाउँदैन, केही कविताहरूले यहाँ पनि बाटो पाएका छ्रैनन् तर सबै कविताले पानीले पानी हुनुको धर्म नबिर्सिए झैं कविता हुनु को धर्म बिर्सिएका छैनन् । प्रिय कविलाई असिम बधाई ।