'साताको साहित्य डट् कम’ ले सन् २०१३ का लागि प्रदान गर्ने 'साताको साहित्य पुरस्कार’ युवा कवि रमेश सायनलाई प्रदान ग¥यो, ताम्रपत्र र रु.बीस हजारको थैलीसहित । सायनको 'नाम धनिमाया थारु: बर्ष चौरासी’ शीर्षकको कविताका निम्ति उक्त पुरस्कार दिइएको थियो । साहित्य परिवार, नेपाल मेडिकल कलेजले वार्षिक रुपमा प्रदान गर्ने 'साहित्य परिवार वर्ष पुरस्कार २०७१’ सायनकै नयाँ कवितासंग्रह 'भागेर भूगालेभरि’ले नै पायो, रु. दश हजारको थैली र ताम्रपत्रसहित । केही समयअघि प्रकाशनमा आएको प्रस्तुत कृति उनको पहिलो कविताकृति हो । जसमा ३२ थान मझौला साइजका कविताहरु समेटिएका छन् ।
पछिल्ला केही दशकमा नेपाली कविताले छिचोलेका आरोह–अवरोहरु हेर्ने हो भने थोरै कविताबाहेक साँचो कविताको भाषा कवितामा थिएन नै । बरु, कविताको आफ्नो भाषा धेरै आख्यानमा गयो, गीतमा गयो । अरु केहीमा गयो । तर, कविताचाहिँ अरुलाई कपडा बाँड्दा–बाँड्दा आफू नांगिएर भागेको कुनै सम्राटजस्तो भयो । अथवा, कविताले आफ्नो उज्यालो अरुलाई बाँडेर आफू धिपधिपाउँदै बलिरह्यो । यो समयमा अत्यन्तै थोरै कवितााहेक धेरै कविता, कविताका नाममा अनेकथोक भएर आए । ती कविताले असल कविताका पाठकमाथि निरन्तर काव्यिक दमन गरिरहे । भाषाको सौन्दर्य र सामथ्र्यका निम्ति कविता पढ्नै नपर्ने भयो। नेपाली कवितामा यो ठूलो नोक्सान भयो । साँच्चै भन्ने हो भने पछिल्ला केही दशकमा नेपाली कविता ठेगाना हराएर कतै भौतारिइहेको फकीरजस्तै भयो । कवितालाई आम मान्छेले हेर्न छाडिदिए । कवितालाई प्रेम गर्न छाडिदिए । कवितादेखि धेरै पाठक विकर्षित भए । यो नेपाली कविताका लागि सबैभन्दा धुमिल समय रह्यो । यसरी उन्नत कवि र कविताको तीव्र अभाव भइरहेका बेला अभावको त्यो खाडल पुर्न हिम्मतका साथ आएका थोरै कविहरुमध्येका एकथान युवा कवि हुन्– रमेश सायन । जो आफ्नो कविताशक्ति र सामथ्र्यका बलमा सुकिला र शक्तिसाली कविताहरु लेखिरहेका छन् । र, दृढ छन्– नेपाली कविताको राजमार्गलाई अरु विस्तार गर्न ।
यौटा असल कविलाई देशको यौटा 'कविता कोलाज’ भन्न मिल्छ कि मिल्दैन, म भन्न सक्तिँन । तर, कवि रमेश सायनजका कविताहरु पढिसकेपछि मलाई लागिरह्यो– कवि रमेश सायन यो देशको यौटा ।।।कविता–कोलाज’ हुन् । जोसँग कविताका थुप्रै रबहरु छन् । उनीसँग यो देशका उन्नत सपना–विपना छन् । आशा–निराशाहरु छन् । यही देशका सुख–दुःख, भोक–तिर्खा, घाउहरु अनि मुस्कानहरु हरबखत उनीसँगै भइरहन्छन् । उनी यो राष्ट्रको परिवेश नाघेर बाहिर जाँदैनन् । उनी जहाँ पुगे पनि यो यहाँको समाज र यहाँका मान्छेका सुख–दुःखहरु सँगसँगै हुन्छन् । रमेश सायनका कवितामा पाइने सबैभन्दा सुन्दर पक्ष हो– भाषाको सौन्दर्य र त्यसको सामथ्र्य । कविताामा कविताकै भाषा निर्माण गर्न सक्ने र कविताकै जीवन दिन सक्ने उनको कविताप्रतिको आत्माविश्वास र प्रेम कम लोभलाग्दो छैन । उनी यो देशका अनेक तस्बिरहरुलाई बडो प्रेमले आफ्नो हृदयमा टाँगेर जति सजिलै सुन्दर विम्बहरु निर्माण गर्छन्, त्यसलाई त्यति नै सहज र सुन्दर ढंगले उपयोग पनि गर्छन् । उनका कवितामा हृदयले कुँदेको भाषा भेटिन्छ । हृदयकै मसी भेटिन्छ । मस्तिष्कले निफनेको चेतना भेटिन्छ । बर्षौंदेखि प्रेमले बटुलेर राखेका विम्ब र मिथकहरु भेटिन्छन् । र, तिनी कुराको उपयोग गरेर उनी राम्रा कविताहरु जन्माउँछन् ।
कहिल्यै फुर्सद भए पूरानो फोटोफ्रेम अघिल्लितर उभिएर आफैँलाई सम्झने अन्तिम स्टेसनबाट बिदा भएकी प्रेमिकाको ठेगाना सोध्ने हिँड्ने बेला वृद्ध आबाबुसँग आशीर्वाद माग्ने । रमेश सायनका कविताहरु पढिसकेपछि मलाई भन्न मन लागेको एउटा अर्को कुरा हो – उनी कवितामा देशीय मौलिकता बोकेर हिँड्ने कवि हुन्, जोसँग कविताको अत्यन्तै राम्रो मौलिक कमाण्ड छ । त्यसलाई कविताप्रतिको उनको निष्ठा भनिदिए पनि हुन्छ । अथवा, कविताप्रतिको उनको अडान । यही कुरालाई अगाडि राखेर हेरियो भने उनका कविता जहाँ गए पनि यही राष्ट्र बोकेर हिँडेझँ लाग्छ । यही राष्ट्रका सपना बोकेर डुलेझैँ लाग्छ । यही राष्ट्रलाई खाँचो पनि उज्यालोको खोजिमा अँध्यारोविरुद्ध उत्रिएझँ लाग्छ । अतः उनका कवितामा बारम्बार भेटिइरहने र महसुस भइरहने कुरा पनि यिनै हुन् । र, यही नै उनको कविताको पुँजी पनि हो ।
म बडो विश्वासका साथ भन्दछु– कविताविरुद्ध राँकेजुलुस नै निकाले पनि कविता, कविता नै हो । विश्व साहित्य बजारभरि अहिले कविताप्रतिको आकर्षण घट्दो भए पनि, भारतीय बजारमा डिस्कोर्स निकै चले पनि, नेपाली बजारमा पाठकहरु उपन्यासतिरै एकोहोरिए पनि इतिहासदेखिको कविताको प्रतिष्ठा र अस्तित्व मरिसकेको छैन । कविताको इतिहास मेटिइसकेको छैन । बरु, खाँटी कुरा त यो हो कि कविताको भाषिक सामथ्र्य र सौन्दर्य, हृदयी र जादुमय भाषा अरु विधामा गयो, र ती नै विधाहरु धेरै पढिए पछिल्लो समयमा । पढिँदैछन् पनि । कवि रमेश सायनको काव्यिक सामथ्र्य भिन्न र विशिष्ट छ । उनका कविताहरुमा भेटिने शालिन विद्रोह र मौन कम्पन निकै प्रिय हुन्छ । उनका धेरै कविताहरुमा सीमान्तकृत जीवन र त्यस जीवनले चाहेको परिवर्तन उत्कृष्टमात्रै छैन, ती आवश्यकीय पनि छन् । उनी
कवितामार्फत् सहज र शालिन विद्रोह बोल्छन् । यथास्थितीसँग उनी पनि अरुजस्तै असन्तुष्ट नै छन् । उनीसँग पनि छन्– यावत् विमतिहरु । कति ठाउँमा त उनी यो वर्तमानसँमात्रै असन्तुष्टि पोख्दैनन्, आफैँविरुद्ध पनि उनको व्यापक असन्तुष्टि छ । तर, त्यो असन्तुष्टि पोख्न उनी चर्को बोल्दैनन् । त्यस्तो असन्तुष्टि र विरोध मौन र हार्दिकताका साथ उठ्छ । तर, कवितामा त्यसको प्रभाव चाहीँ गहिरो र स्थायी हुन्छ ।
"हतार भो, पहिले कसैलाई सम्झिनँ
फुर्सद भो, अहिले कसैलाई सम्झनँ सक्दिनँ
म एक विृद्ध रटायर्ड अफिसर
अर्थात् फर्सदको मान्छे ।"