मुख्य पृष्ठ » कृती / समीक्षा » नेपाली कविताको एउटा धागो

नेपाली कविताको एउटा धागो

string(43) "user_uploads/members/955666148136_large.jpg"
लेखक
निष्प्रभ सजी
नाम : निष्प्रभ सजी
ठेगाना : हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया
ईमेल : nisprabhsaji@gmail.com
  निष्प्रभ सजी का रचनाहरू

कहिलेकाहीँ कविता पढिसकेपछि समालोचनाको उपादेयता रहँदैन । कसैले भनिरहनु पर्दैन वा लेखिरहुनु पर्दैन वा भनौँ कविताको सार्थकताको वकालत गरिरहुनु पर्दैन । निरज भट्टराईलाई पढेपछि यस्तो लाग्यो कि, यस्ता कविताहरू लेखिने क्रम चलिरह्यो भनेँ उपन्यास र कथाका लामा प्लटहरू पढेर पाउने सन्तुष्टी पाठकले एउटा लघुकविता पढेर अनुभूत गर्नेछन् । जिन्दगी लामो भएपनि जिन्दगीको सार छोटो छ । कविता साहित्य पनि जिन्दगीको सार जस्तै हो । शायद निरजले जिन्दगी र कविताको यो सार बुझेका छन् ।

मैले यसरीनै मनु मन्जिल र श्यामलका कविताहरूलाई पढेको थिएँ । आज निरजलाई पढ्ने अवसर मिल्यो । निरजका दाई सिड्नीमै बस्नुहुँदो रहेछ । उहाँको दाईले मलाई पुस्तक दिनेबित्तिकै स्ट्रीटमै उभिएर एउटा कविता पढेँ । त्यो कविताको शिर्षक हजुरबा थियो ।

तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले
मलाई उपहार दिनु भएको थियो
मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट

लगाएर निस्केको पहिलो दिन नै
किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो
धागो निस्केको थियो
धागो तान्दै गएँ, सिलाई उध्रिँदै गयो
हेर्दा हेर्दै मेरो अनुहार
धागो बनेर हरायो टि—शर्टबाट

म पनि उध्रिँदै गैरहेछु भित्र भित्रै
हराउने छु धुवाँको धागो बनेर एक दिन

तपाईं भएको भए सोध्ने थिएँ
को हो जो तानिरहन्छ धागो
म उध्रेको ठाउँबाट ?  


अब मलाई हर्सटभिल स्टेशनमा कतिखेर पुगौँ भन्ने हतार भो किनकि म टे«न छुटाउन पनि चाहन्न र कविता पनि चाँडै पढ्न चाहन्छु । स्टेशन पुग्नेत्तिकै वलाईक्रिक जाने ट्रेन आइहाल्यो । म पसेँ र दोस्रो तलामा गएर बसेँ । शायद म ट्रेनभित्रपनि शान्त कुनो खोजिरहेको थिएँ । सोमबारको दिउसोको समय भएकाले आज ट्रेनभित्रको वातावरण बास्तवमै शान्त थियो ।

मैले कविता शुरुबाटै पढ्न थालेँ । कविता छोटा हुनाले मलाई कविता पढ्न झन् सजिलो भएको थियो । यात्रामा हुँदा मलाई कथा र कविता पढ्न मनपर्छ । उपन्यास लामो यात्रामा मात्र पल्टाउँछु ।  कवितालाई अंग्रजीमा अनुवाद गरिएपनि मैले अनुवादित कविताहरूलाई शुरुमा पढ्न चाहिन । किनकि अनुवाद पढ्दा कहिलेकाहीँ कवि हराउँछ र अनुवादकलाई पढ्नु पर्ने बाध्यता हुन्छ । पढ्दै जाँदा आँखा ‘यौटा घरमा’ बिसाएँ !

लोग्ने कहिल्यै आफ्नो स्वास्नीसँग सुत्दैन
अरू कसैसँग पनि सुत्दैन

स्वास्नी कहिल्यै आफ्नो लोग्नेसँग सुत्दिन
अरु कसैसँग पनि सुत्दिन

तर,
जब जब लोग्ने फर्किंदैन कुनै दिन
स्वास्नी लोग्नेको खाटमा सुत्छे ।


कविताको सरलतामा गाम्भिर्यता हराएको छैन । कवितामा घण्टाघर जस्ता कविताहरू तीखा छन् । कतिलाई यस्ता कविता पनि शायद मनपर्लान् । मलाई भने कविले यो र यस्ता एकदुइवटा कविता यसमा संग्रहित नगरेको भए हुन्थ्यो कि भन्ने मनमा लागिरह्यो । बिसवटा कविताहरू पढेपछि वलाई क्रिक स्टेशन आयो ।



निरज भट्टराईका कविताहरू सरल भएर पनि कलात्मक छन् । कवि तीर्थ श्रेष्ठले एकचोटि भनेका थिए, कवितामा सरल हुन झन् गार्हो छ । नेपाली कवितालाई क्लिष्टता बाट मुक्त गराउन कवि र समालोचकहरूले समय र शब्द खर्चिरहन्छन् । हुन त यहाँ पनि कवि निरजले समालोचना गरेरै तालु खुइलाएका दिग्गजहरूलाई समालोचनाको जिम्मा दिएका छन् । पढ्दै जाँदा लाग्छ, उनका कविताहरूलाई कुनै समालोचनाको आबश्यकता छैन जसरी प्रेमी प्रेमिकाको नोस्टाल्जिया बुझ्न हामीलाई कुनै समिक्षा चाहिँदैन ।  

शायद तिमीले भुलिसक्यौ
त्यो दिन म्युजियमको छतमा
हामीले के गरेका थियौँ

मलाई याद छ
त्यहाँ यौटा खिया लागेको ढोका थियो
मान्छेहरूले भुलिसकेका थिए
पछिल्लो पटक त्यो कहिले खुलेको थियो
भन्थे कुनै गुप्त बाटो हो
कुनै महाराजाले बनाउन लगाएका थिए

त्यै ढोकाभित्र हामीले
आ—आफ्ना छायाँहरू छोडीदिएका थियौँ
याद छ तिमीलाई ?
भैगो छोड मलाई जवाफ चाहिँदैन

सुनेको छु
आज वषौँपछि जब त्यो ढोको खुल्यो
भित्र यौटा कविता भेटियो
जसको अनुहार हुबहु तिमी जस्तै छ ।

दुइटा ट्रेन बदल्दा पनि पुरा कविता पढेर सकिएन । ट्रेन रिभस्वीबाटै फर्किने रहेछ । झरेँ र प्लेटफार्मको लामो कुर्चिमा बसेँ । घाम लागिरहेको थियो । किताव पढेर सकेपछि बिदाको दिन घरबाट हर्स्टभिलसम्मको यात्रा तय गर्दा खर्चिएको समयको साटो निकै गुणा बढी सन्तुष्टि मिलेझैँ भयो । हिँड्दा हिँड्दै मनमा लाग्यो, निरज भट्टराई कै शैलाीमा नेपाली कविता साहित्यलाई प्रतिबिम्वित गरौँ भने नेपाली कविता एउटा स्वेटर हो र उनी त्यही स्वेटरको एउटा धागो । मेरो शुभकामना छ, यो स्वेटर कहिल्यै नउध्रियोस् । 

साभार: नेपाली पत्र अष्ट्रेलिया (अंक—१३१)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस