म आख्यान पढ्दा कहिल्यै लेखकको भूमिका पहिल्यै पढ्दिन । तर कविताको हकमा म आफ्नै नियमको उल्लङ्घन गर्छु । ‘डन्ट टच मि ओ कविताहरू भनेर’ कवितालाई लोभ लाग्दो गरि छोएका कवि चन्द्र घिमिरेले ‘काठको बाकस’ पठाएका छन् । त्यो बाकस भित्र शायद एउटा कविताको लाश हुनु पर्छ जुन् हजारौँ नेपालीका मृत सपताहरूको विम्बले भरिएको होला । मैले पनि सबैले जस्तै अड्कल काटेँ । उनको बाकस नखोल्दै । उनको बार्ह पृष्ठ लामो लेखकिय मेनिफेस्टोले तान्दै थियो, तर यसपालि कविताकै बाकस पहिले खोल्न मन लाग्यो ।
४३ वटा कविताहरूले छुन आएछन् कविलाई यसपटक । कविको स्विकारोक्ती छ कि उनि कवि हुन जन्मिएका हुन् , र झुक्किएर डिप्लोम्याट भए । मलाई कविले म कवि हुन जन्मिएको हुँ भन्दो आनन्द आउँछ । झुक्किएर कवि भएँ भन्नेहरूको भीडबाट अलि पर । कतिले त आधा दर्जन पुस्तकलाई कविता सँग्रहको ट्याग लगाउँछन् र भन्छन्, म कवि भने होइन । आफ्नै कविताप्रति आत्मविश्वास नहुने ब्यक्ति कवि हुँदैन । तिनीहरूले कविता नलेखे पनि हुन्छ ।
कविले यो पनि भनेका छन् कि उनी कवितामा आख्यान लेख्न रुचाउँछन् । ‘गुरू’ कविताको यो अंश एउटा उदाहरण मात्र हो ।
‘चस्मामा पावर बढाएर
जीवनको नमिल्ने बिजगणित हाम्लाई सिकाए
करोलाभन्दा तितो भौतिकशास्त्रको जुस पिलाए
गुरू विडम्बना थिए
पढाउन सफल
जीवनको रिलेदौडमा असफल
छोरीको बिहे गराउन पछिपरे
रुँदै भागिछिन् गुरूपुत्री एक लोफर साँझसित ।’
हामी सबैले गुरूहरूको उपहास पनि गर्यौँ । गाली पनि गर्यौँ । हामी त यति बदमास पनि भयौँ कि गणितमा वा अंग्रेजीमा बारम्वार फेल बनाउने सरलाई गरालो लिएर कुट्न बस्यौँ । र, गाउँ नै छोडेर लाहूर पस्यौँ । हामीले गुरूलाई सम्मान पनि गर्यौँ होला । तर, निकै अड्कलेर । हामीलाई उज्यालो दिने गुरुहरू थाहै नदिई अस्ताउँछन् ।
नयनराज पाण्डे को चर्चित लघु उपन्यास उलार भित्रको प्रेमललवाको याद आयो, ‘प्रेमललवाको कथा’ पढ्दा । कविले भने जस्तै आँफैलाई नफापेपनि धेरैलाई फापेका छन् प्रेमललवाहरू ।
‘तिम्ले नदेखेकै जाती भो
जूनको लैलैमा तिम्ले गरेको आत्महत्या
तिम्रो श्रद्धाञ्जलाीमा लामबद्ध
म र मेरो शोक कविता
अलि कैयौँ छ ।
टिभीबहसमा जुधे सत्तापक्ष र प्रतिपक्ष
यही बहानामा
विपक्षीलाई सत्तारोहण जुरेको छ
तिमीबिना मृत्यु मिसावटी छ प्रेमललवा ।
तिम्लाई नफापे नि
धेरैलाई तिमी फापेका छौ प्रेमललवा !’
एउटा कविता छ ‘मालती’, जसले शरिरमा काँडा उमार्छ । कविताको शुरुवात नै पूर्ण कविता जस्तो छ । कविले आख्यानलाई कविता बनाईदिएका छन् । भन्नेहरूले यस्तो कथाजस्तो पनि कविता हुन्छ र पनि भन्नेछन् । भन्दै गरुन् । मालती एउटा सशक्त कविता हो ।
‘वनको खोल्सामा उम्रेको घाँस जस्तै
दुनियाँले थाहा नपाउने सर्तमा जन्मिएकी थिई मालती
—गाउँकै ‘चुपचाप’ छोरी ।’
कतै कतै बग्दै गरेको पानीको बाटो ठूलो ढुङ्गो आएर मोडिदिए जस्तो पनि हुन्छ केही कविता पढ्दा । ‘वडा नं ३२’ जस्ता केही कविताहरू पढ्दा त्यस्तै भयो । म पाठक हुँ । हाम्रा जीवनका भोगाइहरू भिन्न छन् । मलाई ठ्याक्कै मन नपरेको कुरा तपाइँलाई झट्ट क्लिक गर्न सक्छ ।
‘देहात टाइम्स १’ बाट शुरु भएको कविताको श्रृंखला ‘पुच्छर पलाएको मान्छे’मा गएर टुंगिएको छ । कविता बुनिएका छैनन् । कवितालाई राम्रो बनाउँछु भन्ने होडमा कवि कतै हराएका छैनन् । कविता चौरमा दुवो उम्रिएझैँ उम्रिएका छन् । प्रकृतीसँग निकट भएर जीवन लेख्छु भन्दा केही नउम्रिने बाँझो जमिनको जमिनदार हुनसक्ने साहश पनि हुनु पर्छ कविमा । केही बाँझा टुक्राहरूपनि छन् । केही सम्याउन पर्ने र फुटाउन पर्ने माटाका डल्लाहरू पनि छन् । कविसँग ती डल्लाहरूलाई कवितै लेखेर फुटाउने क्षमता छ । कविलाई कविताकै शुभकामना ।
काठको बाकस (कविता संग्रह)
प्रकाशक : साग्रिंला बुक्स
पृष्ठ : १३६
मूल्य : १९९
विधा : कविता