मुख्य पृष्ठ » कृती / समीक्षा » मलाई मर्ने स्वतन्त्रता छ !

मलाई मर्ने स्वतन्त्रता छ !

string(43) "user_uploads/members/955666148136_large.jpg"
लेखक
निष्प्रभ सजी
नाम : निष्प्रभ सजी
ठेगाना : हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया
ईमेल : nisprabhsaji@gmail.com
  निष्प्रभ सजी का रचनाहरू

म कहिलेकाहीँ कविताको समिक्षा गर्ने प्रयास गर्छु । तर लाग्छ कविता लेख्नेले कविताको समिक्षा गर्दा समिक्षा प्रभावकारी हुँदैन । सबै कुरामा प्रभावकारिताको नापतौल गर्ने बानी नभएकाले पनि होला, मन पर्यो भने लेख्न बस्छु । अर्काको भावनालाई यस्तो र उस्तो भन्ने सामथ्र्य कसै सँग हुँदैन । त्यसैले हरेक समिक्षा मलाई समिक्षा लाग्दैनन् । यसलाई म दृष्टिकोण भन्छु । अरुको हेराइबाट, बुझाइबाट लेखिएको भावनाको एउटा दृष्टिकोण ।

यसपटक म सँग एउटा कथा सँग्रह छ । ‘फ्रिडम टु डाई’ । कथालाई समिक्षा गर्नु त मलाई झनै हाँस्यास्पद लाग्छ । हामी सबैसँग फरक कथाहरू हुन्छन् । कथाका केही हिस्साहरू साझा पनि हुन्छन् । आँफुले नभोगेको कथा पढ्दा लाग्छ, यस्तो पनि हुँदोरहेछ । आँफुले नभोगेको कथालाई यस्तो कहाँ हुन्छ र भन्नु मुर्खता हो भन्छु म । जिन्दगी नै एउटा यस्तो बिम्ब हो जहाँ सोच्दै नसोचिएका कथाहरू बुनिन्छन् र समयलाई आश्चर्यचकित पार्दै कथाहरूले हरनिमेष अनुहार फेरिरहन्छन् । केहि हप्ता अगाडि यस पुस्तकको बिमोचन सिड्नीमै भएको थियो । बिमोचनको केही दिन अगाडि मात्र यस कथा संग्रहका लेखक निर्मल ज्ञवालीसँग मेरो परिचय भयो । परिचय पछि थाहा भयो, यिनी त डाक्टर रहेछन्, त्यो पनि थेसिसको ठेली बुझाएर बनेका डाक्टर हैनन्, चिरफार गर्ने डाक्टर । बिमोचनमा मैले यस पुस्तकको बारेमा बोल्नु पर्ने भयो भन्ने जानकारी पत्रकार मित्र ऋषि आचार्यले अलि अगाडि नै दिएका थिए । त्यसकारणले पनि कथाकारलाई घरमै बोलाएँ । केही जान्न मन लाग्यो । कथाका बारेमा र कथा कुँद्ने कलाकारका बारेमा । ले आउटमै डा. निर्मल ज्ञवाली देखेपछि एउटा प्रश्न जायज थियो मेरा लागि । कि त यिनी हस्पिटलमा काम गर्छन् वा यिनको क्लिनिक छ । यिनी त डाक्टरी पढेर कम्पुटर तिर मोडिएछन् । आइटिमा यिनको पहिल्यै देखि रुचि रहेछ । यिनको फेसबुक टाइमलाइनमा केही समय बिताउँदा थाहा पाएँ, यिनी पहिले आइटीसँग सम्बन्धित ब्लगहरू पनि लेख्दा रहेछन् । मैले बिमोचन गर्दाकै दिन मजाकमै भनिदिएँ, “निर्मल जी त राजु हिरानीको एउटा इडियट हुँनुन्रैच !” आइटिमा लागेर पनि निकै सफल भइसकेका डाक्टर साहेब ।

यि त सबै जोडिएका कुरा भए । अब भने कथाहरू सँग जोडिन मन लाग्यो । कल्ले छापेछ भन्ने कौतुहुलता बुकहिलको लोगो देख्ने बित्तिकै बिलाएर गयो । साइकल यात्री पुष्कर शाहको बिश्य यात्रालाई संसारभरी फिँजाउन सफल भएको पब्लिेकसन हाउसले चिटिक्क परेको दुइसय दस पृष्ठको पुस्तक, अन्र्तराष्ट्रिय मापदण्डलाई पनि ख्याल गरेर छापेको रहेछ । राजन काफ्लेले राम्रो स्केच बनाएछन् । भर्खरै गुलाबी ओठको स्पर्शले मानौँ कसैको दुर्घटना भएको छ । गुलावका पत्रपत्रहरू यसरी छरिएका छन् मानौँ त्यहाँ प्रेमको अथाह उपस्थिति छ । जोकोही लाई पनि तान्छ पुस्तकको ले आउटले । माथि टुपुक्क अडिएको छ किताबको शिर्षक ‘फ्रिडम टु डाई’। सन २०००मा ब्रिटिश लेखक डेरेक हम्फ्रीको यहि शिर्षकमा पुस्तक छापिएको रहेछ । उक्त पुस्तकको बिषय भने समाज र राजनितीसँग निकट थियो । यसरी शिर्षक दोहोरिनुमा मैले कतै दोष देख्दिन । बिषयबस्तु र मौलिकता दोहोरिनु हुँदैन ।

लेखकले पुस्तक आफ्नी आमालाई समर्पित गरेका रहेछन् । फ्रिडम टु डाई, ड्रिमर, क्यान्टिनकी बैनी, अज्ञानता परमानन्द, अधैर्य र भर्जुअल रियालिटी लगायतका तेइसवटा जीवन भोगाइका बिभिन्न रंगहरू र मानविय संवेदना बोकेका कथाहरू एक बसाइमै पढिसेकपछि समय खेर गएनछ भन्ने लाग्यो । शिर्ष कथा शुरुमै राखिएकाले पनि सबै पाठकले यही कथा पहिले पढ्छन् होला । मैले पनि त्यही गरेको थिएँ । युथानासिया अर्थात इच्छा मृत्युलाई कलात्मक पाराले कथानक मोड पाएको छ । कथाको अन्तिम बाक्य पढेपछि प्राय सबैले लामो शास फेर्छन् होला । बिदेशमा पढ्न आउने बिद्याथीर्का सपनाहरू छन् कथाभित्र । युवा पुस्ताका भ्रमण अनुभूतिहरू कथामा समेटिएका छन् । मामा कथाभित्र कथाकार सम्बन्धहरूको दुःखद मोडमा पनि पाठकलाई हँसाउन सफल देखिन्छन् । हँसाउछन्, बिझाउँछन् र  रोमाञ्चित पनि बनाउँछन् कथाका पात्रहरूले ।

ओपेरा डायरी जस्ता एकदुइवटा कथाहरू सम्समरण जस्ता लाग्छन् । तर फेरी सोच्छु, सम्समरण पनि कथा नै त हो । आफ्ना कथा कथा हुँदैनन र ?  भर्जिनिया उल्फले भनेकि छन्, “जसले आफ्ना कथाहरूको सत्यता लुकाउन खोज्छ, उसले अरुका बारेमा कथा बुन्न सक्दैन” । शायद बुनिएका कथाहरू उध्रिहाल्छन् पाठकका मनबाट । मलाई कथालाई छोए । निर्मल पनि परदेशमै छन् । शायद हाम्रो बिम्बको भूगोलमा केही समानताहरू छन् । सबैका नहुन सक्छन् । मैले अघि पनि भनिसकेको छु । यो समिक्षा होइन । मेरो दृष्टिकोण हो । निर्मलको लामो कथा पढ्ने मन छ । मैले उनलाई भनिसकेको पनि छु । चाँडैनै उनको उपन्यासमा आफ्नो दृष्टिकोण राख्ने अवसर मिलोस् । निर्मललाई शुभकामना ।

फ्रिडम टु डाई
बिधा : कथा
पृष्ठ : २१०
मूल्य : १५ (अष्ट्रेलियन डलर)
प्रकाशक : बुक हिल

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस