यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु ।कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन, पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो, एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी, त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला, कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन, आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजमा भन्दा आकर्षण सायनमा धेरै रहेछ ।
होटलको दिदीलाई चोर औला देखाएर केही थप्न इसारा गर्दै उसले भन्यो “अँ भाइ किताब अबको १ महिनामा आउछ है” मैले साबिक जस्तै जिस्काइदिएँ, “हैन दाइ संविधान नबनी किताब निक्लेला र ?”, “निस्कन्छ यार नाम पनि फाइनल भैसक्यो, भागेर भूगोल भरि कस्तो छ ?” यसपाली चाँहि अनुहार अलि सिरियस थियो । म केही बेर बोलिन “भाइ नाम मन परेन ?” दाइ अलि डराए जस्तो गर्याे । मैले फ्याट्ट भनें “मदिरा जस्तो छ यार सुरुमा नमिठो बिस्तारै मिठो” । “सकिदैन गजलकारहरूसँग” उसले निरन्तरताको उत्तरमा क्रमभंगता गरेन । मैले त्यही मेहेफिलमा पहिलो पलट हात मिलाएको थिएँ “भागेर भूगोलभरि” सँग तर पहिलोपल्ट भेटेको साथीको पनि साथीसँग हात मिलाएभन्दा बढी चाँहि भएन । उस्ले कभर फोटो पनि त्यही दिन देखाएको थियो । मलाई किताबको नामभन्दा बढी फोटो मन पर्याे यतिन्जेलसम्म हामीहरू दाजु भाइ जस्तै भैसकेका थियौं । कहिले कहीं ननभेज जोक भेटियो भने म उसलाई इनबक्समा खासालिदिन्थे । ऊ बेला बखत जोक सुनाइरहन्थ्यो । अन्तिममा उसको सधै एउटा कुरा चाहि छुट्थेन, जोक लेख्न कविता लेख्नभन्दा गार्हो हुन्छ । ऊ पिएको बेला कविता सुनाउनु अपराध हो भन्छ । जोक पनि अरुका सुनाउन उसलाई मन लाग्दैन । त्यसकारण ऊ बेला बेला जोक लेखि बस्छ । उसको लेखनमा केही आइडिया थपिएला भनेर मैले मन परेको जोक उसलाई पठाउने गरेको थिएँ । उसलाई धेरैले आफ्नो एकदमै निकटको मित्र सम्झन्छन । मेरो एकजना दाइले आफूलाई सायनको बारेमा सबै कुरा थाहा हुने र यो सहरमा आफू नै उसको सबैभन्दा नजिकको भएको बताए । अर्काे दिन अर्काेले पनि त्यही बताए । वास्तविकता बुझ्न मनलाग्यो । बास्तबमा ऊ कसैले सोचे जत्तिको नजिक पनि हुदैन र टाढा को पनि होइन । ऊ त सम्बन्धको प्रिज्म भित्र लुकी बस्दो रहेछ । जताबाट हेर्दा पनि नजिकको देखिने । ठ्याकै त्यस्तै छ उसको सन्तान “भागेर भूगोलभरि” । उसले कसैको मन दुखाएको छैन । कसैको भक्ति गुणगान गएको छैन । सायद यही कारण पनि धेरैले मन पराएका छन । पढ्दा पढ्दै थाहै हुदैन उसले कुन बेला पाठकको दिलको रिदमलाई चोरि लैजन्छ र आफ्नो जस्तै बनाएर पठाइदिन्छ । एकपटक उसले फेशबूकमा बिज्ञपन राख्यो, “भुटानको राष्ट्रिय गान कसैलाई थाहा छ भने भनिदिनुस” । सार्है नै अप्ठेरो परेछ दाइलाई भन्ने सोचेर मैले गुगोलबाट खोजेर भित्तामा टास्दिएँ । अहिले किताब पढ्दा पो थाहा भयो त्यो उसले “एउटा शरणार्थी श्राप”मा राख्नको लागि खोजेको रहेछ । यतिबेला मलाई उसको अर्काे बानि पनि कवितासँग मिल्ने लाग्यो । उसले अरुहरू झैँ म रमेश सायन हो भनेर पोस्टर बोकेर हिडेको मलाई याद छैन । यो देशमा सामान्य साहित्य क्रममा लागेको मान्छेले म सायनलाई चिन्दिन भनेको पनि मलाई याद छैन । हो उसले केही कवितामा यस्तै बिज्ञापन बिधि अप्नाइदियो । कविताभन्दा बाहेक पनि शिर पुछारमा केही झुण्डाएको छ । “एउटा शरणार्थी श्राप” र “एक ब्रिद, रिटायर्ड अफिसर अर्थात फुर्सदको मान्छे“ यस्का उदाहरणहरू हुन् । सायन आफैमा लोहोरो जस्तो छ । उसलाई अरुका क्रिया प्रतिक्रियाले आफ्नो जीवनमा त्यति असर पर्दैन ।
ऊ धेरै पटक ज्वरो आएको बेला पनि पूर्व देखि पश्चिम पुगेको छ । तर ज्वरो चाँहि हाकिमको फोनमा मात्र आउथ्यो । अफिसमा जति सुकै महत्वपूर्ण काम छ भनोस उसलाई मतलब हुदैन । किताब भित्र एक ठाँउमा लोहोरो सायन देखियो तर उसको इन्ट्री जीवनमा जस्तो रमाइलो खाल्को भएन ऊ गम्भीर भएर बोलेको
“अँगेनामा लोहोरो पोल्न हालेको छ
यो नापाकुन्जेल रुँग्नु
र पाकेपछि अघाउन्जेल खानु”
(गाँउमा पेज ९ )
आमाले घरबाट फोन गरेको दिन उसले हाकिमलाई हजुर मेरो भगवान पनि भनिदिएको छ । किनकि उसलाई तलब छिटै चाहीएको थियो । सायद उसले त्यही पापको प्रयाश्चित गर्न कविता लेख्यो “हाकिम स्केच” । उसले एकपटक प्रेमिका भेट्न जाने बेलामा उसको ज्वरो फर्मुला फल्प खायो । कारण हाकिम उसँगै थियो । बेलुका आएर कविता लेखिदियो ।
“मालिकले भन्यो
ठिक छ
आज थुप्रै काम छ
सप्पै सक
र भोलि मर”
(जागिर १८)
उसले एकपटक मेरो लाइसेन्स हेरेर भनेको छ “भाइ तँ जन्मदा त मैले कविता लेख्न थालिसकेको रहेछुू ।”, “भनेपछि दाइलाई अंकल भनम त ?” मैले जिस्काउदै भनेँ । ऊ अलि गम्भीर भएर भन्यो, “ए हो त है म बुढो पो भएछु । तर धेरै काम गर्न बाँकी छ यार ।” त्यति बेला मृत्युको देशबाट छुटी आएको एक चिम्टी हावाले उसलाई छोएर गयो । उसलाई आफ्नो उमेर देखि डर लाग्यो । सायद धेरै जिम्मेवारीले किचे जस्तो अनुभव गर्याे । ऊ एउटा कवितामा यसरी नै हाजिर छ
“फूलहरू किन मभन्दा बुढा हुदैनन् ?
के फूलहरूले ऐना हेर्दैनन् ?
कि फूलहरूले जन्मदिन मनाउदैनन् ?”
(जन्मदिन र फूल १९)
दाइको घर चाहिं कता नि भन्ने मेरो प्रश्नमा उसले भनेको थियो । “भाइ मेरो घर छैन यार कुनै बा को कुनै दाइहरूको मात्र हो ।” सायद यही बेलाको सयन शास्त्रले किताब भित्र पनि एक ठाँउमा काम गर्याे । तर यसपाली पनि उसको इन्ट्री अर्कै हिसाबले भयो । उसले रेगीस्थानको पसिनाले कलम भर्याे । निमबाट रेगीस्थानकै ब्यथा बनेर शब्दहरू खसिदिए ।
“घरै नाभएपछि
शृंगारले पनि अनुहारलाई हेप्दोरहेछ”
“लिलाम २३”
प्रत्यक मान्छे आफ्नै जिन्दगीको माउते हो । हात्तीसँग आफ्नो शक्तिको भ्रम छ र नै माउते बाँचेको छ । जिन्दगी भित्र पनि थुप्रै भ्रमहरु छन् र त हामी बाँचेका छौं । सायन भित्र पनि थुप्रै भ्रमहरू छन् । ऊ बिराटनगर हिडेको मान्छे बेला बखत भ्रमले नै पोखरा आइपुग्छ । तलब पाएको दिन उसले कहिलेकाहीं थारु भिलेज रिजभ पनि गरिदिन्छ ।
“हात्तिको भ्रमजस्तै कम्तीमा महिनाको एकदिन
मसँग पनि हुन्छ
धनी भएको भ्रम”
(माउते २५)
हरेक मान्छे भित्र दुइ मान्छे हुन्छ । एउटा देखाउने मान्छे एउटा लुकाउने मान्छे । ऊ पनि दुई वटा मोडमा आफूलाई चलाउछ । एउटा मोड १ अर्काे मोड ० । उसको मोड १ धेरै देखेको छु मैले, जहाँबाट सुख, हाँसो, रमाइलो आदि इत्यादि निस्कन्छन् । ठिक बिपरित चल्ने मोड ० कम देखेको छु । उसले खुब लुकाउन खोज्छ मोड ० । हामीसँग जति नै लुकाए पनि उसले कवितामा भने यो कुरा लुकाउन सकेन । उसले तितो यथार्थलाई पेंटिंग गरेर राखिदियो ।
“संसारको सबैभन्दा बढी प्रेम बोक्ने मेरा बालाई
म कसरी भनौं
टेस्ट्युबमा जन्मने हाम्रो सन्तान
आमाजस्तो बनाउने कि बाउ जस्तो बनाउने भन्ने झगडामा
भर्खरै मेरी श्रीमतीसँग सम्बन्ध बिछोड भएको कुरा”
(समय अन्तर ३८)
आजकाल ऊ साहित्यभन्दा बढी धार्मिक दर्शनका किताब पढी बस्छ । सायद त्यसैले पनि उसले मान्छेको जीवनलाई मान्छेबाट हिंडेर मान्छेसम्म पुग्ने बाटो भनेको छ । ऊ भगवान र आमा माथि बराबर आस्था राख्छ । प्रेमिकालाई माया गर्छ । देशलाई सम्मान गर्छ । धेरै कविताहरू हुबहु उसको अनुहारसँग मिल्दो जुल्दो छन् । केही कविताहरू छन् जो उसको अनुहारसँग मिल्दैनन् । उसका सन्तानजस्ता पनि छैनन् । सायद उसले व्यवशायिक बाध्यता बुझेर किताबको पेज बढाउन यो हर्कत गर्याे । तर नगरिदिएको भए धेरै राम्रो हुन्थ्यो । उसको “हाकिम स्केच” पाँच पटक पढें कतैबाट पनि सायन जस्तो छैन । यो त हाकिम जस्तो छ । मेण्डलको नियम अनुसार पनि सन्तानमा सबै गुण बा आमाको मात्र हुदैन । भित्र लुकेर बशेको हजुरबा जीवा को गुण पनि केही हदसम्म आउछ । सायद उसको सन्तानमा पनि त्यस्तै भयो । केही ठाउमा उसले आफूलाई ओछ्याएर कवितालाई आफू माथि हिडाएको छ । मन्त्र जस्ता छन् कविताका लाइनहरू ।
“आमा पत्रमा पठाउनुहुन्छ
आफ्ना चोखा इन्द्रीय
र मेरै लाटो चेतना ”
(आमाको देश ५३)
“तैले पठाएको पैसाले चाउचाउ किनी खान्छु
मंशिरमा त्यही खेतमा
तैले धान झारेको सपना देख्छु”
(आमाको देश ५४)
“यसरी मैले केही नचोरी बाँचिरहदा
समयले मैलाई चोरेर हिँडिसकेछ ।”
(चोर ६१)
उसले आजसम्म अरुले ख्वाएको रक्सी बामिट हुनेगरी खाएको छैन । त्यसकारण पनि उसको कवितामा रक्सीको गन्ध छैन । अरु कसैको नामको बमिटका छिटाहरू पनि कवितामा परेको छैन । कहिले ऊ कवितामाथि हिड्छ कहिले ऊ माथि कविता हिड्छ । ऊ सिंगो कविता जीवन बाँचेको छ । दिनभरि कालो बाटो हिडेर बेलुका जबर्जस्ती कवितामा आदर्श वकल्ने यो सहरका धेरै कविभन्दा ऊ फरक छ । सम्पादनको नाउमा आफ्नो श्रीमती छोरा छोरी पाउन अरुलाई नै पठाउने धेरै साहित्यकारभन्दा पनि फरक छ । सायनले भन्दा राम्रो सन्तान जन्माउने सहरमा धेरै होलान तर उनीहरू धेरैका सन्तानमा उनीहरूको व्यक्तिगतभन्दा बढी सामुहिक विर्यको प्रभाव छ । देवकोटा थिए, चुरोट खान नपाउदा चुरोटको कविता लेखे । दुनियाँले पागल भन्यो पागलको कविता लेखे । मैले सयनाको कवितालाई देवकोटाको कवितासँग तुलना गर्न खोजेको होइन । केवल कविता भित्र बाँच्ने तरिकाको तुलना गरेको हुँ । सायन अहिले यो देशमा छैन । यतिबेला मलाई उसको एउटा कविताको स्टेन्जले खुब हिर्काउछ ।
“आफ्नै आयतनमा नअटाएपछि
हिंडेको हुँ हतारको म्याराथुन
च्यातेर तमाम सिलसिलाहरू
नाघेर आफ्नै सीमानाको परिधि”
(एक बृद् रिटार्ड अफिसर... ३१)
सायद अब त उसले उताको भाषा पनि धेरै जानी सक्यो होला । उतैको भाषामा जोक पनि बनाइसक्यो होला । कविता चाँहि लेख्न भ्याएको छैन कि ? मलाई उसले जाने जस्तै उसका कविताहरूलाई पनि अरु भाषा सिकाउन मन छ । मैले माथि उल्लेख नगरेका उसका केही प्रतिनीधि कविताहरू छन् । “नाम धनीमाया थारु वर्षा चौरासी”, “आइसक्रिम जिन्दगी” जस्ता मैले छुटाएका कविताहरू शसक्त छन् । यी कविताहरूको बारेमा म नबोल्नुको कारण ऊ आफै बोलेको छ किताबको अन्तिममा । उसले अन्तिममा एउटा लामो कविता लेखेको छ “कविताको किनारमा” । त्यो उसको कविताको पनि कविता हो त्यहाँ उसले लेखेको छ मैले छुटाएको कुरा । उसले भनेको छ, “मलाई यो भूगोलभारी धकेलिरहने शक्ति कविता हो ।” सायद यो संग्रह निकालेपछि उसको कवितामा अलि धेरै नै बल थपिएछ कि उसलाई धकेलेर अर्कै भूगोलमा पुर्याइदियो । ऊ जुन भूगोलमा पुगे पनि कविताको देशलाई नाभुलोस् मेरो शुभकामना ।
पोखरा