अँ त, मिति तोकेरै भन्ने हो भने २०२९ साल असोज ९ गते आइतबार ।
अघिल्ला साताहरूमा जस्तै असोज ७ गते शुक्रबारका दिन पनि स्कुल बिदा भएपछि बाटो लागेर बेलुका घर आइपुगेको थिएँ म । र पर्सिपल्ट ९ गते आइतबारका दिन बिहान ७ बजे घरबाट निस्केको थिएँ देब्रे कुममा झोला झुन्ड्याएर र दाहिने हातले बाँसको डन्डीवाल छाता ओढेर तीनकोस टाढाको जागिर भ्याउन जान ।
हजुर, जम्माजम्मी सवा महिना भएको थियो मैले उमजन गाउँको ‘जनता हाई स्कुल’ मा माध्यमिक शिक्षक बनेर पढाउन थालेको । बारा जिल्लाको सदरमुकाम कलैयादेखि तीन कोस जति उत्तरपूर्वमा पर्छ त्यो ‘उमजन’ नाउँको थारू गाउँ । घरबाट नभ्याइने भएकाले उहीँ डेरा गरी बस्ने गरेको थिएँँ । संस्कृतमा आचार्य (स्नातकोत्तर) प्रथम वर्षको परीक्षा दिएर घरव्यवहार चलाउने सन्दर्भमा बूढा बाबालाई सघाउने विचारले जागिरमा अल्झेको थिएँ म । जीवनको पहिलो जागिर थियो त्यो मेरो । कल्कलाउँदो नवयुृवा थिएँ, भदौ ४ गते भर्खर बीस वर्ष पुगेको । बिहेको सुरसार भइसकेको थिएन । घरमा बूढाबूढी बाबाआमा र स–साना भाइबहिनी थिए ।
हरेक शुक्रबार दिउँसो डेढ बजे स्कुल छुटेपछि मरीमरी हिँडेर सिसवा, लौतन, जोकाहा, गालोपट्टी, बजनी, बिजुलपुर, रामपुर आदि अनेक गाउँहरू नाघेर र तिनका बीचबीचमा पर्ने थलही, पसाहा, टेङ्डहर जस्ता नदीहरू अनि नदीजस्तै आकार–प्रकारका जोकाहापैनी आदि अनेक कुला–पैनीहरू तरेर र एक गाउँदेखि अर्को गाउँबीचका पट्यारलाग्दा लम्बेतान एकलासे खेतफाँट पार गरेर कलैयाको बारा जिल्ला अदालत, जिल्ला पञ्चायत कार्यालय, मालपोत कार्यालय, गुप्ता चलचित्र मन्दिर र कलैयाबजारसमेत नाघी भवानीपुरटोलको आफ्नो घर आइपुग्थेँ । अनि दुई रात–एक दिनको रमाइलो घरबसाइपछि आइतबार फेरि एकाबिहानै कुद्थेँ झोला भिरेर त्यही पट्यारलाग्दो बाटो गरी उनैउनै गाउँबस्ती, उनैउनै नदी र पैनीहरू अनि उनैउनै खेतफाँट हुँदै ।
अस्ति दिउँसो स्कुलबाट घरको बाटो लाग्दादेखि नै आकाशमा डम्म छाएको थियो कालो बादल । त्यो हिजो शनिबार पनि दिनभरि नै उसै गरी छाइरह्यो अनि रातभरि नै दररररर दक्र्यो दर्केपानी ।
“शुक्रबार की बादरी रहे शनिश्चर छाय
कहे घाघ— सुन घाघनी ! बिन बरसे नहीँ जाय”
अर्थात् शुक्रबारका दिन लागेको बादल शनिबार पनि दिनभरि उसैगरी लागिराख्यो भने त्यो नबर्सिकन बिदा हुँदैन ।
उत्तरी भारतका ‘घाघ’ नाम गरेका एक धुरन्धर मौसमविज्ञानीले आफ्नी पत्नीलाई सम्बोधन गर्दै कुनै जुगमा भनेको यो अनुभवसिद्ध भनाइ किन वृथा हुन्थ्यो ?
आइतबार बिहान ढिलो गरी पानी थामिएपछि बल्ल मैले यात्राका लागि पाइला सार्न पाएको थिएँ ।
घरबाट बाटो लागेपछि क्रमशः भवानीपुर गाउँ नाघेँ । कलैयाबजार नाघेँ । गुप्ता चलचित्र मन्दिर, मालपोत कार्यालय, जिल्ला पञ्चायत, अदालत, टेङ्डहरको पुल सबै पार गरेँ । त्यहाँदेखि अलिक पूर्व बिजुलपुर गाउँको मुखमा पुगेपछि त्यस कच्ची वा धुले सडकको दायाँतिर रहेको छतिवनको ठूलो छायादार रुखको फेदनेरबाट पूर्व गन्जभवानीपुरतिर जाने मूलसडकसित बिदा लिएर त्यहीँदेखि फनक्कै्र बायाँतिर माेिडएको रामपुर गाउँको उत्तरी टोलातर्फ सोझिएँ म । अनि त्यस गाउँलाई पनि नमस्कार गरेर झरेँ पूर्वपट्टि डिलैमुन्तिर रहेको पसाहा खोलाको फराकिलो बगरमा ।
घरदेखि त्यहाँसम्मको बाटो हिलैहिलो थियो भने खोलाको बलौटे बगर पनि ओभानो थिएन । बालुवाको साम्राज्यबाहिरको नजिकको घाँसे चउर पनि पानीले ल्याप्mल्याप्mती भिजेको थियो । महिनाका हिसाबले शरद् ऋतु लागिसकेको भए पनि मौसमका हिसाबले वर्षा ऋतुको प्रभाव अझै बाँकी रहेकोले गज्गज हिलोेले गर्दा घरदेखि त्यहाँसम्मको एक घन्टाको बाटो पनि मैले त्यसरी दुई घन्टामा बल्ल छिचोलेकोे थिएँ । बिहानबिहानै खानेकुरा नखोज्ने मात्र होइन, पाउँदा पनि अस्वीकार गर्ने मेरो पेट दुई घन्टाको हिले बाटोको लखतरान पार्ने हिँडाइका कारणले भोकाइसकेको थियो । त्यसो हँुदा अब मैले त्यहीँ त्यसको औषधी गर्ने सुर कसेँ । औषधी साथको झोलाभित्रै थियो बाहिर कतै खोज्न जानै पर्दैनथ्यो । आमाले बिहानै आफ्नै गाईको घिउ मनग्गे हालेर एक माना चामलको चाम्रे पकाइवरी झोलामा राखिदिनुभएको थियो बाटोलाई खाजा भनेर । अनि साथमा राखिदिनुभएको थियो लगत्तै बारीबाट टिपेर एउटा सलक्क परेको हरियो घोर्ले काँक्रो पनि । र, वात्सल्यले लफक्कै भिजेको निर्देशन दिनुभएको थियो— “बेलैमा कतै राम्रो पानी भएको ठाउँमा बसेर खानू है बाबू !”
दस बज्दा स्कुल पुगिसक्नुपर्ने मान्छे, यहाँ भने एक तिहाइ बाटो नाघ्दा नै नौ बजिसकेको थियो । नजिकै केही पाइला अघिल्तिर थियो पसाहा खोला । म मनमनै डराइराखेको थिएँ रातभरिको अनवरत दर्के पानीले खोला निकै बढेको होला भनेर तर नजिकै पुगेपछि त्यसको रूप सोचेभन्दा निकै सामान्य देखियो । खोलाको पानी धमिलो भए पनि मेरो मन खुसीले सङ्लो भयो । एकातिर बर्खामासको खोला, अर्कोतिर भोकको ज्वाला । कसलाई प्राथमिकता दिनु मैले ? ‘अघाएको भन्छ— पारितीरमा खाऊँ, भोको भन्छ— वारितीरमा खाऊँ’ भन्ने त हाम्रो नेपालीमा भनाइ नै छ । म भोको थिएँ र एक्लो थिएँ । मैले सल्लाह गर्नलाई न त अर्को कोही मान्छे थियो र न मसँग पारि गएर खाने धैर्य नै थियो । त्यसैले म पारि गएर खाने सोचाइ बनाउनतिर पनि लागिन र पानी भएको ठाउँ खोज्नतिर पनि लागिन ।
बाटैछेउ खोलाको प्रवाहभन्दा केही वर बलौटे बगरमै कतै अलिकति घाँसले ढाकेको ठाउँ हेरेर झोला बिसाएँ । अनि छाता र रबडको जुत्तालाई आसनी बनाएर बसेँ र झोला खोली झिकेँ पोकोबाट चाम्रे । आहा ! एक त भोकको झोक त्यसमाथि घिउले चपचप भएको खरो अमृततुल्य नाउँअनुसारकै चाम्रो चाम्रे । तर, साथमा रसिलो कुरा पनि भएको भए पो ! सुख्खा चाम्रे मात्र के गरी निलियोस् ! दुई गाँस जसोतसो निले पनि तेस्रो गाँस भने अड्केर, गला लागेर निलिनै मानेन । किक्ककिक्क हुन थाल्यो तारन्तार । मैले अड्किएको गाँसलाई निल्न र गलाको अवरोध हटाउन उतिबेलै कञ्चन पानी कहाँ पाउनु त्यहाँ ? साथमा पानीको भाँडो लिएर हिँड्ने बानी थिएन । बाटो लाग्दै गर्दा जहाँ जुन ठाउँमा कल्धारो वा इनार भेटिन्छ त्यहीँ तिर्खा मेटेर अघि बढिन्थ्यो । अहिले यहाँ खोलाको बगरमा मैले कल्धारो वा इनारको दर्शन नै कहाँ पाउनु ! ती त मैले अघि भर्खरै छोडेर आएको रामपुर गाउँमा वा खोलापारिको गालोपट्टी–बजनी गाउँमा थिए र म चाहिँ थिएँ तीभन्दा टाढा बीच फाँटमा खोलाकोे बगरमा ।
अँ त, नजिकै सिङ्गै खोला नै बग्दै थियो तर बर्खामासको खोलाको धमिलो पानी खाने कुृरै भएन, त्यसैले म पानीले भरिभराउ भएको खोलाको तीरमै भएर पनि प्याकप्याक हुँदै काकाकुलको नियति भोग्न बाध्य थिएँ । हरे कस्तो विडम्बना ! कत्ति कोसिस गरेँ चाम्रेका केही गाँस निलेर भोक मार्न तर त्यो कसै गरी पनि सम्भव नै देखिएन । भोक मार्न खोज्दा बरु उल्टै आपैm मर्ने स्थिति पो आइलाग्यो । त्यसपछि पानीको काम लिन हत्तपत्त काँक्रो क¥याम्म टोकेर चपाएँ, तर त्यसले पनि मेरो गलाको अड्कोलाई फुकाउन सकेन । पीडाले गहभरि आँसु पलाएर आयो । त्यहाँ त्यसै अवस्थामा बसिराख्नुको औचित्य पनि थिएन । पुरेत्याइँ पुर्खौली पेसा भएको कट्टर बाहुनको छोरो भएकोले जूठो हालिसकेको त्यो चाम्रे ‘पछि खाउँला’ भनेर फेरि पोको पारेर बोक्ने कुरै भएन । संस्कार नै त्यस्तै थियो । त्यसैले, त्यसपछि मैले अघिल्तिर फिँजाइएको त्यस पोकोलाई अग्घोर मायाँ लाग्दा लाग्दै पनि मन मारेर त्यत्तिकै त्यही ठाउँमा घोप्ट्याएँ र चउरभरि छरिदिएँ अमृत– भोजन चाम्रेको सितासिता । अनि काँक्रो पनि हुत्याइदिएँ एकातिर र उसैगरी किक्ककिक्ककै स्थितिमा अघि बढेँ ।
घाटको बाटो पछ्याएर खोलाको पानीमा हेलिई दुई–चार पाइला मात्र के अघि बढेको थिएँ लगत्तै उत्तरतिरबाट ‘स्वाइँय्य...’गर्दै केही सुसाएको अनिष्टकारी आवाज आयो । छक्क पर्दै र मुटु ढुकढुकाउँदै उतातिर यसो हेरेको त मेरी आमै ! सिरानतिरबाट गड्गडाउँदै आँधीहुरीको वेगमा विकराल भेल पो आउँदै रहेछ खोलामा । मेरो र त्यस हन्तकाली राक्षसका बीचको फरक चाहिँ जम्माजम्मी डेढ–दुई सय मिटर मात्र । उफ्...! अब त सातोपुत्लै पो उड्यो मेरो । अत्यासले आँखा अचानक छल्छलाएर आए । क्वाँ...क्वा... डाँको छाडेर रुन मन लाग्यो । बेतोडले चिच्याएर कसैसँग गुहार माग्न मन लाग्यो । तर, ती दुवै कुराको कुनै अर्थ र औचित्य थिएन त्यहाँ किनभने त्यता छेउछाउमा कुनै मान्छे नै थिएन र हुँदो हो भने पनि बाढीको त्यस विभीषिकाको वायुवेगलाई लोप्पा खुवाएर त्यहीँ त्रिशङ्कु बनाइदिई मेरो उद्धार गर्ने सर्वशक्तिमान्को अवतारका रूपमा त ऊ प्रकट हुन सक्ने नै थिएन । त्यसैले अब मैले बाँच्ने आशा त्यागेँ । तैपनि, जसोतसो धैर्य र संयमले चाहिँ साथ छोडिहालेनन् र म ‘न्वारानदेखिको बल’ भनिने खालको बल झिकेर बेतोडले कुदेँ अघिअघि छाप्लाङछुप्लुङ गर्दै । र, कुन सड्को कुन सड्को एकैचोटि पारि किनारमा पाइला टेक्न पुगेँ । मैले किनारमा झ्वाट्ट टेक्नासाथ त्यो बाढीको पिशाच पनि ‘लौ आजलाई बाँचिस् !’ भनेर दुःखमनाउको भाकामा मलाई चेताएर कुर्लँदै ह्वात्त मेरो छेवैबाट रन्किएर गयो । बाबै नि ! खङ्ग्रङ्ग भएँ म । लल्याकलुलुक भएँ म ।
जीवनमा एक्लाएक्लै यस्ता अनेक खोला कतिकति चोटि तरिसकेको थिएँ मैले, त्यही पसाहाखोला पनि अन्तअन्तका कैयौँ घाटमा अनि यही नै घाटमा पनि बारम्बार तरिसकेको थिएँ तर आज अहिलेको जस्तो ज्यानमारा रूप मैले कहिल्यै देख्नुपरेको थिएन कुनै पनि खोलाको । यस्तो जिउ नै सिरिङ्ग हुने त्रासद र मर्मान्तक अनुभूतिको अवसरसित साक्षात्कार कहिल्यै भएको थिएन । बर्खामासको पहाडी खोलो न हो यो, यसको के भर ? भन्ने मर्म बुझ्दा बुझ्दै पनि अघि खाजा खाने लोभलाई केही छिन थुम्थुम्याएर हतारहतार पहिले खोलो नै तर्ने बुद्धि आफूलाई नआएकोमा घनघोर पछुतो भयो । खोलो तर्न अझ एकै मिनेट पनि ढिलो गरेको भए त्यसको परिणाम के हुन्थ्यो ? हरे ! पक्कै पनि खोलाको बीच धारबाट मलाई बाढीले लफन्ड्याउँदै, हुत्याउँदै लगी बेपत्ता तुल्याउने थियो आज भन्ने सम्झँदा मात्र पनि मन त्यसै त्यसै भरी भएर भक्कानिन थाल्यो । त्यसरी अत्तो न पत्तोसित खोलामा हेलिनुभन्दा बरु थकाइ मार्न वा खान खर्चेको समय अलिकति अभैm ढिलो गरेको भए हुने रहेछ नि । त्यसो गर्दा बाढी मत्थर हुने साइत कुर्दैमा दिन बित्ने थियो त्यति न हो ? तर त्यसले के नै बिग्रन्थ्यो र ? स्कुलमा एक दिन बिदा लिनुपर्ने मात्र त हुन्थ्यो नि ! अनि फेरि जे खानको लागि खोलातराइलाई मैले प्राथमिकता दिइन, आखिर त्यही खाने कुरा पनि त कहाँ खान पाए र ! भन्ने बुद्धि त अहिले पो आयो खप्परमा, ज्यान हत्केलामा राखेर खोलापारि आइपुगेपछि ।
यसरी सम्भाव्य दुर्घटनाबाट कुनै तरह जोगिएपछि त्यस अल्लारे पाराका निम्ति आफूले आफैलाई हप्काउँदै डिलमाथि उक्लेर खोलाको भेलबाढीको विनाशकारी भावभङ्गिमालाई आँखै झिम्म नगरी हेर्दै भर्खर एकै छिनअघि मात्र आफ्नो जीवनमा कुनै दुच्छर सपनाजस्तो गरी आएको त्यस क्षणलाई झलझली सम्झेँ, केही बेर सुस्ताएँ । त्यसपछि गालोपट्टी–बजनी गाउँलाई दक्षिणतिरबाट फेरो मारेर गएको सडकलाई छोडी त्यस गाउँलाई बीचैबाट छिचोलेर दुवैतिर टन्न धानका बाला पसाइरहेका खेत–फाँटको बीचैबीच सिउँदो चिरिएझैँ गरी पूर्वतिर सोझिएको अग्लो आलीआलीको छोटो बाटो समातेर अघि बढेँ ।
फाँटको बीचतिर पुगेपछि खै के भएर हो म केही समयका लागि आत्मविस्मृत हुन पुगेछु समाधिमग्न सिद्धझैँ । छ्याङ्ग भएपछि पछाडि फर्केर हेर्दा थाहा भयो— लौ म त दुई–अढाई सय मिटर बाटो बेहोसीमै पो हिँडेछु । आपैmलाई अनौठो लाग्यो । छक्कै परेँ म । अनि त्यसरी छक्क पर्दानपर्दै फेरि पनि हराएछु र बेहोसीमै हिँडेछु लगभग त्यसको दोब्बरी नै बाटो ।
पूर्व–पश्चिम लम्बिएको मूलबाटोलाई बीचैमा स्वाट्ट काटेर उत्तरबाट दक्षिणतिर बगेको खोलाकै आकारको ‘जोकाहापैनी’ भनिने ठूलो कुलाको छेउमा पुगेर फेरि मूलसडकमा मिसिनपुग्थ्यो त्योे आलीको बाटो । जोकाहामा पैनीपारि अलि अग्लो टारीजस्तो भूभागमा आँपका केही रुखहरू थिए झ्याम्म परेका र बाली कुर्न सजिलोको लागि एक–दुइवटा छाप्रो–आकारका घर पनि थिए सम्बन्धित खेतीवालका । तिनका बस्ने घर चाहिँे लौतनगाउँमा हुँदा हुन् । जोकाहाबाट आधा कोस जति पूर्वतर्पm बाटाको देब्रे किनारमा आँपको ठूलो बगैँचा लमतन्न परेको थियो र दाहिनेकिनारतिर उस्तै लमतन्न परेका र लटरम्मै धान पसाएका खेतहरू थिए । पूर्वैपूर्व लागेर तिनलाई छिचोलेपछि आइपुग्थ्यो लौतनगाउँ । त्यसको केही उत्तरतर्पm पर्दथे करैया र हरैया नाउँका प्रसिद्ध थारूगाउँहरू । तर, गालोपट्टी–बजनी गाउँदेखि लौतनगाउँको बीचको एक कोस जतिको अन्तरालमा भने कुनै गाउँ नै थिएन । थियो त खालि उही आँखाले भेटुन्जेलको पट्यारलाग्दो एक्लासे विशाल पाँतर (फाँट) मात्र ।
जोकाहापैनी नपुग्दै आलीको बाटो टुङ्गिएर फराकिलो सडकमा पाइला परेसँगै फेरि झल्याँस्स भएँ र फेरि छक्क परेँ— ओहो म त फेरि अघिभन्दा पनि अभैm बढी बेरसम्म बेहोसीमै यात्रारत भएछु तर बाटो भने फेरि पनि ठ्याम्मै बिरिएकै पो रहेनछ । मलाई शारीरिक बिसन्चो वा कमजोरी वा त्यस्तो कुनै असहज अनुभव पटक्कै भएकै छैन अनि कसरी के भएको त यो ? यो स्थिति सामान्य होइन भन्ने लागेर अब भने म आपैmप्रति केही सशङ्कित पनि भएँ । त्यसपछि ?
“हो भाइ, उठ । देख त देहमे केतना कादोपानी लागल बा, जम्मे जामा भिज गइल बा । का भइल तोहरा हो ? बेमार बाड का ?” (ए दाजु÷भाइ, उठ । हेर त, जिउमा कस्तरी हिलोपानी लागेको छ ! लुगा जति जम्मै निथ्रुक्कै भिजेको छ । तिमीलाई के भयो हँ ? बिरामी पो छौ कि कसो ?)
अचानक मेरा कानमा भोजपुरी भाषाका यी वाक्यहरू गुन्जिए नारीस्वरमा । र, तिनै वाक्यले म झसङ्ग भएर तर्सँदै–चिच्याउँदै ब्यूँझेँ । कसको थियो त्यो स्वर ? कहाँ थिएँ म ? कुन स्थितिमा थिएँ म ? ब्यूँझेर वरिपरि आँखा डुलाउँदा त मेरी आम्मै ! मलाई भोजपुरीभाषी दुईवटी ग्रामीण महिलाहरू कुममा झक्झक्याएर बोलाउँदै र उठाउँदै पो रहेछन् । तिनकै मायालु स्वर र घच्घच्याइले ब्यूँझेको रहेछु म । त्यसरी ब्यूँझँदा म झन् घनघोर आश्चर्यमा परेँ । उनीहरूजस्तै अरू पनि थुप्रै महिला र बच्चाबच्चीहरू झुरुम्मै परेर मलाई घेरी उभिएका रहेछन् त्यो हिलेपानी भरिएको धानखेतमा र देब्रेतिरको बाटोमा पनि कैयौँ नारी र केटाकेटीहरू उभिएर हेर्दै रहेछन् मलाई । ओहो ! म त बाटोभन्दा दायाँ बाटोको मुन्तिरपट्टि घुँडाघुँडासम्म टम्म पानी भरिएको धानखेतमा पो इन्तु न चिन्तु भएर लडेको रहेछु । चुर्लुम्मै डुबेको रहेछु हिलेपानीमा । जिउ थरथर कामिरहेको रहेछ । त्यसपछि त आङै सिरिङ्ग भयो मेरो र पाइतालादेखि टाउकोसम्मै सर्वाङ्गका रौ–रौँ जुरुङ्ग भए । हातको छाता खेतमा एकातिर मिल्किएको रहेछ, कुमको झोला अर्कोतिर र गोडाको जुत्ता अझ अर्कोतिर । जिउमा ज्वरो पनि आएको रहेछ हन्हनीसित । सम्पूर्ण शरीर नै थाहा न पत्तोसित पानीमा मिल्किएपछि त्यसमा लगाइराखेका लुगा ओभानो रहने त कुनै कुरै भएन । ती पनि हिलोपानीमा भिजेर जिउसितै मजाले ढाडिएका रहेछन् ।
मैले अर्धबेहोसी अवस्थामै कसै गरी उनीहरूलाई उनीहरूकै भाषामा आफ्नो परिचय दिएर स्थितिबारे बताएँ — “म उमजन हाइ स्कुलमा नेपाली पढाउने मास्टर हुँ । घर कलैया हो । स्कुल भ्याउन भनेर बिहानै घरबाट हिँडेको हुँ, गालोपट्टी–बजनी नाघेपछि आफूलाई अलि सन्चो नभएको सम्झन्छु अरू कुरा मलाई केही पनि थाहा छैन । यो कुन गाउँ ठाउँ हो र म कसरी यहाँसम्म आइपुगेँ, कसरी के भएर यहाँ लडेर बेहोस हुन पुगेँ, अहिले कति बज्यो ? अँहँ, मलाई केही कुरा पनि थाहा छैन ।” यो सुनेपछि उनीहरूले लागिमेली गरेर मलाई जुरुक्क उचालेर बाटोमाथि लेराए । कसैले मेरा छाता, जुत्ता र झोला टिपेर ल्याइदिए । उनीहरूबाट थाहा पाएअनुसार म लौतन गाउँको मुखैमा आइपुगेको रहेछु र धानखेतमा त्यसरी इन्तु न चिन्तुसित लडेको रहेछु । आँपको बगैँचातिर खेल्न आएका गाउँका स–साना भुराभुरीले त्यो देखेर हुर्रिँदै गाउँमा गएर हल्लीखल्ली गरेकाले उनीहरू अचम्म मान्दै हेर्न आएका रहेछन् ।
आपूmबारेको यो सारा विवरण थाहा पाएर र वरिपरिको परिवेशमा आँखा डुलाएर हेर्दा साँच्चै नजिकै पूर्वतिर एउटा ठूलो गाउँ, त्यसको मुखैमा देबे्रतिर लमतन्न परेको ठूलो आँपघारी, त्यसको दाहिने किनारमा पूर्व–पश्चिम सोझिएको बाटो र बाटाकोे दाहिनेपट्टि मुन्तिर घुँडाघुँडासम्म डुब्ने पानी र हिलोले ढाकिएको धानखेत । ती सबै दृश्यलाई देखेपछि झन् चकित परेँ म । ओहो साँच्चै लौतन गाउँकै मुखमा आइपुगेको रहेछु म त ! कसरी आइपुगेँ म यहाँसम्म ? मलाई त गालोपट्टि–बजनी गाउँदेखि जोकाहा पैनीको बीचमा पर्ने फाँटसम्म आइपुगेको मात्र झल्याकझुलुक सम्झना छ । अनि त्यहाँभन्दा यता कसरी के भयो ? कसरी जोकाहा पैनी तरेँ ? र कसरी यो लौतन गाउँको मुखसम्म आइपुगेँ ? अनि कसरी के भएर म धानखेतको हिलेपानीमा लड्न पुगेँ र कति बेरसम्म यहाँ त्यसरी इन्तु न चिन्तु भएर लडिरहेँ ? मलाई ती सबै घटना–प्रसङ्गबारे बन्दै केही पनि सम्झना नै थिएन र सम्झन जति बल गरे पनि अँहँ, मैले सम्झनै सकिन । नाडीको टाइटन घडीलाई पुछपाछ पारेर हेर्दा त्यो धुकधुक चल्दै रहेछ र अहिले पौने एघार बजेको रहेछ ।
अब मेरो शरीरको भित्री अवस्था र बाहिरी हुलियाले गर्दा म, म नै थिइन । मानौँ म त महिनौँ र बर्सौदेखि एकनासको हन्हने ज्वरोले थङ्थङिएको र ब्रेन ह्यामरेज नै होला जस्तो गरी खप्पर दुखेको दुख्यै हुने एउटा जीर्ण रोगी थिएँ, वा सम्पूर्ण रूपमा सुद्दी गुमाएको अर्धसिल्ली, बहुला, बहुरूपी थिएँ, वा लत्तो छाडेर इज्जतलाई जिउँदै तिलाञ्जली दिई चौबीसै घण्टा मात्तिएको मात्तिएकै हुने एक नम्बरको लट्ठक जँड्याहा थिएँ ।
लगाएको धोती र कमेजसहित शिरदेखि पाउसम्मै सर्वाङ्ग हिलो–पानीले नुहाएको वा अझ भनौँ हिले दहमा आहाल बसेर आएजस्तो स्वरूप लिएर उसैगरी जुत्ता, छाता र झोलालाई यथायथा स्थानमा भिरी लौतनगाउँ नाउँको त्यस सानो स्वर्गका देवी माताहरूलाई हृदयको गहिराइदेखिको भएभरिको श्रद्धा अर्पण गरेर अभिवादन गर्दै बाटो लागेँ म । ती बिचरीहरूले कुनै जँड्याहा लडेको धन्न ठानिदिएनछन् । नत्र त्यस्तो ठानेर बेवास्ता गरिदिएको भए झन् के पो हुन्थ्यो होला मेरो गति ? सौहार्द, सद्भाव, सौजन्य, सेवा र सञ्जीवनीका जीवन्त प्रतिमूत्ति ती ममतामयी देवीहरूप्रति आभार प्रकट गर्न मसित शब्द नै थिएन ।
साढे छ वर्षे उमेरदेखिको आफ्नो अतीत अनायास झल्मलाएर आयो मेरो आँखामा ।
पुख्र्यौली पेसा जजमानी हुनाको कारणले म सानै उमेरदेखि बाबालाई सघाउन कलैया–भवानीपुरको आफ्नो घरबाट कोसौँ टाढा अनेक दिशाका अनेक गाउँहरू चहारिरहन बाध्य थिएँ । मेरो जजमानी–क्षेत्रअन्तर्गत पर्ने एक गाउँदेखि अर्को गाउँका बीचमा कतै लामालामा पट्यारलाग्दा फाँट पर्थे, कतै अत्यासलाग्दा वनबुट्यान त कतै कहालीलाग्दा खोला–खोल्सा । तर पनि, नहिँडी धरै थिएन, पापी पेटको सबाल थियो नि त । र अहिले जागिरे हुँदा पनि मेरो त्यो बाध्यात्मक एक्लो हिँडाइको अन्त्य भएन । एक्लैएक्लै हिँड्नुपर्ने यस्तै परिस्थितिले पन्ध्र–सोह«वर्षे उमेरदेखि नै मलाई कम्ती गोता खुवाएको छैन । विकट पहाडको भीरबाट गुल्टेर हात भाँचिएन कि, ठाडो खोलाले लफन्ड्याएन कि, मधेसको अनकन्टारका पाँतर (कोसौँ लामो एक्लासे फाँट) मा पथरा परिन कि, बकैया र बाग्मती नदीका डरलाग्दा भासमा कम्मरकम्मरसम्म गाडिइन कि, अनेकपल्ट अनेक ठाउँमा दिउँसै भूत–प्रेतसित जम्का भेट भएन कि, बाबै ! अनि आज चाहिँ फेरि यसरी त्यत्रो बाटो बेहोसीमै हिँडाउँदै ल्याएर यहाँ एक्लासे धानखेतको हिलेपानीमा पछारेर इन्तु न चिन्तु पारिदियो । उप्m...! र मैले मनमनै त्यहीँ किरिया हालेँ अब चाहिँ म ज्यान गए पनि एक्लै यात्रा गर्ने छैन ।
तर, त्यो त पछिको कुरा हो । अब ? अहिले चाहिँ के गर्ने नि ? कसरी पुग्ने स्कुलसम्म ?
अघिसम्मको जम्माजम्मी चालिस किलो जतिको आफ्नो ज्यान अहिले मलाई चालिस क्विन्टल जतिको लाग्दै थियो । त्यसै गरी टाउको मात्रै पनि चन्दागिरी वा फुल्चोकी जत्रो भएको थियो र खुट्टामा बाँधिएको थियो महाभारत र चुरेपर्वत–शृङ्खला । त्यस्तो अवस्थामै पनि फेरि आफ्नो गन्तव्यतिरको बाटो लागेँ म । नलागेर धरै थिएन अनि गर्थेँ नै के त ? स्कुल पुग्नलाई एक कोस बाटो अभैm ज्यूँदै थियो नि त । त्यो गाउँ र उमजन गाउँका बीचमा एउटा अर्को गाउँ पथ्र्यो — ‘सिसवा’ र ती दुवैका बीचमा पनि निर्जन फाँट पर्थे । अनि लौतन र सिसवा यी दुई गाउँ बीचको एकलासे फाँटमा पथ्र्यो हिलो र भासको खानीकै रूपमा रहेको गहिरो र डोल परेको, बाहिरबाट हेर्दा नपत्याउने पाराको तर भित्रभित्र चाहिँ ज्यानमारा स्वभावको ‘थलही’ नदी । त, त्यसरी बेहोसीपनमै तर बाटो नबिरिइकन यात्रारत हुने र कतै पुगेर जुनसुकै ठाउँमा लडी घन्टौँसम्म इन्तु न चिन्तु हुने कुनै अज्ञात रोगबाट अप्रत्याशित रूपले गाँजिएर दुई घण्टापछि तत्काल मुक्त भएको भए पनि त्यो मुक्ति कतिन्जेलका लागि हो, के टुङ्गो ? अघिजस्तो कुनै गाउँको छेउमा लडे त लौ ! कसैले फेरि माया गरेर उठाई बचाइदेला रे तर कथंकदाचित् वारिपारि अग्लाअग्ला डिल भएको र बीचमा सुरुङजस्तो डोल परेको हिलो र भासको खानी त्यो थलही नदीमा चाहिँ त्यस्तो बेहोसी अवस्थामा ढल्न पुगेछु भने ? अनि के होला मेरो हबिगत ?
यस अज्ञात त्रासले मुटु त्यसैत्यसै खलाँती बन्न पुगे पनि अर्को कुनै उपाय नै नभएको र गन्तव्यसम्मको शेष यात्रा निर्विकल्प रहेको मजस्तो एक्लो र निरीह यात्रीले बीचैमा हिम्मत हारेर पनि त कसरी काम चल्थ्यो र ? त्यसैले लौतनगाउँबाट जसरीतसरी घिसार्दै लगेँ मैले आफूलाई । थलहीमा पुगेपछि मुटु एकचोटि नराम्रोसित फुल्यो ढक्क गरेर तर अपूर्व, संयम, धैर्य र आत्मबलका साथ तरेँ त्यसलाई । अनि, हरेक दुई–तीन पाइलापछि बिसाउँदै र घस्रिँदै कसै गरी सिसवा गाउँ र तियरखोलाकोे पैनीलाई पनि पार गरेर एक बजेतिर भित्रिएँ स्कुलको आँगनमा र लम्पसार परेँ शिक्षक–विद्यार्थीहरूका बीचमा त्वं शरणम् गरेर । केही छिनपछि उनीहरूले मलाई झ्याइँकुटी पार्दै एक कोस जति टाढा दक्षिणतिर रहेकोे गडहल गाउँको हेल्थपोस्टतिर कुदाए । कैयौँ दिनसम्मको औषधी–उपचारपछि बल्ल हिँडडुल गर्न सक्ने भएँ म । तर, जीवनभरिका लागि त्यस दिनको त्यो नयाँ रोगको कोेसेली साँच्न बाध्य भएर । हेल्थपोस्टको शय्यामा उत्तानै पल्टेको बेलामा मेरो सम्झनाको पटलमा अचानक झल्मलाएर आयो केटौले उमेरमा पढेको बङ्गाली साहित्यका कविकुलगुरु रवीन्द्रनाथ ठाकुरको कविता—
“यदि तोर डाक सुने केउ न आसे
तबे एकला चलो रे !
एकला चलो, एकला चलो, एकला चलो रे !”
“यदि तिम्रो पुकार सुन्न कोही आउँदैन भने
तिमी एक्लै हिँड !
एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड” ।
र ठाकुरबाबाको त्यस कविताको आशय प्रत्यक्ष हिँडाइसँग नभएर विचार, सिद्धान्त वा आदर्शतर्पm सङ्केतित रहेको कुरा पनि झल्झली सम्झेँ, तर पनि त्यतिखेर मैले त्यसलाई सोझो हिँडाइका सन्दर्भमा अथ्र्याएर प्रत्युत्तरमा भनेँ कविज्यूलाई— ‘भो, मलाई क्षमा गर कविबाबा ! एक्लैएक्लै हिँडेर यस्तो दुःख पाएँ । त्यसैले म अब एक्लै हिँड्दिन ।
“आमि एकला चलबो ना” !
(विशेष साहित्य)