मुख्य पृष्ठ » नियात्रा » बेलायत यात्राको साहित्य

बेलायत यात्राको साहित्य

कृष्णचन्द्रसिंह प्रधान
नाम : कृष्णचन्द्रसिंह प्रधान
  कृष्णचन्द्रसिंह प्रधान का रचनाहरू

शीतकालीन जाडो र बर्षायामको  झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि छोइँदा तरङ्गति हुन्छु । सागै निशा थिइन्- मित्रपत्नी । यहाँको जलवायुमा रङ्गसरि आफूलाई घोलेर एकाकार भइसकेकीले उनलाई असजिलो लाग्दैन ।
म त्यहाँको वातावरणमा एडजस्ट हुन खोज्दै प्रफुल्लित मनले हेर्छु । मलाई न्यानो लाग्छ जाडोयामको झरी पनि । हावाको प्रत्येक थप्पडमा करेन्ट लागेजस्तो उत्तेजित हुन्छु । धुम्मिएको आकाश, बेलायती आकृतिका घरहरू, सफा चिल्ला सडक, बिनाहर्न गुडिरहेका गाडीहरूको अनुशासन, मेट्रो-बसहरूको अविराम आउजाउ, अनि सडकै हिँडिरहेजस्तो हतारहतार मानिसको दौडधुपमा उनीहरूका थुप्रै प्रश्न झुन्डिएको लाग्यो । थुप्रै जिन्दगी अल्भिmएका छन् कि कुन्नि, फुत्किएला कि भनेर त्यसलाई समातिराख्नेहरू कोही पनि निदाउँदैनन् । न रात भनेका छन् न दिन, न दुःख मानेका छन्, न असजिलो । यो व्यस्ततामा जीवनको स्वाद लिन पनि कसैलाई फुर्सद छैन । लाग्छ बेलायतमा बस्नेहरू र बेलायतकै मानिस पनि स्वाद नलिईकनै जिन्दगी चपाउँछन् र निल्छन् । यसरी रमाइरहेका नेपाली, अपि|mकाली, एसियाली र स्वयम् अंग्रेजहरूलाई पनि देख्छु बिनाविरोध यान्त्रिकता सकारेर बाँच्ने जीजिविषा नै त्यहाँको जिन्दगी हो, यसैको लागि संघर्ष गर्दै छन् । यही जीजिविषा बोकेर नेपालीहरू बेलायत पुगेका छन् र सस्तो जीवन जिउनलाई महँगो र गह्रुँगो काम पनि र बाँसुरीको मीठो धून लागिदिन्छ, भुवाजत्तिकै हलुङ्गो । यस्तै दिनचर्यामा हुर्किरहेको आपाधापीको बेलायती जिन्दगीमा प्रवेश गर्ने अवसर पाउँछु ।
सधैँको यो चटारो नै आमनेपालीको जीवन भइसकेको सरदर भोगाइप्रति मैले कुनै गुनासो देखिनँ । सायद सकार्न बाध्य आत्मस्वीकृतिले उनीहरूको मनलाई, भावनालाई बाँधिसकेकोले त्यस्तो सोच्नै सक्तैनन् । यो रफ्तार अलिकता मात्रै पनि खजमजियो भने दुर्घटनामा पर्ने सम्भावनाले बरु आशंकित देख्छु । त्यस्तो त्रासदीपूर्ण जोखिम निम्त्याउनु ? किन बेसरोकारको अतिरिक्त काममा लाग्ने ? भन्ने जिज्ञासासहित उत्तरको अपेक्षा राखेर प्रश्न गर्छन् भने अर्कोतिर बाँच्ने जीजिविषालाई भौतिकतामै परिमित गरेर आफ्नो राष्ट्रिय पहिचान गुमाउन पनि चाहँदैनन् । यसर्थ मरीमरी काम गरेर बाँच्न खोजेजस्तौ नेपाली भएर बाँच्ने रहर पनि सलबलाउँछ । अनि जिन्दगीको व्यस्त गल्ली गल्छेँडोमा रमाइर् बस्नुपर्दा पनि त्यसको क्षतिपूर्ति साहित्यिक, सांस्कृतिक सिर्जनाले दिन खोज्नेहरूलाई देखेर धेरै खुसी लाग्यो । यही पहिचान स्थापित गर्ने कोसिसमा विभिन्न संस्थाहरू स्थापना गर्न अग्रसर हुन्छन् । अनि खुल्छन् नेपाली साहित्य विकास परिषद्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पासा पुचः गुठीहरू, नेपाली कलाकार संघ, प्रवासी नेपाली साहित्य समाज, अनलाइन नेपाली साहित्य मञ्च, कला साहित्य तथा संगीत मञ्चजस्ता दर्जनौं साहित्यिक कलासम्बन्धी संस्थाहरू । यिनीहरूमा आवद्ध संस्कृतिकर्मी, साहित्य सर्जक, समाजसेवीहरूको सक्रियता यसकारण प्रशंसनीय लाग्यो । त्यतिको बेफुर्सदिलो जीवन जिएर सांस्कृतिक र साहित्यिक गतिविधिमा लाग्नु आफैंमा एउटा साधना हो । यसलाई हामीभित्र अन्तर्निहित नेपाली हुनाको प्रतीकात्मक अभिव्यक्ति भन्छु ।
पुगेको भोलिपल्टै अक्टुबर २५ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजना र विभिन्न संस्थाको सक्रियतामा प्लम स्टेडको सेन्ट प्याटि्रक स्कुलको हलमा बेलायत नेपाली साहित्य महोत्सव थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९९औं जन्मजयन्तीको अवसर पारेर आयोजित त्यस महोत्सवमा प्रतियोगितात्मक कविता पाठको साथै ईश्वरमान मानन्धरलाई अस्वीकृत विचार साहित्य पुरस्कार गुठीद्वारा सम्मानपत्र प्रदान र मनीषकुमार श्रेष्ठको 'याद आइरहेछ' कवितासंग्रहको विमोचन पनि थियो । अन्त्यमा नृत्य, गीत आदिको सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।
अक्टुबर २६ बेलुका प्लम स्टेडस्थित गि्रन ओइन अफ एकाउन्टेन्डेन्टको कार्यालय भवनको हलमा नेपाली साहित्य विकास परिषद्द्वारा आयोजित अभिनन्दन समारोहमा सम्मिलित भएँ । त्यसै बेला बालप्रतिभाको उन्नयनका हेतुले डा.कवितारामले राखेको बालप्रतिभा साहित्य पुरस्कार प्रेणा थापालाई प्रदान गरियो ।
अक्टुबर २९ म्हपूजाको दिन थियो । एसियन कम्युनिटी सेन्टर ह्वाइट हार्ड रोड, प्लम स्टेडमा पासा पुचः गुठिले आयोजना गरेको सामूहिक म्हपूजा कार्यक्रम अत्यन्त भव्य, आकर्षक र आफ्नै किसिमको सांस्कृतिक थियो । सजाइएको मञ्च, अलिल्तिर म्हपूजा गर्न दुई लाइनमा किशोरकिशोरी र बालकबालिकाहरू, त्यसको अगाडि मण्डप, टीको-टालो गरी सुपारी फूलको माला र जजंका लगाइदिएर सगनुसहित सम्पन्न गरिएको वातावरण मनारम थियो । भादगाउँले ज्यापू पोसाक लगाएका । उद्घोषक मनीषकुमार श्रेष्ठले कार्यक्रमलाई जीवन्तता प्रदान गरेका थिए । सांस्कृतिक प्रदर्शनमा काठमाडौँको पुलुकिसि, ज्यापू नाच र लाखे नाचको रौनक बेग्लै थियो ।
नोभेम्बर २ मा पनि अर्भो पासा पुचः गुठीले ह्यामर टाउन हलमा नेपाल संवत् ११२९ लागेको उपलक्ष्यमा न्हूदँ समारोह त्यस्तै भव्यताका साथ मनाएका थिए । यसमा सहभागी हुनेहरू प्रत्येकले १० पौन्ड शुल्क बुझाउनुपथ्र्यो । रात्रिभोजको व्यवस्था र सांस्कृतिक कार्यक्रम पनि थियो । सबै कार्यक्रम राष्ट्रिय दृष्टिकोणले आयोजित थियो । नेपाली राजदूत मुरारीकृष्ण शर्माको पनि उपस्थिति थियो । नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने वेशभूषा र दौरा-सुरुवाल लगाएका कार्यकर्ता, पदाधिकारीहरूको पहिरनले त्यहाँ एउटा सानो नेपाल आविर्भूत भएको झझल्को दिन्थ्यो ।
हामी देश छाडेर जहाँसुकै जाऔँ केवल हामी मानिस गइदिएका हुँदैनौँ । किनभने आकारका मानिसमात्रै हामी होइनौँ । हामीसँगै हरेकको आफ्नो देश हुन्छ केही इतिहास केही भावनाहरू छन् । आफ्नै चिनारी छ । त्योबिनाका मानिस सायद हामी कोही होइनौँ । यसकारण हामी जहाँ जान्छौँ खालि हामी जाँदैनौँ, हामीसँगै उसले बोल्ने भाषा जान्छ, उसको धर्म जान्छ, साहित्य, कला, संस्कृति, इतिहास जान्छ, देश नै चोइटिएर गएजस्तो त्यसको केही भाग जान्छ ।
विदेशमा देश सम्झेर रचिने आ-आफ्ना कला, संस्कृति, साहित्यको अनुष्ठानमा तिनीहरूको संलग्नता द्रष्टव्य छ । नेपालीमा प्रसारित हुने रेडियो, टीभीहरू पर्यन्त विद्यमान बेलायत त्यहाँकाहरूकै भइनरहेर अरूको पनि हुँदै गइरहेको संक्रमणले आगामी दिनको परिवर्तनलाई औंल्याउँछ । बि्रटिस फोर्सेस ब्रोडकास्टिङ सभिर्सका लागि योगराजजीले र राम्रो नेपाल हाम्रो नेपालको कार्यक्रमअन्तर्गत प्रसारण गर्न मनीषकुमार श्रेष्ठले लिएको मेरो अन्तर्वार्ताले पनि यो सन्दर्भ जोड्छ ।
संस्थागत दृष्टिले लन्डनका साहित्य- कर्मीको प्रयास निकै उत्साहजनक लाग्यो । भानु, देवकोटाहरूको जयन्ती, विशिष्ट साहित्यकारहरूको सम्मानमा गर्ने कार्यक्रम, चाडपर्वको उपलक्ष्यमा मनाइने सांस्कृतिक महोत्सव, पुस्तक विमोचन, काव्यगोष्ठीहरू आदिको निरन्तरताले साहित्यिक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउँछ । यसलाई उत्सवी औपचारिकतामा मात्रै सीमित गर्नुहुँदैन । साहित्यिक उत्थान गर्ने हेतुले प्रयोग गर्ने मञ्चको रूप दिन सके अझ राम्रो हुनेछ ।
साहित्यिक वा सांस्कृतिक पत्रपत्रिकाहरू पनि प्रकाशित हुन्छन् । सुरेशजंग शाहको सम्पादनमा नेपाली साहित्य विकास परिषद्बाट 'लालीगुराँस' निस्कँदो रहेछ । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले लोक सांस्कृतिक पत्रिका 'कोसेली' निकाल्ने गर्छ र शशि महाजुको सम्पादनमा प्रकाशक अमृत श्रेष्ठले 'मतिना' निकाल्ने गरेका छन् । 'लालीगुराँस' र 'कोसेली' वाषिर्क हुन् भने 'मतिना' त्रैमासिक । यो नेपाल भाषाको पत्रिका हो तापनि नेपाली र अंग्रेजी भाषालाई पनि ठाउँ दिने गरेका छन् ।
अनि बौद्धिक, खोजीनिधि र कला, संस्कृतिका दृष्टिले पनि अपेक्षाकृत उपयोगी तथा स्तरीय छ 'मतिना' ।
संस्थाको मुखपत्रको रूपमा प्रकाशित हुने वाषिर्क पत्रिकाहरू प्रायः संंस्थागत कार्यक्रम, तिनीहरूको गतिविधि अवगत गराउने उद्देश्यका हुन्छन् । साथै केही साहित्यिक लेख, रचनाहरू पनि समावेश गर्ने गरका छन् 'लालीगुराँस' र 'कोसेली' ले । साप्ताहिक खबर र पत्रिकाहरू पनि निस्कन्छन् । त्यहाँका कवि, लेखकहरूको छाप्ने साधन भनेको यिनै र यति नै हुन् । यसैमा भर पर्नुपर्ने हुन्छ त्यो पनि वर्षमा एकपटक निस्कने पत्रिका मासिक वा द्वैमासिक रूपमा निकाल्न सके धेरै उपयोगी हुन्थ्यो । साहित्यको विकासमा पत्रिकाहरूकै ठूलो हात हुन्छ । यसले लेख्न पे्ररित गर्छ भने लेखिरहने निरन्तरता पनि लेखकहरूले यसैबाट हासिल गर्छन् । साहित्यिक वातावरण नै अर्को हुन्छ । लेखेर छापिँदैन भने किन लेख्ने ? केका लागि लेख्ने ? सबैलाई लाग्छ तर खुसीको कुरा हो, यस्तो साधन, उत्साहजनक वातावरणको अभावमा पनि लेखिरहने केही साधक छन्, उनीहरूका प्रकाशित पुस्तक पनि छन् । यिनीहरूमा 'सीमाहीन विम्बहरू' का कविता उच्च कोटिका छन् । त्यस्तै उत्कृष्ट लाग्यो जया राईको 'डम्बरी' कथा सँगालो ।
यहाँ मैले देखेँ विविध विषयका साहित्यकार ईश्वर मानन्धरलाई जो आज पनि लेखिरहेका छन् । बैंशले पुनर्जन्म लिएजस्तो उनीमा लेखकीय स्फूर्ति र निरन्तरता छ । त्यस्तै बहुविधाका प्रतिभावान साहित्यकार हुन् सुरेशजंग शाह, त्यत्तिकै सक्रिय र जाँगरिला । उनी कथा, उपन्यास, कविता, नाटक सबैमा फैलिएका छन् । व्यङ्ग्य कवितामा अग्रणी लाग्छ कोमलप्रस्ााद मल्ल । अनि 'मधुरस' का कवि हरिसिंह थापा, 'आकाश-पाताल' का हरि सिवाकोटी, 'सुनदन्ते' का दुनबहादुर गर्बुजा पुनमगर पनि भने भोगाइ पीडा र अनुभूतिका कवि तथा बहुआयामिक व्यक्तित्वका मनीषकुमार श्रेष्ठ । अर्कोतिर भिन्नै दृष्टि-सृष्टिका नयाँ आलोक बोकेका 'सीमाहीन विम्बहरू' का कविहरू छन् । सर्वथा नौला विम्बले रच्ने प्रतीकात्मक कथ्यमा सम्प्रेषित तथा भावनाहरूको अमूर्त स्पर्शहरू, विम्बहरू, प्रयोगहरू आजकै प्रवृत्ति समतुल्य यसका कविता मौलिक र नवीन लाग्यो । अनि विदेशी भूमिमा लेखिएका भिन्नै जीवनको अनुभूति, कथाव्यथालाई स्पर्श गर्ने सैनिक पृष्ठभूमि, त्योसँगै गाँसिएको त्रासदी र विसंगतिका विडम्बनापूर्ण जीवनका कथाकार हुन जया राई । उनको 'डम्बरी' कथा स्तरीय छ, त्यत्तिकै मार्मिक । यी दुवै कविता र कथाले डायस्पोरिक जीवनका विडम्बनालाई मुखरित गर्छन् जो अहिलेसम्म लेखिएकाहरूमा दुवै विधाका प्रतिनिधि कृतिको रूपमा स्विकार्नुपर्नेछ ।
मेरो सम्पर्कमा आएका गतिविधिहरूको मात्र यो दृष्टान्त हो । यसका अतिरिक्त अरू पनि कति होलान् । मलाई लाग्छ यिनै गतिविधि र साहित्यकारहरूको सिर्जनात्मक सक्रियताले राख्ने जगमा बेलायती नेपाली साहित्यले आफ्नो भविष्य रेखांकित  गर्नेछ ।

पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस