'हटयो सारा हिलो मैलो ' भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ मा दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामको श्रीअन्तुबाट कर्मस्थल चैनपुर्-संखुवासभातिर लागेँ । धरान बास बसेर बिहानको गाडीमा उकालिएँ । झरीपछिको आकाश खुलेर भेडेटारदेखि नै पहाडी सुन्दरताले जिस्क्याउन थाल्यो । आकाशमा बादल नउँडेका दिन मेरो मन चाहीँ उँड्ने गर्छ । मन उडेपछि आँखाले नौलो देख्ने अवसर पाउँछन्। गाडी जती माथि-माथि गयो उती सुन्दर आकाश , डाँडाकाँडा र हिमालहरु देखिन थाले । गाडीको गतिले ती म सँग सानो नानी जिस्केझैँ लुकामारी पो खेल्न लागे । गाडीभाडा चैनपुर सम्मकै तिरेको हुँदा म झर्न पनि सकिनँ । मन लागुन्जेल सुन्दर दृश्यहरू हेर्न पनि पाइँन । भोको बालकलाई खानेकुरा देखाएर खान नदिएको जस्तो बनायो नियतिले मलाई । माउले चारो ल्याएर हालिदिने बानी परेका बचेराले अरु केही छेउछाउ जाँदा मुख आँ गरेजस्तै खुलिरहे लोभि आँखाहरु । तर धित नमर्दै साँझमा तिनलाई मैले चैनपुरको अँध्यारो कोठामा लगेर थन्काइदिएँ ।
भोलिपल्ट बिहान करिव पाँच बजे उठेर चिसो हावामा कोठा बाहिर निस्केँ । पूर्वपट्टी लोभलाग्दो लालिमा देखिन्थ्यो । उत्तरपट्टी मकालुको हेरिरहुँ लाग्ने दृश्य थियो । पूर्वोत्तरमा सभापोखरीतिरका चुच्चे डाँडाहरु एउटै पनि बादल नभएको आकाशमा ठडिइरहेका थिए । पूर्वको रातो घुम्टो ओडेर गुफापोखरी र मेन्छ्याम डाँडा मलाई बोलाइरहेका थिए । नजिकै तिनजुरे परिचित मुस्कान फ्याँकिरहेको थियो । गुफापोखरी र मेन्छ्यामको निमन्त्रणा स्वीकारेर आजै हिँडौ जस्तो लाग्यो। तर पहिले कहिल्यै नपुगेको ठाउँ , त्यो पनि एक्लै ! देख्नासाथ कहाँ जान सकिन्थ्यो ? यता जागिर खानुपर्ने बाध्यता उता मलाई भेट्न बोलाएर हैरान पार्ने गुफापोखरी र मेन्छ्याम डाँडा । रहर पनि जाने नै तर .........। मन अर्कैतिर लगाउन कोठाभित्र पसेँ र अम्बिकाप्रसाद सम्बाहाम्फेले अस्ति धरानमा दिनुभएको उहाँको पुस्तक ''चार माया पालम'' पढ्न थालेँ । त्यस पुस्तकमा त झन धेरै मेन्छ्याम लेखेको पाएँ । पूर्वले मलाई बोलाउन छोडेन । प्रेमिले प्रेमिका सम्झेजस्तै गुफा र मेन्छ्यामको यादले , त्यो ठाउँमा पुगिहाल्न पाए हुन्थ्यो भन्ने तिर्सनाले मैले अरु केही गर्न सकिनँ । फेरि कोठा बाहिर आएर झुल्केघामको कलिलो किरणबिचमा सजिएका तिनै मलाई बोलाइरहने डाँडाहरुलाई हेरिबसेँ ।
त्यही दिन एकजना परिचित स्थानीय बहिनी रुपा भण्डारीसँग करिब चार बजेतिर नजिकैको मेडिकल पसलमा भेट भयो । उनले बेलिबिस्तार लागाउँदै भनिन् '' भोलि हिँडेर गुफापोखरी जान ग्लुकोज किनेकी । हामी चार जनाको टोली छ । नौ- दस घण्टामा त पुगिहालिन्छ रे । बिहान तीन बजे हिँडने चैनपुरबाट । बेलैमा पुगेर डुलिसक्ने अनि पर्सि फर्किहाल्ने ।'' बिहानैदेखिको मेरो तिर्सना मेटिने आशाले कुरो अघि बढाएँ '' म पनि जान मिल्छ ?'' उनले सजिलै मिल्ने उत्तर दिइन् । मन मिल्ने एकजना केटा साथी पनि थप्ने सहमति गरेर म उनीसँग छुट्टीएँ । बेलुकी गजलकार साथी जयराम सुनामीलाई जाउँ भनी अनुरोध गरेँ तर उहाँको फुर्सद रहेनछ । मैले अरु साथी खोज्नै पाइँन । भोलिपल्ट ठीक साढे तीन बजे रुपाको फोनले म ब्युँझिएँ । छिटो आउन निर्देशन गर्दै उनले फोन काटेपछि म हत्तपत्त झोला ठीक पारेर बाटामा निस्किएँ ।२०७३ साल कार्तिक ६ गते शनिबार बिहान पौने चारबजे हाम्रो यात्रा शुरु भयो । सतिदेवीको आँखा पतन भएको विश्वास गरिने सिद्धकाली मन्दिरमा पूजारी नै आइनपुगेकाले हाम्रो योजना अनुरुप दर्शन गर्न पाइएन । पोखरी भन्ने बजारमा पुग्दा रिम-रिम उज्यालो भएको थियो र बल्ल हाम्रो टोलिका सबै भेला भएका थियौँ । अकस्मात अपरिचित केटालाई लिएर आएको देखेपछि रुपाका साथीहरु रिसाएछ्न क्यारे । अगाडि लागेर हामीलाई हेर्दै नहेरी छिटो -छिटो हिंड्न थाले । तिनले म सँग पारीचय सम्म गरेनन । मलाई अलिक अफ्टेरो पनि लाग्यो । तर रुपाले वास्तै गरिनन् । अरु नै प्रसंगका कुराहरु भइरहे । भर्खरै खनिएको ठुलो तर धुलाम्य बाटाका कुनै -कुनै घुम्तिहरुबाट रुपाका साथीहरु निक्कै परको घुम्तिमा द्रुत गतिमा देखिन्थे । हामीतिर फर्कँदै कुदिरहेका तिनीहरुलाई देखेर लाग्थ्यो हामी प्रहरी र ती अपराधी हुन् । अथवा हामी लुटेराबाट ज्यान र धन जोगाउन भागेका ती सर्वसाधारण हुन् ।
तेर्सो बाटो हिंडिरह्यौँ ।ठूला - ठूला अलैचिबारी देखिए । ठाउँ ठाउँमा धारा र खोल्सीहरु रहेछन । दक्षिण फर्किएको पाटो भए पनि पानी लथिचूर्ण रहेछ । दाहिनेतिर पिलुवा सुसाइरहेको थियो । नीलो र सफा आकाश थियो । पारीपट्टी बाघा भन्ने ठाउँमा ठुलो र अग्लो झरना देखेर हामी लोभिएका थियौँ । घामको किरण त्यतैतिर परेकाले त्यस्को फोटो निकाल्ने हाम्रो प्र्यास अधुरो बनेको थियो । त्यसो त हाम्रो क्यामेरा पनि उस्तो राम्रो थिएन । जङ्लबीचको त्यो सुन्दर झरनाको बर्णन त्यती सजिलै हुँदैन । यत्तिकैमा हामी हिँडेकै बाटामा एउटा ठुलो र सुन्दर झरना आयो । त्यसलाई 'ताङ्लेवा' भन्दा रहेछनन् । निक्कैबेर फोटो सेसन कार्यक्रम चल्यो । अग्लो झरनामा हावा मिसिई उत्ताउलिएर उडेका जलकणले हामीलाई निक्कै भिजायो । समय भए दिनभरी बसिरह्नु जस्तो झरना छोडेर फेरी तेर्सियौँ । कतै कतै स-स्याना घरहरु आउँथे । हामीले थकान मेटाउन रेड्बूल पियौँ । भोक लाग्ला कि भनेर फुरनदाना किन्यौँ । एउटा सानो बजार जस्तो परेको ठाउँमा चिया खान बस्यौँ । चिनी पगालेर बनाएको जस्तो कडा चिया दिए । गलेका बेला राम्रै काम गर्ला भनी जबर्जस्ती निल्यौँ । रुपाले सुटुक्क भनीन् ' मेरा साथिहरुले चाँही पाकको चिया पिउन पाएनन् है ?' त्यो दोकान लेकबाट झरेका शेर्पा दाइको रहेछ । चिया बनाएर दिने सानी नानी स्थानीय सामूदायिक स्कूलमा कक्षा-१० पढ्दी रहिछिन । उनी निक्कै अग्रसर बिध्यर्थी रहिछिन । उनका परिवारका सबैलाई शेर्पा भाषा आउँदो रहेछ । 'आफ्नै भाषा जान्ने आदिबासीलाई म खूव सम्मान गर्छु ' भन्दा उनीहरु खुशी भए । रुपा पनि पत्रकारिताकी छात्रा भएकाले त्यसपछिको गफ भाषाबारे भयो ।
हामी पिलुवाको लामो बेँसी हिँडिरहेका थियौँ । अब त्यो बेँसीको अन्त्यमा पुगिएछ । टुपुवा खोलामा राखिएको घट्टामा केही विदेसीहरु फोटो खिच्दै थिए । पिलुवाको झोलुङे पूलमा मोटार्साइकल दौडाएको फोटो खिचेर हामी नजिकैको सानो पसलमा चाउचाउ पकाउन लगाई उकालीने योजनामा लाग्यौँ ।भर्खर बिहानको नौ मात्र बज्दै थियो । हामी त्यती छिट्टै त्यँहा पुग्दा त्यो पसलका साहूजीले अबको चार घण्टामै हामी गुफापोखरी पुग्ने अनुमान लगाउँदै भने ' तपाईंहरु जोड हिँड्न सक्नुहुँदो रै'छ । यती छिटो चैनपुरबाट यहाँ आइपुग्नुभ्यो ।अब हत्तार नगरी यहाँ नजिकैको तातोपानी कुवामा पनि पुगेर जानु । थोरै मात्र घुमाउरो पर्छ । बालाचतुर्दशीका बेलामा भब्य मेला लाग्ने त्यो तातोपानी कुवामा जाने मन पलायो मेरो । यत्तिकैमा रुपा बोलिन ' हामी बिहान साडे तीन बजे नै हिँडेका अनि !' कुरो सुनेपछि चाँहि ती झन्नै बेहोस् भए । उनले थपे-'त्यसो भए तपाईंहरु बेलुकिसम्ममा कठिनले पुग्नुहुन्छ ।' हामी आत्तिएर उकालीयौँ । बाटो त्यती धेरै नभएको रुपाको भनाइ थियो । उनी सानी छँदा ताप्लेजुङको पाथिभरा जाँदा त्यो बाटो हिंडेकी रहिछिन् । उकालोमा बढिरहेको श्वास उनको कुराले केही घट्यो । विशाल आलैचिबारीको बिचबाट हामी दुई उकालिँदै रह्यौँ । रुपाका साथीको छायाँ पनि देख्न छोडियो ।तिनीहरु फुत्केको मट्याङ्रा जस्तै भए ।
म धरान बसेर एउटा एफ एम रेडियोमा साहित्यिक कार्यक्रम चलाउँदा अनिता लिम्बू भन्ने गजलकारले आफ्नो आवाज रेकर्ड गराएकी थिइन् । उनको ठेगाना नुनढाकी- संखुवासभा सुनेर म सोचमग्न बनेको थिएँ ।कस्तो राम्रो नाम भएको गाउँ । कस्तो होला ! त्यो बेला उहिल्यै आमाले हाटबाट ल्याउनुहुने राम्रो ढाकीको याद पनि आएको थियो अनि त्यस ढाकीमा सेतो नून भरेर मेरो कल्पनाको आँखाले देखेको थियो नुनढाकी । आज म त्यही ठाउँमा यात्रारत थिएँ । मैले अनितालाई फोन गरेँ । उनी कतै काठमाडौबाट दशैँ-तिहार मान्न नुनढाकी आएकी छिन् कि भन्ने मेरो आशा फोनले निराशामा बदलिदियो । हामीले अलिक टाढाबाट अरुलाई नै सोधेर अनिताजीको घर हेर्यौँ । मज्जाले फलेर पाकेको धानबारी, बाटाको छेउ-छाउमा फलेका मेलका बोटबाट झरेका दानामा चिप्लिएर लड्ने डरसँगै हामी उकालीरह्यौँ । झिँगटीले छाएका घर , मकैको थाङ्रो भएको ठुलो आँगन ,छानामा फर्सी भएका गोठ अनि ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावारी यात्रतत्र ! घरहरु दशैँ र तिहारका लागि बेहुलीजस्तै सिँगारिएका । शान्त गाउँ , सुन्दर गाउँ । हामी एकपटक झन्नै बाटो बिराएर अर्कोतिर लागेका तर एकजना युवतीले आँफै बोलाएर बाटो गलत भएको बताइदिइन । कति निस्चल छ गाउँको परेविस । बेला-बेला भेटिएका चौतारमा थकाई मार्दै हामी आकाशइरह्यौँ । बल्ल-बल्ल एउटा सानो बजार भएको ठाउँमा पुगियो । स्थानीय प्रहरी चौकी पनि त्यहीँ रहेछ । एउटा सानो दोकानमा अनुरोध गरेपछी खाना पकाइदिने परे । रुपाले मासु नखाने हुँदा हामीले शाकारी खाना खायौँ । होटलवाला बहिनी त होम-स्टेको तालिममा हाम्रो गाउँ श्रीअन्तु पनि पुगेकी रहिछिन् । खुव मिठो र सफा खाना खुवाएकीले उनको फोन समेत मागेर हामी उकालीयौँ । संयोगले रुपाका भगौडा साथीले पनि त्यहीँ मासु- भात खाएका बुझियो ।
पुरै ठाडो उकालो । ठाउँ-ठाउँमा माने भेटिन्थे । कतै समाधिस्थल पनि थिए । एकठाउँ सुन्दर गुम्बा पनि भेटियो । गुम्बामा लुङदरहरु शन्तिका गीत गाइरहेका थिए । गुम्बा नजिकै ठुलो ढुङ्गामा बुद्धको चित्र कोरिएको थियो । अर्को ढुङ्गामा नबुझिने लिपिमा केही लेखेको थियो ,लाग्यो बुद्ध वाणी होला । घाम त्यहीँ ठोकिएका । दिनको मध्यान्न ! जे. बि. टुहुरेको तल लेखिएको गीतको याद आयो -
उकाली ठाडो, चर्को घाम, पिडौंला बाटिन्छ
पाइलै पिच्छे सुस्केरा छुट्दछ ....................
गीतमा बाध्यताको यात्राबर्णन छ । हाम्रो चाहीँ रहरले उब्जाएको यात्रा र यात्राले ल्याएको दुख । तर परिबेश उस्तै । गीतमा अर्काको भारी , त्यो पनि धेरै छ , हाम्रो आफ्नै भारी तर सानो छ । त्यस्तै ६-७ किलोका झोला थिए । बाटामा भेटिएका सबै चौतारामा सुस्ताउँदै अनि प्रत्येक सुस्ताइमा ग्लोकोज, रेडबूल आदी खाँदै हामी अघि बढीरह्यौँ । वरपर गोगुनका ठूला ठूला रुख देखेपछि मैले एउटा लोक गीत गाएँ -
उकाली ज्यानको त्यो चिसो पानी गोगन पातले पिउँला
फुल्दो मा फुल देउतालाई दिउँला , जोवन कसलाई दिउँला
रुपा पनि लोकगीतमा कम रहिनछिन् , उनले अर्को गीत गाएर गोगनका रुखको सम्मान गरिन् -
घाँस है काटनु नि लै -लै गोगन डाली
सेपिलो ठाउँमा साप होला , सुन मेरी निरमाया
देखेर मात्र नि लै - लै के फाइदा हुन्छ ?
रिसानी भए माफ होला ,सुन मेरी निरमाया ।
त्यसपछि लोक गीतका गफ शुरु भए । हामी प्रमाणपत्र तह पढ्न धरान बस्दा कसरी लोक गीत गाउँथ्यौ भन्ने कथा सुनाएँ । कथाका नायक थिए मेरा मित्र हेम भण्डारी । रुपाले पनि हेमको स्वर पहिले कान्तिपुर र पछि सगरमाथा एफ. एम. मा सुनेकी रहिछिन् । साँच्चै त्यो बेला लोक गीत बचाउने र गाँउने चक्करमा लागेर हामीले कतै कुटाइ , कतै गाली अनि थुप्रै ठाउँमा स्याबासी र पुरस्कार पाएको याद आयो । त्यो यात्राका अन्य साथीहरु युवराज , गंगा , खगेन्द्र , राजु , कुबेर ,अच्युत , यदुनाथ , घनश्याम अनि होम दाइहरुको याद आयो । म त्यो सम्झनाले निक्कैबेर चुप भएँछु क्यारे रुपाले बोलाएपछि पो यथार्थतामा फर्केँछु । त्यत्तीकैमा रुपालाई उनकी दिदी बिध्याले फोन गारिछिन् । हामी यस्तो यात्रामा भएको कुरो सुनाउँदै फोनको आवाज ठुलो पारेपछि बिद्याले भनिन ' मामाफुली - मामफुली !! त्यत्रो टाढा हिँडेर गएकी ? सक्छेस के हौ तँ पिलन्धरेले ?' म डल्लो परेर हाँसे । अचम्मको कुरोलाई आम्मामामा भन्नुको सट्टा मामाफुली - मामफुली !! भन्दा रहेछ्न ती चेलीहरु । रुपाकी दिदी बिद्यालाई हामी पहिले नेताज्यू र अहिले राष्ट्रपतीज्यू भनेर जिस्काउँछौ कारण उनको नाम र थर पुरै नेपालकी प्रथम निर्वाचित महिला राष्ट्रपतिसँग मिल्छ । उनी मेरी मास्टर कक्षाकी सहपाठी हुन् तर म उमेरले कक्षाकै दाजु भनिएँ । बिद्यासँगको त्यही साईनो यतिबेला पारिवारिक झै बनेको छ र यो यात्रामा छौँ हामी । तर आफू चाहीँ कहिल्यै कतै डुल्न नपाएकोमा उनले फोनमै दुख ब्यक्त गारिन् । काठमान्डौँको एउटा नीजी स्कूलमा उनी नेपाली शिक्षिका छिन् ।
उकालिँदै जाँदा थाकेर हाम्रो चेहरा मलिन भएको सिको गरेजस्तै लाग्यो आकाशले पनि । अब सूर्यको तेज बादल र उचाइको कारणले घटेको थियो। खोलापारी मावादिनका जङ्लमा अलैची सुकाउने भट्टिबाट निस्किएको धुँवा माथि हाम्रो गन्तब्य गुफापोखरीमा कुदिरहेको सेतो कुहिरोसँग एकाकार हुँदैथियो । हामी एउटा चौतारीमा बस्यौँ र रेडबूल पियौँ । ठुलो तर नचिनिएको रुखको छहारीमा थियो त्यो चौतारी । पिपलजस्तै लाग्ने त्यो के को रुख हो हामी दुबैले नचिनेपछि गाइबस्तु चराउन घूम बोकेर आएका ब्यक्तिलाई सोध्यौँ । उनले यो लाँकुरी भएको खुलस्त पारे । सुनेको र पढेको धेरै हो तर देखेको चाँही आजै हो लाँकुरी । हामीले त्यो चौतारीको नाम नै लाँकुरी चौतारी राखेर हिड्यौँ त्यहाँबाट । अब निक्कै लेकाली बातावरण थियो । भित्तामा जताततै चिराइतो र भूइँ ऐँसेलु देखिन्थे । हावामा हिउँको चिसो मिसिएको थियो । गोठ र खर्कहरु देखिन्थे । तल मावादिनको ठुलो पहिरो खोलामा मिसिएर दूधजस्तै पानीलाई दूध हालेको चियाजस्तै बनाइरहेको थियो ।पातलो लुगा लगाएर खोप्पी खेल्दै गरेका केटाहरु भेटिए । उनीहरुका छेउमा एउटा अलिक बूढो मान्छे रित्तो ढुङ्ररो लिएर बसिरहेको देखिन्थ्यो । वरपर गोठहरु देखिन्थे । बस्तुहरु चर्दै थिए । पानी पारिहाल्छ जस्तै भयो । हामी पानीको डरसँगै दम्साइलो गोरेटोमा अघी वढ्यौँ । नभन्दै पानी छिट्याइहाल्यो । रुपाले त छाता नै ओडिन् । अँध्यारो नै भएजस्तो लाग्ने बन्यो वाताबरण । लेकाली जङ्ल र कुहिराले २ बजे नै रातीजस्तो लाग्थ्यो । कतै भालु पो लाग्छ कि भन्ने डर भित्र पलायो तर रुपासँग गरिनँ । बिहान किनेको फुरनदाना खाँदै हामी हिँडिरहयौँ । फेरी कुहिरो हट्यो । हामीले छोडेर आएको चैनपुर धेरै तल र टाढा देखिन थालेछ । रुखबुट्टा केही पनि नभएको खर्कमा भेडाका बथानसँग फोटो खिच्दै हामी अघि जाँदै गर्यौँ । अब गुफा बजार नजिकै देखिन्थ्यो । जब ठीक साडे तीन भयो तब हामी गुफा बजार नजिकैको समुद्र सतहबाट २९१० मिटरमा रहेको सुके बजार पुग्यौँ , घाम झलमल्ल लाग्यो । चिसो हावाले थकान पनि उडायो । बास बस्ने व्यावस्थाको लागि एकछिन समय खर्च गरियो । एकजना बहिनीले एक जीउको सय रुपैयाँमा लिने भनेर देखाएको कोठाका लुगाहरु अलिक फोहोर थिए । पहिला पनि रुपाहरु यही होटलमा बसेका थिए रे । हामी बस्ने परे फेरी आउँछौ भनेर त्यहाँबाट निस्कीयौ । अलिक पर एकजना गलैचा बुन्ने शेर्पेनी दिदिले पाँच जना सुतेको तीन सय लिने भन्नुभयो । रुपा र उनका भगौडा साथीहरुले कोठा हेरेर चित्त बुझाएपछि हाम्रो बासको टुङ्गो लाग्यो । चिया र चाउचाउ खाने मेरो प्रस्तावलाई भगौडाहरुले अस्विकार गरे । उनीहरु झोला राखेर पोखरीतर्फ कुदिहाले । हामी चाँही तात्तातो सुप र चिया खाएर मात्र गयौँ । हामी पोखरीतर्फ जाँदै गर्दा उनीहरु फर्कदै रहेछन ! यिनीहरु डुल्दा पनि हत्तार गर्न छोडदा रहेनछन् । भेटमा उनीहरुले हामीइलाई छिटो गर्न अह्राए । उनीहरु त अघि नै मेन्छ्याम डाँडाको टुप्पीमा पनि पुगिसकेका रहेछन् । अब कोठामा गएर आराम गर्ने र भोलि सबेरै फर्किने कुरा सुनाए । हामी होटलमा खाना अर्डर गर्न अह्राएर गुफापोखरितर्फ लाग्यौँ । एउटै यात्राका भएर पनि हाम्रो यो अनौठो सम्बन्ध थियो। यसलाई बेमेल भन्नु कि मेल भन्नु !?
करिव १५ मिनेट हिँडेपछि समुद्र सतहबाट २८९० मिटर उचाइमा रहेको गूफापोखरीको अवलोकन गर्न सक्यौँ । नीलो पानी भएको पोखरी आँखाजस्तै आकृतिको रहेछ । सफा पानीको वरिपरी घुमियो । एकै छिनमा बादल लाग्थ्यो अनि फेरि घाम देखिन्थ्यो । जाडो पनि निक्कै थियो । हामी पोखरी भन्दा दक्षिण पूर्वको डाँडामा गयौँ । अस्ताउन लागेको सुनौलो घामको किरणमा मेन्छ्यामले गुफापोखरीमा डुबुल्की मारेको दृश्य अत्यान्तै मनमोहक र अवर्णनीय थियो । स्वस्थानीको भाषालाई पैँचो मागेर भन्दा हज्जार जिब्रा भएका शेसनागले पनि यस्तो अनुपम सुन्दरताको बर्णन गर्न सक्दैनन् ! जस्तोसुकै सुन्दर क्यामेराले पनि यो दृश्य जस्ताको तस्तै कैद गर्न सक्दैन । यो बतास , यो अस्ताउँदो सूर्यको रङ्ग , यो पोखरी , त्यो वास्तबिक मेन्छ्याम अनि पोखरीमा प्रतिबिम्बित मेन्छ्याम !तल देखिएका नीला डाँडाहरु , पूर्वतर्फ देखिने पाथिभरा र असंख्य डाँडाकाँडाहरु !! सिन्दुरे मकालु हिमाल अनि कता कता उडिरहेको सेतो कुहिरो !!! तिर्खाएका बेला अघाँउजी मोही पिएर तृप्त भएजस्तै यो दृश्य देखेपछि मन अतिसंतृप्त घोलजस्तै बन्यो । लाग्थ्यो मलाई अब केही पनि हेर्नु छैन । हामी रौसिएर अनेक पोजमा फोटो खिच्यौँ । हौसिएर हा-हा र हुर -हुर गर्यौँ । साँझ झपक्क पर्यो अनि उडाउला जस्तो बगेको बतासलाई चिर्दै होटलमा गयौँ , खाना खायौँ र घरबेटीहरु गफ गरेको सुन्दा सुन्दै निदाइछ । निक्कै राती एक निद्रा पुर्याएर बिउँझदा पनि उनीहरुको गफ चलिरहेको थियो ।
भोलिपल्ट ब्युँझदा उज्यालो भइसकेको रहेछ । म हत्तपत्त बाहिर निस्किएँ । रुपाका साथीहरु त झोला बोकेर हिँडिहाले । म मुख धोएर फर्किँदा बल्ल रुपा उठिछिन् । हामीलाई उनीहरुले बाइ-बाइ गर्दै चिया सम्म नखाइकन कुदे । चिया खाने बेलामा होटवाला परिवारसँग गफगाफ गरियो । त्यो घरका बुडामान्छे हरेक बर्षायाममा याक, चौरी, खच्चड र अकबरे बेच्न गोलाको बाटो तिब्बत जाँदा रहेछन् । उनी हिजो मात्र उताबाट फर्किएका हुँदा बेलुकी अबेरसम्म पारिवारिक कुराकानी चलेको रहेछ । हामीले चिया खाइनसक्दै उनका तिब्बत जाने अर्का साथी पनि त्यहीँ आए । उनीहरुले तिब्बतमा कमाएर ल्याएको पैसा पारदर्शक पोलिथिन झोलामा पोको पारेका रहेछन् । तोङ्बा तान्दै,शेर्पा भाषामा गफिदै त्यो पैसा उनीहरुले तीन भाग लगाए । शायद अर्को मान्छे पनि 'पाटनर' रहेछ्न् क्यारे । प्रत्येक भागमा अढाइ लाखभन्दा धेरै रकम पर्यो । चिया खाइसकेपछि उसै त्यहाँ बसिरहनु सान्दर्भिक थिएन । उनीहरुको गफ सुन्न मैले पनि एक बट्टा तोङ्बा भिजाउन लगाएँ । तोङ्बा तानेको देखेपछि उनीहरु म सँग अलिक खुले । आफ्नो कामको बारेमा थप बताए । काम कठिन भए पनि यसैले परिवारको गुजरा चलेको सुनाए । हाम्रो गफ सुन्दै शेर्पिनी दिदी गलैँचा बुनिरहेकी थिइन् । काठमान्डौँ बसेर पढ्ने माइली छोरीले हिजैदेखी घरभित्रको काम गर्दै थिइन् ।कान्छी छोरी चाहिँ बाबुले चाइनिज चाउचाउ ल्याइदिएनन् भनेर झगडा गर्दै थिइन् । त्यो घरका एक छोरा कठमान्डौं र अर्का दार्जिलिङमा पड्दै छन् भन्ने सुन्दा उनीहरु शिक्षाप्रती सचेत रहेको पनि स्प्रस्ट हुन्थ्यो । मैले आफ्नो घर इलाम हो भन्दा उनीहरुले उतैका लेकबाट चौरी र खच्चड किनेर ल्याउँदा पाएका दु:खका कथा हाँसी -हाँसी सुनाए । लाग्यो यी शेर्पाहरु त दु:खका डल्ला फुटाउने डल्लेठा नै रहेछन् । दु:खलाई चुनौती दिई हाँसोका फोहरा छुटाउने रमाइला रहेछ्न् ।
हामी फेरि बिहानको किरणमा पोखरी हेर्न गयौँ । हिजोको भन्दा फरक सौन्दर्यमा हाँसिरहेको थियो गुफा-पोखरी ।उसैगरी देखिन्थ्यो मेन्छ्यामको लोभलाग्दो छायाँ पानीभित्र । संयोगले भेट भएका मेन्छ्याम एफ. एम.,तेह्रथुमका साथीद्वय चन्द्र र प्रविणसँग फोटो खिचेर हामी फर्कीयौँ । भेडा र चौरीका बथानमाझ फोटो खिच्दा- खिच्दै कुहिरो आएर झ्याप्पै छोपियो । हामी मेन्छ्याम डाँडा नगइकन चाउचाउ खाएर ओरालो लाग्यौँ । निक्कै माथि हुँदा हिजो आउँदा खाना खाएको होटलमा खाना पकाउन अनुरोध गर्दै फोन गर्यौँ । बिविध गफ गर्दै आठ घण्टामा चैनपुर आइपुगियो । यसरी २० घण्टे पैदल यात्रामा देख्नलाई धेरै सुन्दर दृश्यहरु देखियो तर आजसम्म पनि मनको क्यामराले कैद गरेको गुफापोखरीमा देखिएको मेन्छ्यामको छाँया मात्र याद आइरहन्छ । सपनामा पनि म त्यही खोज्न कुदिरहेको देख्छु र फेरी पनि त्यो सुन्दर छाँया हेर्न म पुग्ने रहरमा छु ।