केही वर्ष देखि विभक्ति जोड्ने र छुट्याउने बारे मा चर्को बहस चलिरहेको देखिन्छ । विभक्ति जोड्नु पर्छ भन्नेहरु का पनि आफ्नै तर्क छन् र विभक्ति छुट्याउनु पर्छ भन्ने का पनि आफ्नै तर्क छन् । तर वास्तव मा नेपाली भाषा को प्रकृति कस्तो छ त ? विभक्ति वास्तव मै टाँस्नु पर्ने हो कि स्वतन्त्रै छोडिदिने हो, एस बारे विचार विमर्श को खाँचो देखेकाले प्रस्तुत लेख मा मैले यथार्थ कुराहरु लाई खोतल्ने सानो प्रयास गरेको छू ।
एस विमर्श लाई अगाडी बढाउनु भन्दा पहिले जोडिँदै आएको विभक्ति लाई अलग गर्नु पर्छ भनेर बहस को आरम्भ गर्ने व्यक्ति का बारे मा केही नबोली अगाडी बढ्नु अवश्य पनि न्यायोचित हुँदैन । तद्भव शब्द को वर्णविन्यास लाई बदल्न हुँदैन, आगन्तुक शब्द को हिज्जे लाई नचलाऔं, नेपाली सर्वनाम लाई बचाऔं देखि लिएर विभक्ति अलग्गै लेखौं भनेर केही दशक देखि कराउँदै आउनुभएका विद्वान को नाम हो, मुकुन्दशरण उपाध्याय । त्रिवि ले जे गरिरहेको थियो ठीकै गरिरहेको होस् या गलत गरेको होस्, जब अरु विद्वानहरु चुप बसेर भएको छ भने उहाँलाई कराउनु पर्ने आवश्यकता किन पर्यो ? अत्यन्त कलीलो उमेर मा मदन पुरस्कार पाएर ख्याति पाउनु भएकै थियो । अनेक मान सम्मान र पुरस्कार पाउनु भएकै थियो । कवितै लेखिरहेको भए कति महाकाव्य बन्थे होलान् ? १५ वर्ष को उमेर मा संस्कृत भाषा मा काव्य लेखेर इण्डिया मा पुरस्कृत हुनुभएको, १७ वर्ष को उमेर मा वरदान नामक उपन्यास लेखेर अखिल निम्बार्क महासभा बाट विभुषित हुनुभएको र २३ वर्ष को उमेर मै मदन पुरस्कार पाएको प्रतिभा लाई चर्चा कमाउन नेपाली वर्णविन्यास मा हात हाल्नु पर्ने अवस्था त अवश्य थिएन होला । उहाँ जस्तो साहित्यकार किन होमिनुभयो त यो क्षेत्र मा ? मैले तेसको पनि खोजी गरें । उहाँको यो आन्दोलन नेपाली भाषा लाई बलियो र विश्वव्यापी बनाऔं भन्ने कुरा सँग हृदय देखि नै गाँसिएको रहेछ भन्ने कुरा उहाँको विभक्ति अलग गर्नु पर्छ भन्ने धारणा लाई खोतल्दै जाँदा मैले महसुस गरेको कुरा हो । विभक्ति अलग गर्ने कुरा नेपाली भाषा को विकास का लागि सहायक सिद्ध हुने पनि देखें ।
तर एसो भनेर यो विमर्श लाई एकतर्फी बनाउनु हुँदैन भन्ने लागेकाले विभक्ति जोड्नु पर्छ भन्ने गुरुहरु का तर्क पनि सुन्ने र बुझ्ने प्रयास गरें । उहाँहरुका पनि अनेक लेखहरु पढें । अनेक छलफल गरें । अनि संस्कृत भाषा को प्रकृति यथाशक्य केलाउने प्रयास पनि गरें । तेसैले प्रस्तुत विमर्श मा विभक्ति जोड्नु पर्छ भन्नेका तर्कहरु यथासम्भव टिप्नु का साथै विभक्ति छुट्याउनु पर्ना का कारणहरु दिने प्रयास गरेको छु । प्रथमतः विभक्ति जोड्नु पर्छ भन्नेका तर्कहरु का बारे मा अवगत बनौं ।
१) नेपाली भाषा को जन्म संस्कृत भाषा बाट भएको हो । संस्कृत मा विभक्ति जोडिन्छन् । जब माऊ भाषा मा विभक्ति जोडिन्छ भने तेसैबाट उत्पन्न भएको सन्तान मा किन नजोड्ने ? हिन्दी पनि संस्कृत कै सन्तान हो । हिन्दी मा पनि विभक्ति जोड्न थालेका छन् । गीताप्रेस बाट निस्कने सम्पूर्ण पुस्तक तथा पत्रपत्रिका मा विभक्ति जोडेरै लेखिन्छ । ज्ञानमण्डल बाट प्रकाशित हुने दैनिक पत्रिका आज मा मात्रै होइन त्यहाँ बाट निस्कने सम्पूर्ण पुस्तकहरु मा समेत विभक्ति जोडेरै लेखिएको छ । नवनीत प्रकाशन बाट प्रकाशित हुने पुस्तक तथा पत्रपत्रिका मा पनि विभक्ति जोड्ने गरिएको छ । एसरी हिन्दी भाषा ले पनि माऊ भाषा को सम्मान गरेर क्रमशः विभक्ति जोड्ने बाटो मा आँफूलाई अग्रसर गराउँदै लगेको बेलामा उस्तै चरित्र बोकेको नेपाली भाषा मा पनि विभक्ति नजोडी सुखै छैन । ईस्वी को १९६० को दशक मा हिन्दी मा विभक्ति टाँस्नै पर्छ भन्ने समूह गठित भएको घटना पनि एसमा लिन सकिन्छ ।
२) विभक्ति भनेका प्रत्यय हुन् । प्रत्यय भनेका शब्द मा जोडिन्छन् । यो सिद्धान्त नेपाली भाषा मा मात्रै होइन विश्व का अन्य भाषाहरु मा पनि लागू हुन्छ । नागरी लिपि भिन्न अंग्रेजी मा पनि Ram's home. This is mine. (रामको घर । यो मेरो हो ।) भनेर विभक्ति जोड्न खोजिएको पाइन्छ । सबैलाई थाहा भएकै कुरा हो– ‘रो, रा, री, नो, ना, नी’ पनि विभक्ति हुन् । के विभक्ति अलग लेख्नु पर्छ भन्नेहरु इनलाई अलग लेखेर देखाउन सक्छन् ? विभक्तिहरु को न त अलग अर्थ छ न त अलग अस्तित्व नै छ । जस्तो कि—
म + रो = म रो (हुँदैन) मेरो हुन्छ । आँफू + नो = आँफू नो (हुँदैन) आँफ्नो हुन्छ ।
तँ + रा = तँ रा (हुँदैन) तेरा हुन्छ । आँफू + ना = आँफू ना (हुँदैन) आँफ्ना हुन्छ ।
तिमी + री = तिमी री (हुँदैन) तिम्री हुन्छ । आँफू + नी = आँफू नी (हुँदैन) आँफ्नी हुन्छ ।
तेति मात्र होइन । म + ले = मैले, तँ + ले = तैंले, उनी + ले = उनले आदि विभक्ति जोडिएका रूप नै प्रचलन मा छन् । इनलाई छुट्टिएका रूप मा लेख्नै सकिन्न । र हुँदैन पनि । जसरी एर, एको, नु, ने आदि प्रत्यय धातु मा जोडिएर शब्द को निर्माण हुन्छ तेसरी नै विभक्ति पनि शब्द मा जोडिएर नयाँ शब्द को रचना हुन्छ ।
३) विभक्ति लाई अलग गर्ने वित्तिकै कतिपय शब्द को अर्थ मा भ्रम उत्पन्न हुन्छ । जस्तै विभक्ति मा ‘ले’ को अर्थ ‘द्वारा’ भन्ने हुन्छ भने ‘ले’ को अर्को अर्थ कुनै कुरा कसै सँग माग्नु पनि हुन्छ । अनि ‘को’ विभक्ति ले जो हो त्यो भन्ने बुझाउँछ र ‘को’ सँगसँगै प्रश्नवाचक सर्वनाम पनि हो । तेस्तै एक्लो ‘लाई’ को अर्थ लगाएर भन्ने पनि हुन्छ । एसरी विभक्ति लाई अलग लेख्दा अर्थ सम्पादन मा अन्योल उत्पन्न हुन्छ । तल केही उदाहरण ले अरु स्पष्ट्याउने छन्—
(क) हिजो घर आउने मानिस राम को को पर्यो ? (यहाँ कुन चाहिँ सर्वनाम हो र कुन चाहिँ विभक्ति हो अलमल भयो ।)
(ख) भित्र को आयो ? (यहाँ भित्र बसेको मान्छे बाहिर आएको हो कि भित्र कुनै मान्छे आएको हो बुझिएन ।)
(ग) मलाई गाउँ ले भन्यो । (यहाँ पनि म सँग गाउँ मागेको हो कि मलाई गाउँ ले कुनै कुरा भनेको हो बुझिएन ।)
माथी का तर्कहरु सुन्दा विभक्ति त जोड्नै पर्ने शब्द रहेछन् कि जस्तो लाग्न सक्छ । तर विभक्ति छुट्याउनु पर्ने आधारहरु त्यो भन्दा पनि बलिया र सत्य मा उभिएका छन् । अहिले गुरुहरु को बहुमत माथी का इनै तर्कहरु बोकेर विभक्ति जोड्नु पर्छ भन्ने पाठ पढाउन कस्सिएर लागेका छन् । तर बहुमत ले सत्य लाई प्रतिस्थापन गर्न सक्दैन भन्ने सत्य उहाँहरु लाई थाहा छैन । सबै नेपाली ले बुद्ध नेपाल मै जन्मेका हुन् भन्दा भन्दै सबै इण्डियन ले बुद्ध इण्डिया मा जन्मेका हुन् भनेर बोले भने के बहुमत लाई आधार मानेर बुद्ध लाई इण्डिया मा जन्मेको सिद्ध गर्न मिल्छ ? ठीक छ, यी कुरा तिर नअलमलिएर हामी तर्क कै कसी मा प्रवेश गरौं । प्रथमतः माथी दिइएका विभक्ति जोड्नु पर्ने तर्कहरु मा केन्द्रित बनौं । तेस पछि विभक्ति अलग गर्नु पर्ने अन्य कारणहरु का बारे मा समेत छलफल गरौंला ।
१) नेपाली भाषा को जन्म संस्कृत भाषा बाट भएको हुनाले माऊ भाषा मा जस्तो छ तेस्तै नेपाली मा पनि गर्नुपर्छ भन्ने तर्क सबैभन्दा कमजोर तर्क हो । संस्कृत भाषा मा विभक्तिहरु को अलग्गै अस्तित्व छैन । इनीहरु सुप् प्रत्यय का रूप मा शब्द को रूपै फेरेर टाँसिएका हुन्छन् । जस्तै— ‘हिमालय देखि’ भन्नु पर्दा ‘हिमालयात्’ भनिन्छ, ‘हिमालय ले’ भन्नुपर्दा ‘हिमालयः’ भन्नु पर्छ । ‘राम ले’ भन्नु पर्दा ‘रामः’ भनिन्छ भने ‘राम लाई’ भन्नु पर्दा ‘रामम्’ भन्नु पर्छ । संस्कृत भाषा मा विभक्ति लाई अलग गरेर लेख्नै मिल्दैन । यहाँ सम्म कि बहुवचन समेत प्रत्यय का रूप मै जोडिएको हुन्छ । जस्तो कि ‘रामेषु’ भने पछि ‘रामहरु मा’ भन्ने बुझिन्छ । जब एउटा भाषा बाट अर्को भाषा जन्मन्छ तब माउ भाषा बाट कतिपय कुरा लिएर र कतिपय कुरा छोडेर जन्मन्छ । यो संस्कृत भाषा को सन्तान न हो । संस्कृत भाषा को जुम्ल्याही बहिनी त होइन । तेसैले नेपाली भाषा को प्रकृति का बारे मा कुरा गर्दा यही भाषा मा टेकेर गर्नु पर्ने हुन्छ । हिन्दी मा संस्कृत भाषा का पण्डितहरु को वर्चस्व भएका ठाउँ मा मात्रै संस्कृत कै ह्यांगओभर का कारण विभक्ति जोड्ने प्रचलन भएको हो । तर हामीले संस्कृत ले के गरेको छ वा हिन्दी ले के गरेको छ भनेर देखासिकी गर्नु भन्दा हाम्रो भाषा को प्रकृति कस्तो छ र के गर्दा शुद्ध र सरल हुन्छ भन्ने तर्फ ध्यान दिनु उचित हुन्छ । संस्कृत मा त ‘दुइटा पुस्तक मा’ भन्नु पर्दा ‘पुस्तकयो’ भनिन्छ भनेर के हामीले पनि ‘दुइटापुस्तकमा’ भनेर जोडेरै लेख्ने त ?
२) विभक्ति भनेका प्रत्यय हुन् भन्ने दोस्रो तर्क पनि अपूर्ण ज्ञान को द्योतक हो । माली गाई बाहेक अरु गाई नदेखेकाले गाई भनेका रागेपाटे हुन्छन् भनेर गाई को निबन्धै लेख्यो भने उसलाई के भन्ने ? थोरै विभक्ति को स्वभाव लाई आधार मानेर सम्पूर्ण विभक्ति का बारे मा आफ्नो धारणा बनाउनु उचित हो त ? नेपाली भाषा मा प्रचलित विभक्तिहरु को स्वभाव दुई किसिम को छ— थोरै शब्द मा सुप् प्रत्यय को जस्तो र बाँकी सम्पूर्ण शब्द मा अव्यय को जस्तो । ‘आँफू’ शब्द मा ‘नो, ना, नी’ जोडिएर नेपाली भाषा मा केवल तीनवटा शब्द बनेका छन्— आँफ्नो, आँफ्ना र आँफ्नी । तेसै गरी ‘आफू’ शब्द मा ‘नो, ना, नी’ जोडिएर अर्का अननुनासिक तीनवटा शब्द बनेका छन्— आफ्नो, आफ्ना र आफ्नी । इनको स्वभाव सुप् प्रत्यय को जस्तै भएकाले यी जोडेरै लेखिन्छन् । तेस्तै ‘रो, रा, री’ जोडिएर बन्ने केवल बाह्र वटा शब्द छन्— मेरो मेरा मेरी, तिम्रो तिम्रा तिम्री, हाम्रो हाम्रा हाम्री, तेरो तेरा तेरी । यी क्रमशः म, तिमी, हामी र तँ मा रो, रा, री प्रत्ययवत् जोडिएर बनेका रूप हुन् । केही विभक्ति केही सर्वनामहरु मा प्रत्ययवत् जोडिन चाहन्छन् । तेसरी जोडिएर बनेका शब्दहरु को संख्या पचहत्तर को हाराहारी मा छ । जस्तै— उनको, उनका, उनकी, उनैको, उनैका, उनैकी, उसको, उसका, उसकी, उसैको, उसैका, उसैकी, एसको, एसका, एसकी, एसैको, एसैका, एसैकी, कसको, कसका, कसकी, कसैको, कसैका, कसैकी, मैले, तैंले, तिम्ले, हाम्ले, कसले, कसैले आदि । एसरी विभक्ति प्रत्ययवत् जोडिएर बन्ने नेपाली शब्दहरु को जम्माजम्मी संख्या बढी मा ९५ वटा छन् । एसरी ९५ वटा शब्द को स्वभाव हेरेर सम्पूर्ण नेपाली शब्द का लागि नीति बनाउनु युक्तिसंगत हो र ? वैज्ञानिकता तब हुन्छ जब जहाँ विभक्ति प्रत्ययवत् जोडिएका हुन्छन् त्यहाँ जोडेरै लेख्ने र अन्यत्र अलग गर्ने । हामीले एसरी विभक्ति जोडेर लेख्नु पर्ने यी ९५ वटै शब्द लाई कोश मा प्रविष्टि दिन भने बिर्सनु हुँदैन ।
अब अन्यान्य भाषा मा एस्तो हुन्छ भन्ने कुरा लाई थप बुझाउन नपर्ला । अंग्रेजी मा जस्तै विभक्ति जोडिएका वा लोप भएका उदाहरणहरु नेपाली भाषा मा पनि छन् । राम बस्यो (राम ले बस्यो भनिन्न), सीता रोई (सीता ले रोई भनिन्न), म हिँड्छु (मैले हिँड्छु होइन) । तर एसरी अन्य भाषा मा एसो गरिन्छ तेसैले नेपाली मा पनि तेसै गर्नु पर्छ भन्नु भनेको लुक्ला मा बसेर तराई मा पातलो कपडा लगाउने हुँदा हामीले पनि पातलै कपडा लगाउनु पर्छ भने जस्तै हो । हामी ले नेपाली भाषा को हिज्जे का बारे मा छलफल गर्दा नेपाली भाषा कै प्रकृति लाई आधार मानेर गर्नु पर्ने हुन्छ ।
३) विभक्ति कै स्वरूप का भिन्नार्थी शब्द को समस्या का कारण विभक्ति जोड्नु पर्छ भनिन्छ । तर यो पनि तर्क का लागि गरिने तर्क मात्रै हो । विभक्ति जोड्नु पर्छ भन्ने ले दिने गरेका उदाहरण मा पसौं— हिजो घर आउने मानिस राम को को पर्यो ? के यो वाक्य अर्थ सम्प्रेषण गर्न असमर्थ छ त ? छैन । सजीलै बुझिन्छ । अर्को वाक्य— भित्र को आयो ? के यो वाक्य ले भित्र को मानिस बाहिर आयो भन्ने अर्थ दिन्छ ? दिँदैन । किनभने यहाँ प्रश्नवाचक चिन्ह छ । यदि ‘भित्र को मानिस बाहिर आयो’ भनेर लेख्नु पर्यो भने— ‘भित्र को आयो ।’ भनेर पूर्णविराम को प्रयोग गर्नु पर्छ । ‘लगाएर’ बुझाउन ‘लाई’ को प्रयोग गर्नु अशुद्ध हो । ‘लगाई’ चाहिँ शुद्ध शब्द हो । अशुद्ध शब्द नलेखे यो समस्या पनि समाधान भइहाल्छ । अब क्रियापद का रूप मा ‘ले’ शब्द को प्रयोग लाई लिऔं । यो पनि कतिपय वाक्य मा सजीलै बुझिने हुन्छ । जस्तै मलाई छाता ले । कलम ले । आदि ।
अर्को वाक्य लिऔं— कलम ले भन्यो । यहाँनेर कसैले कलम मागेको हो कि कलम ले केही कुरा भन्न खोजेको हो अलमल भयो भन्ने तर्क गरिन्छ । तर वास्तव मा एस्ता वाक्य आफ्नो तर्क सिद्ध गर्न वा पहेली का रूप मा प्रस्तुत गर्न सकिन्छ, दैनिक जीवन मा बोलिँदैन । एसका ठाउँ मा क्रियापद बुझाउन— उसले कलम ले भन्यो वा कलम माग्यो भनिन्छ भने विभक्ति बुझाउन कलम ले भन्यो भन्दा अगाडी वा पछाडी कुनै सहायक वाक्य जोडिएको हुन्छ, वाक्य एत्तिकै पूरा हुँदैन । लेखिएको हुन्छ— कलम ले भन्यो, म लेख्दिनँ ।
यी त भए विभक्ति जोड्नु पर्छ भन्ने महानुभावहरु ले दिएका तर्क माथी का छलफल । अब विभक्ति छुट्याउनु पर्ने अन्य कारण का बारे मा पनि छलफल गरौं । अन्य कारणहरु तल लेखिए भन्दा धेरै छन् । तर पाठक को समय धेरै नलिनु उचित लागेर थप पाँचवटा कारण मात्रै तल प्रस्तुत गरेको छु—
४) सामान्यतया कोश मा शब्द को प्रविष्टि हुन्छ तर प्रत्यय को प्रविष्टि हुँदैन । चाहे त्यो ‘अक्सफोर्ड डिक्शनरी’ होस् या चाहे प्रज्ञा को ‘नेपाली बृहत् शब्दकोश’ । प्रज्ञा को कोश मा हेर्न खोज्यौं भने ‘लाई, को, बाट, मा’ जस्ता शब्दहरु भेट्टाउँछौं । यदि यी शब्दहरु प्रत्यय हुन् भने कोश मा तेसरी प्रविष्टि दिनु हुँदैन थियो । अपितु कोश मा तिनलाई अर्थ्याउने क्रम मा भ्रमवश कुनै कुनै लाई प्रत्यय पनि भनिएको भेटियो । जस्तो कि प्रज्ञा को कोश मा ‘को, बाट, देखि, द्वारा, मा, ले’ लाई विभक्ति भनिएको छ भने ‘लाई’ लाई प्रत्यय भनिएको छ र ‘निम्ति’ लाई नामयोगी भन्नु सँगै उदाहरण दिँदा पद वियोग गरेर देखाइएको छ । जब कि उहाँहरु विभक्ति वा नामयोगी छुट्याउनु पर्छ भन्ने पक्ष मा हुनुहुन्न । एसरी प्रज्ञा प्रतिष्ठान को प्रामाणिक कोश मा उस्तै स्वभाव का पदहरु लाई कतै विभक्ति, कतै प्रत्यय र कतै नामयोगी भन्नु कमजोरी मात्रै होइन अक्षम्य भूल पनि हो ।
जे होस्, यदि विभक्ति ले, प्रत्यय हुँदा हुँदै पनि प्रविष्टि पाएका हुन् भने अनी, आडी, एको, एर, एली आदि प्रत्ययहरु ले पनि प्रविष्टि पाउनुपर्ने होइन र ? कोश को सिद्धान्त अनुसार एकै कोटि का शब्द कुनै दिने र कुनै नदिने गर्नु हुँदैन । एसबाट हामी के निचोड मा पुग्न सक्छौं भने ‘लाई, को, बाट, मा, ले’ जस्ता शब्द को अलग अस्तित्व पनि छ र अलग अर्थ पनि छ । एसरी अलग अस्तित्व भएका र अर्थ वहन गर्ने अक्षर वा अक्षर को समूह लाई शब्द भनिन्छ भन्ने व्याकरणिक मान्यता अनुसार विभक्ति भनेर तोक्ने गरिएका लाई, मा, बाट, देखि आदि अलग अस्तित्व बोकेका शब्द हुन् ।
व्याकरण भन्छ सार्थक अक्षरहरु को समूह नै शब्द हो र एउटा शब्द लाई एउटै डिको मुनि लेख्नु पर्छ । तेसो भए ‘लाई, मा, बाट, देखि’ आदि अक्षर का समूहहरु शब्द हुन् कि होइनन् ? अवश्य जसले पनि जवाफ मा शब्द हुन् भन्नै पर्छ । जब ती स्वतन्त्र अस्तित्व भएका शब्द हुन् भने एउटै डिको मुनि लेख्नु व्याकरण का हिसाब ले शुद्ध हो नै । दुइटा शब्द लाई जोडेर लेख्न का लागि व्याकरण मा शब्द व्युत्पादन को अलग्गै व्यवस्था छ । या त त्यहाँ सन्धि हुनु पर्छ या समास हुनु पर्छ या प्रत्ययवत् जोडिनु पर्छ । म विराटनगर बाट पोखरा पुगें । मास्को मा पनि मास को पीठो पाइँदो रहेछ । अरनिको को जन्म नेपाल मा भएको हो । यी वाक्यहरु मा विभक्ति अलग लेखिनाले अर्थबोध मा कति सहजता मिलेको छ त्यो बयान गरिरहनु नपर्ला ।
५) शब्दकोश मा शब्दहरु को प्रविष्टि । कुनै पनि भाषा को एउटा धर्म हुन्छ आफ्नो भाषा मा प्रचलित शब्दहरु लाई मिलाएर कोश को रचना गर्ने । अब कोश मा सके सम्म प्रयोग मा आएका सबै शब्द समेटिऊन् भन्ने रहर कोशकार को हुन्छ र हुनु पनि पर्छ । व्याकरण को सिद्धान्त मुताबिक एउटै डिको मुनि लेखिएका अक्षरहरु को समूह भनेको शब्द हो भने र विभक्ति लाई जोडेर लेख्नु पर्छ भन्ने कुरा मान्ने हो भने कोश मा मित्र, मित्रता, हिमाल, हिमालय मात्रै दिएर पुग्दैन । एउटै डिको दिएर लेखिने मित्रले, मित्रलाई, मित्रद्वारा, मित्रनिम्ति, मित्रदेखि, मित्रबाट, मित्रको, मित्रकी, मित्रका, मित्रमा, हिमालयले, हिमालयलाई, हिमालायद्वारा, हिमालयनिम्ति, हिमालयदेखि, हिमालयबाट, हिमालयको, हिमालयकी आदि सब रूपहरु ले कोश मा स्थान पाउनु परेन र ? हरेक डिको मुनि भएका एउटै शब्द हुन् भने कोश मा प्रविष्ट हुनु पर्यो होइन भने जोडेर पनि लेख्न भएन । हैन भने पाठकहरु सधैं भरि अल्मलिई रहन्छन् । पुस्तक मा देखिएका जोडिएका रूपहरु मध्ये कुन चाहिँ विभक्ति जोडिएको हो र कुन चाहिँ होइन । नेपाली भाषा का सिकारु लाई त्यो ठूलै समस्या बनिरहन्छ । पुस्तक मा देखेको साइको, मेडिको, जानकी, डिको, ओसामा, पालकी, अरनिको जस्ता शब्दहरु लाई कोश मा खोज्दा साइ, मेडि, जान आदि मात्रै खोज्ने हो कि साइको, मेडिको, जानकी आदि नै खोज्ने हो ? हात्तीपाइले मा हात्तीपाइ मात्रै मूल शब्द हो र ले जोडिएको हो कि हात्तीपाइले नै सिंगो शब्द हो ? विभक्ति लाई प्रत्यय मान्ने हो भने प्रत्यय जोडिएर बनेका मिठाईं, गफाडी, सुताहा, गर्नु जस्ता शब्दहरु लाई कोश मा ससम्मान स्थान दिने तर नेपालबाट, सगरमाथामा आदि शब्द लाई स्थान नदिनुको आधार कसरी पुष्टि गर्न सकिन्छ ? कि त प्रत्यय जोडिएका कुनै पनि शब्दहरु कोश मा हुनु भएन । नेपाल मा ई प्रत्यय जोडिएर बनेको नेपाली पनि हुनु भएन, शिला मा औटो प्रत्यय जोडिएर बनेको शिलौटो पनि हुनु भएन, अ प्रत्यय जोडिएर बनेको आतिथ्य पनि हुनु भएन र काव्य पनि हुनु भएन । होइन, दुइटा अलग अलग अस्तित्व का शब्दहरु जोडिएर समास विधि द्वारा सगरमाथामा, नेपालबाट आदि बनेका हुन् भनौं भने यी रूपहरु कोश मा नदिने बित्तिकै अन्य समस्त शब्दहरु पनि कोश मा दिन भएन । न त गलबन्दी दिन पाइयो, न त चन्द्रविन्दु, न शब्दकोश, न त राजनीति । अनि फेरि विभक्ति शब्द मा जोडिने व्यवस्था कुन प्रकार को समास भित्र पर्छ भन्ने पनि खुलाउनु पर्यो । यी प्रश्नहरु का जवाफ तपाईं हामीले खोज्नुपर्ने होइन र ?
६) विभक्ति जोड्छु भन्दा भन्दै पनि जोड्न नमिल्ने अनेक अवस्था छन् । तेसलाई हामीले पूरै बेवास्ता गरेको अवस्था छ । अहिले को व्याकरण अनुसार त त्यो अशुद्ध हो नि । तर हाम्रा गुरुहरु तेसलाई अशुद्ध भन्न सक्ने हैसियत राख्नु हुन्न । किनकि असत्य माथी टेकेर व्याकरण ठडिएको छ । जस्तो कि—
(क) कुनै कुरा लाई बढ्ता महत्व दिनु परेको अवस्था । एस्तो बेला मा या त विभक्ति नजोडिकन लेख्न खोजिन्छ, या त जोडियो भने पनि जुन शब्द लाई बढ्ता जोड दिनु परेको हुन्छ तेसलाई बोल्ड गरेर वा अर्कै रंग मा छापेर देखाइन्छ ।
जस्तै— मौनता को विमोचन । मेरी सुपुत्री सुशीला ढुंगाना को फलाना का सुपुत्र सुशील देवकोटा सँग हुने विवाह । कान्तिपुर र नागरिक का बीच भीडन्त । इत्यादि ।
(ख) कुनै शब्द कमा ‘ ’ भित्र रहेको अवस्था । यदि कुनै शब्द कमा भित्र छ भने पनि तेस मा विभक्ति जोडेर लेख्न मिल्दैन । तर के प्रत्यय लाई एसरी अलग्याएर लेख्न मिल्छ ?
जस्तै— कोमलनाथ विरचित ‘कोमल गीता’ को पच्चीसौं संस्करण बजार मा । प्रसिद्ध उपन्यास ‘अग्निदहन’ मा वर्णन गरिएको समस्या । कोशहरु मा कतै ‘लाई’ लाई विभक्ति भनेको भेटिन्छ भने कतै प्रत्यय ।
(ग) संख्या को लगत्तै विभक्ति आएको अवस्था । अंक पछि विभक्ति आएको छ भने पनि विभक्ति जोडेर लेख्न मिल्दैन ।
जस्तै— पौष २७ को दिन लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस का रूप मा मनाउने निर्णय । पुषे १५ को विशेषता अर्कै छ । मेरो भाई १० मा पढ्छ ।
(घ) कुनै शब्द को व्याख्या कोष्ठक भित्र गर्नु पर्दा को अवस्था ।
जस्तै— भेजिटेरियन (शाकाहारी) ले तरल पदार्थ पिउँछन् र कार्निभोरस (मांसाहारी) ले चाट्छन् । महाकवि देवकोटा (लक्ष्मीप्रसाद) को बालक काल को नाम तीर्थमाधव देवकोटा हो । बयल (गोरु) बाट तानिने हुनाले तेसको नाउँ बयलगाडा रहन गएको हो ।
(ङ) दुई वटा विभक्ति सँगै आएको अवस्था । यो कुरा लाई कतिपय व्याकरणहरु मा दुइटा विभक्ति सँगै आएमा दोस्रो लाई अलग लेख्नुपर्ने भनेको भेटिन्छ । तर यदि विभक्ति भनेको प्रत्यय हो भने के एसो गर्न मिल्छ त ? ‘मेरालागि’ जस्ता शब्दहरु कसरी लेख्ने ? मेरा मा पहिल्यै रा विभक्ति जोडिएको छ । अब लागि चाहिँ दोस्रो विभक्ति हो । भने पछि जोड्न नमिल्नु पर्ने । एसरी आँफूले लेखेका कुरा आँफैले काटेको पनि व्याकरण का गुरुहरु चाल पाउँदैनन् । दुइटा विभक्ति सँगै आएका अवस्था धेरै हुन्छन् ।
जस्तै— नगरविकासका लागि भनेर आएको बजेट । हामीहरुका लागि देशभक्ति खालि बोल्ने विषय मात्र नबनोस् ।
(च) अन्य भाषा को शब्द पश्चात् विभक्ति लेख्नु पर्दा को अवस्था । अन्य भाषा का शब्द मा नेपाली विभक्ति जोड्न मिल्दैन ।
जस्तै— अंग्रेजी religion को ठ्याक्कै नेपाली के होला ? सम्प्रदाय कि धर्म ? प्रसिद्ध नेपाली उपन्यास Darling Harbor को अंग्रेजी संस्करण अब छिटै बजार मा आउँदै छ । म Sydney बाट हिडें । के इनैलाई नेपाली मा लेख्दा— "अंग्रेजी रिलिजनको ठ्याक्कै नेपाली के होला ? सम्प्रदाय कि धर्म ? प्रसिद्ध नेपाली उपन्यास डार्लिङ हार्बरको अंग्रेजी संस्करण अब छिटै बजार मा आउँदै छ । म सिड्नीबाट हिडें ।" बनाउने ? के एसो गर्दा बोधगम्य हुन्छ ?
७) हामीले नेपाली भाषा को वर्णविन्यास लाई व्यवस्थित गर्दा नेपाली जस्तै अन्य भाषा ले के गरेका रहेछन् र तेसो किन गरे होलान् भनेर पनि हेर्नु उपयुक्त हुन्छ । तर एसरी अध्ययन गर्दा तत् तत् भाषा को प्रकृति कस्तो रहेछ भन्ने पनि बुझ्न बिर्सन हुँदैन । एसरी अध्ययन गर्दै जाने हो भने संस्कृत बाट जन्मिएका अनेकौं भाषा मध्ये धेरै जसो भाषा मा विभक्ति ले अलग्गै अस्तित्व बनाएको भेटिन्छ । नेपाल मै बोलिने मगही, मारवाडी, भोजपुरी, अवधी आदि भाषा मा विभक्ति अलग लेख्ने प्रचलन छ । गुजराती, पंजाबी, तेलुगु मा पनि विभक्ति छुट्याइन्छ । हिन्दी पनि विभक्ति अलग गर्ने दिशा तर्फ उन्मुख भइरहेको अवस्था छ । समष्टिगत रूप मा अध्ययन गर्दा कुनै पनि भाषा संश्लेषण बाट विश्लेषण को दिशा तिर बढिरहेको देखिन्छ । यो कुरा ल्याटिन र अंग्रेजी लाई वा संस्कृत र नेपाली लाई तुलना गरेर हेर्न सक्छौं । शब्दहरु आ–आफ्ना अस्तित्व बोकेर अलग्गै उभ्भिन चाहन्छन् । मानूँ स्वावलम्बी हुने रहर हामी मा मात्रै होइन शब्द मा पनि हुन्छ । एसरी शब्द को स्वभाव, भगिनी भाषाहरु को अवस्था तथा नेपाली भाषा को प्रकृति सबै लाई आधार मानेर हेर्दा सुप् प्रत्यय का रूप मा शब्द को स्वरूपै बदलेर जोडिएका विभक्ति बाहेक अन्यत्र विभक्ति छुट्याउनै पर्ने देखिन्छ ।
८) विभक्ति लाई जोड्ने कि छुट्याउने भनेर अध्ययन गर्दा इतिहास लाई पनि केलाएर पर्गेल्नुपर्ने हुन्छ । नेपाली भाषा को जन्म भएको झण्डै १००० वर्ष भयो । यी १००० वर्ष मा ९०० वर्ष विभक्ति अलग लेख्ने गरियो । नेपाल को जेठो दैनिक पत्रिका गोरखापत्र को जन्म हुँदा पनि विभक्ति अलग लेख्ने प्रचलन रहेछ भन्ने कुरा तेति बेला का गोरखापत्र हेरेर थाहा पाउँछौं । विभिन्न ताम्रपत्रहरु, शिलालेखहरु तथा भानुभक्त, मोतीराम, पृथ्वीनारायण, जयपृथ्वी बहादुर, राममणि आदी जस्ता विद्वानहरु का पाण्डुलिपि को अध्ययन गर्दा त्यो समय मा विभक्ति अलग लेखिने कुरा छर्लंग देखिन्छ । तर १०० वर्ष एता एउटा ठूलो भूल का कारण विभक्ति जोड्ने परम्परा को थालनी भयो । त्यो भूल का सूत्रधार हुन पुगे पं. हेमराज गुरु । उनले लेखेको चन्द्रिका व्याकरण मा तत्कालीन राणा प्रधानमन्त्री को लालमोहर लागे पछि विभक्ति जोड्ने कुरा को श्रीगणेश भयो । तेसको विरोध मा उत्रिएकाले जयपृथ्वी बहादुर लाई गोरखापत्र को सम्पादक पद बाटै हटाइएको थियो । हेमराज गुरु ले विभक्ति जोड्नु पर्छ भन्नुका पछाडी संस्कृत भाषा को आधार बाहेक अरु कुनै कारण थिएन । त्यो बेला राणा प्रधानमन्त्री को बर्खिलाप जाने साहस कमैले गरे । तर्क भन्दा शक्ति को बोलबाला भएको समय थियो । तेस पछि धमाधम विभक्ति जोडिएर पुस्तकहरु लेख्न थालिए । अनेक व्याकरण आए । अनेक गुरु बने । अब विभक्ति अलग गर्नुपर्ने कुरो रहेछ भन्दा गुरुहरु लाई समस्या । आँफूले जे गर्नु पर्छ भनेर पढाइयो त्यो गलत रहेछ भनेर आफ्नै मुख ले कसरी भन्ने ? आफूले लेखेका व्याकरण का कृति लाई के गर्ने ? इनै पछिल्ला १०० वर्ष मा अनगिन्ती पुस्तकहरु निस्किए । असंख्य पाठकहरु जन्मिए । तर यी पछिल्ला शय वर्ष नेपाली भाषा का गुरुहरु ले नेपाली भाषा माथी अनेक नचाहिँदा आक्रमण र वितण्डा मच्चाएका वर्ष का रूप मा इतिहास मा कोरिने पक्का छ । अहिले केही विद्वान्हरु ले बेथिति नै सही एति का वर्ष स्थिति बसिसकेकाले एसलाई नचलाऔं भन्ने गरेको पनि सुनिन्छ । तर नेपाली भाषा को व्याकरण को शैशवकाल को समय हो यो । जति व्याकरण लेखिए तिनमा खोजी कम र पुनर्लेखन ज्यादा भयो । नेपाली भाषा एउटा वैज्ञानिक व्याकरण को पर्खाई मा छ । अनि १००० वर्ष मा १०० वर्ष भनेको कुनै ठूलो कुरा होइन । अझै केही बिग्रिएको छैन । सच्याऊँ र सच्चिऊँ ।
९) सरलता को कुरा । भाषा लाई प्रविधि निकट बनाउनु पनि हाम्रो लक्ष्य हुनु पर्छ । भाषा जति सरल हुन्छ तेति नै लेख्न, बोल्न मात्रै होइन प्रविधि का लागि पनि सहज हुन्छ ।
(क) डिको लगाउने कुरा । कसै कसैले भनेको सुनिन्छ, डिको लगाउने झण्झट का कारण छुट्याउनु पर्छ भन्नु उचित होइन । तर विभक्ति अलग लेख्ने कुरा हो भन्ने सत्य लाई बुझाउन खोज्दा यो प्रसंग सहायक बुँदा का रूप मा मात्रै ल्याइएको हो । लामा लामा शब्द मा डिको लगाउन गाह्रो हुने मात्र होइन, पढ्न पनि अपठेरो हुन्छ । अहिले पनि कतिपय नेपाली भाषा का गुरुहरु एस्तो लेख्नुहुन्छ र एस्तै लेख्न सिकाउनु हुन्छ— व्याकरणविद्हरुलगायतबाट विभक्तिटाँससम्बन्धी अवधारणाअनुसारका लेखरचनाहरु आइरहे । संचारमंत्रालयमुताबिक पत्रपत्रिकाहरुकालागि विनियोजितरकममध्ये केही बाँडियो ।
(ख) अर्थ सम्प्रेषण को कुरा । कतिपय ले विभक्ति अलग गरेर लेखेका वाक्यहरु पढ्दा झुक्किने कुरा बताउनु हुन्छ । एस्तो हो भने यो क्षणिक समस्या हो । जब कि यथार्थ तेसको उल्टो छ । विभक्ति अलग लेख्न र पढ्न थाले पछि विभक्ति जोडेका वाक्यहरु अटपटा लाग्न थाल्छन् । विभक्ति जोडिएका भन्दा विभक्ति अलग गरिएका वाक्यहरु छिटो पढिन्छन् र छिटो बुझिन्छन् ।
(ग) विभाषी ले नेपाली भाषा पढ्ने कुरा ।
मानौं एउटा अंग्रेज ले नेपाली पढ्न चाह्यो । उसले केही नेपाली शब्द सिके पछि पुस्तक पढ्न खोज्दा नेपालीले इतिहासको अनादरबाहेक केही गरेनन् भन्ने वाक्य देखेर अलमलियो । उसलाई ले, को जस्ता शब्द विभक्ति र बाहेक जस्ता शब्द नामयोगी भएको हुनाले जोडिन्छन् भनेर सिकाउनु पर्छ । अब फेरि ‘कमा बाइमात्रा तर्कुले लगाएसि रूप फेरिन्छ’ भन्ने जस्ता वाक्य देख्दा हामी त अलमलिन्छौं, विचरा उसको हालत के होला ? 'क' अक्षर मा 'मा' विभक्ति जोडिएको हो कि 'कमा' नै भन्न खोजेको हो ? तर्कु मा ले विभक्ति जोडिएको हो कि तर्कुले नै शब्द हो ? इनै अलमल का कारण नेपाली लाई हिन्दी सिक्न जति सजीलो छ हिन्दी भाषी लाई नेपाली सिक्न उति नै गाह्रो भएको हो । हामी त बढी भन्दा बढी मान्छे ले नेपाली बोलुन् नेपाली सिकुन् र नेपाली साहित्यकार का कृति पढुन् भन्ने चाहन्छौं, हैन र ?
(घ) प्रविधि मा अनुवाद का कुरा ।
जस्तै— 'मलाई गाउँले नभन' भन्ने वाक्य लाई अंग्रेजी मा अनुवाद गर्नु पर्यो भने Don't ask me to give village. भन्ने कि Don't say me villager. भन्ने ? यदि विभक्ति अगल गर्ने परिपाटी हुन्थ्यो भने एसमा कुनै अपठेरो हुन्नथ्यो । कि त 'मलाई गाउँ ले नभन' भनिन्थ्यो कि 'मलाई गाउँले नभन' भनिन्थ्यो ।
अर्को उदाहरण— 'ऊ साइको भक्त हो ।' एसलाई गुगल ट्रान्सलेशन मा गएर हेर्ने हो भने- He is a devotee of Pshycho. भनेको देखिन्छ । यदि तेहीं ऊ साई को भक्त हो भनेर हान्ने हो भने- He is a devotee of Sai. देखाउँछ । यहाँहरु ले पनि नेट मा गएर यो हेर्न सक्नुहुन्छ । यो समस्या लाई हटाउन विचरा प्राविधिक मित्रहरु दिनरात खटिनु भएको छ । उहाँहरु नेपाली भाषा मा विभक्ति जोड्ने प्रचलन ले यी समस्या निस्केको तर थप केही मिहिनेत पछि निराकरण गर्न सकिने बताउनुहुन्छ । एसले विभक्ति जोड्ने कुरा प्रविधि का दृष्टि ले पनि सरल होइन भन्ने सिद्ध गर्छ ।
थप उदाहरणहरु— प्रविधि लाई अनुवाद सिकाउँदा शब्द को अन्त्य मा ले आयो भने मानूँ दथ भन्ने बुझ्नु भनेर सूत्र दिइन्छ । तर गाउँले, ठिमीले, हात्तीपाइले, बाइफाले, काले, झाले, माले, खोले, पाले, गाले, थसुल्ले, गुथुल्ले, काहुँले, भादगाउँले, तर्कुले, साले, घले, छले, दले, साखुल्ले आदि शब्द आउनासाथ प्रविधि झुक्किन्छ । तेस्तै प्रविधि लाई को, का, की आयो भने of बुझ्नु भनेर सूत्र दिनु पर्ने हुन्छ । तर तरीका, काका, टाँका, किथिर्को, बोर्को, कोर्को, फुर्को, लुर्को, अरनिको, चुबुर्को, साइको, मेडिको, ओसाका, लाइका, जाइका, राँको, फाँको, होलिका, टाउको, बालिका, नगरपालिका, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, गाउँपालिका, भइसकेका, गरिसकेका, हिंडिसकेकी, पाएकी, गाएकी, टीको, टीका, पाको, पाका, टोड्को, डाँको, जलुको, मालिका, तालिका, अन्टार्कटिका, माल्विका, बाँकी, झाँकी, पालकी जस्ता असंख्य शब्द मा फेरि अलमलिन बाध्य हुन्छ । अनि प्रविधि मा लाई का ठाउँ मा to बनाउनु भनेर सिकाइन्छ । तर जलाई, बोलाई, फुलाई, गलाई, सिलाई, ढिलाई, फैलाई जस्ता अनगिन्ती क्रियामूल बाट बनेका शब्दहरु देखि लिएर मलाई (दूध को तर), सलाई, करलाई, हातलाई शब्द समेत मा प्रविधि लाई गाह्रो पर्छ । प्रविधि लाई मा आयो भनें in/on/at गर्नु भनेर सिकाइला । तर मामा, आमा, जामा, ओबामा, ओसामा, कमा, जम्मा, महिमा, बलमा देखि लिएर खाएमा, गाएमा, पाएमा, हिँडेमा, बोलेमा जस्ता असंख्य क्रियामूल बाट बनेका शब्दहरु मा आए भने प्रविधि अलमलिन्छ । के भाषा लाई प्रविधि बाट पर लैजानु भाषा का लागि हितकर हुन्छ ?
एसरी हामीले विभक्ति अलग गर्नु पर्ने कुरा लाई व्याकरण का दृष्टि ले, नेपाली भाषा को स्वभाव का दृष्टि ले र सरलता का दृष्टि ले एक एक गरेर पर्गेलेर हेर्यौं । कुन कुन आधार मा कसरी उचित छ भन्ने बारे मा पनि छलफल गर्यौं । एति हुँदा हुँदै पनि हामीलाई विभक्ति अलग गर्ने कुरा स्वीकार गर्न हिच्किचाहट भयो भने तेसलाई के नाम दिने ? दुराग्रह ? हठवादी पन ? अवैज्ञानिक मनोवृत्ति ? या अरु नै कुनै ? एकपटक स्थिर भएर सोचौं र अगाडी बढौं । नेपाली भाषा लाई बलियो