स्वयंभू प्रकृति वा प्रभूले आत्मप्रकाशन गर्छन्, सृष्टि हुन्छ। मान्छेले आत्मप्रकाशन गर्छन्, कलाको सृष्टि हुन्छ। सृष्टि प्रकृतिको कला हो। साहित्य, संगीत, गायन, चित्रकला, मूर्तिकला, नृत्य, अभिनय मान्छेका कला हुन्। साहित्यले सबै कलालाई वाणी दिन्छ।
भारतमा धेरैअघि महाकवि भर्तृहरिले भने--
साहित्य संगीत कला विहीन।
साक्षात् पशु पुच्छर सीङ हीन॥
उनले विकेकहीनतालाई पुच्छर र सिङ नभएको पशु भनेका हुन् भने यतिका शताव्दीपछि हाम्रो पालाको नेपालमा अब त्यो जन्तुलाई राजनीतिज्ञ, सभासद, मन्त्री, प्रधानमन्त्री जे भने पनि हुने भएको छ।
विवेकले गर्ने कला सिर्जना मान्छेको लागि किन यति महत्वपूर्ण छ ? आदिकाल देखि नै मान्छे किन कलामा रमाएको छ? किन साहित्य सिर्जनामा मरिमेट्छ? वैदिक युगका द्रष्टा मुनीहरूले किन देखे, किन बोले ? ती वाणीहरू पछिकाले किन लीपिवध्द गरे? अचेलकाले किन लेख्छन्? जीवनको कुनै कालमा हरेक लेखकले सोच्छ होला--मान्छेले किन लेख्छ ? म किन लेख्छु?
नेपालीका अग्ला, सग्ला, एक्ला, बेग्ला चमत्कारी लेखक 'फर्सीको झोल' पिएर पनि 'नेपाली शेक्सपियर हुने आकांक्षा' राख्ने महाकवि देवकोटाले त्यसै लेखमा भनेका छन्, 'मान्छेभित्र पनि एउटा चुम्बक हुन्छ जो अरूका इच्छाले जति घुमाए पनि आफ्नै ध्रुवतिर फर्कन्छ।'
उनीभित्रको चुम्बकीय ध्रुव थियो साहित्य सिर्जना।
यो कुरा उनले सबै कलाकारका लागि भने। हरेक कलाकार सानो देवकोटा हो, जसको आफ्नै चुम्बकीय ध्रुव हुन्छ। नत्र कोही किन कला साधना गर्छ? कोही किन बाजामा बिलाउँछ ? कोही किन गीतमा हराँउछ ? कोही किन नाचमा मस्त हुन्छ? कोही किन अभिनयमा रमाउँछ? कोही किन चित्रकलामा, मूर्तिकलामा लीन हुन्छ? कोही किन लेखनमा जीवन समर्पण गर्छ ? जवाफ देवकोटाले आफ्नो जीवन-कथामा र आफ्ना रचनाहरूमा दिएका छन्। दुखै पाए पनि मूलत: आत्मसुखका लागि।
कला हतियार पनि हो, जुन कसैले सिध्दान्त-प्रचारका लागि प्रयोग गर्छ। कसैले समाज सुधारका लागि प्रयोग गर्छ। कसैले म यति जान्दछु भनेर देखाउनका लागि प्रयोग गर्छ। कसैले उपदेश दिनका लागि प्रयोग गर्छ। ती सबै आत्मसुखका भेद हुन्।
समय बदलिएको छ। कला र लेखनको ठूलो व्यावसायीकरण भएको छ। जब कसैले काम र मामको लागि टिप्पणी लेख्छ, त्यो उसको वृत्ति हुन्छ। सबैलाई थाहा छ र टिप्पणीकारहरू स्वयंलाई झन् राम्ररी थाह छ कि उनीहरूले जुन नेतालाई आफ्ना टिप्पणी मार्फत उपदेश दिई रहेका हुन्छन्, तिनले तेस्ता उपदेशलाई बाल बराबर गन्दैनन्। म पनि निकै वर्ष स्तंभकार, टिप्पणीकार भएको हुँ। यो मैले निकै वर्ष स्तम्भकार, टिप्पणीकार भएर भोगी जानेको कुरा हो। त्यसमा काम, दाम, नाम सबै हुन्छ। त्यै मोहनीले लेखिरहन्छन् र आफ्नो कलाचातुर्य अनुरूप प्रसंशा वा निन्दा पाउँछन्।
तर यस लेखको चासो त्यो होइन। चासो हो सिर्जनामर्म र ऊँटको सौन्दर्यबोध। आज लेखक नामको प्राणी सिँदुरे बात लागेको दोबाटोको त्यो ढुंगो हो जसलाई कुनै प्रेमीले ढोग्छ भने कुनै कुकुरले तुर्क्याइ दिन्छ। कुनै दुर्जन जड्याहाले विख बमन गर्छ भने कुनै लाल बुझक्कड ऊँटले लत्याउँछ।
कैले काहीँ लाग्छ लेखकको मखुन्डो लाएको म मनुवा सडक छेउ झुप्रोको त्यो चिया पसले हुँ जसलाई जुन ग्राहकले पनि हप्काउन सक्छ। कैले चिनी पुगेन भनेर कैले बढी भो भनेर, कैले दूध पुगेन भनेर कैले बढी भो भनेर, कैले रङ पुगेन भनेर कैले बढी भो भनेर। कैले बढी तातो भो भनेर, कैले चिसो भो भनेर। कैले गिलास नै ठीक भएन भनेर।
कसैलाई बढी दूध मनपर्छ। कसैलाई कम। कसैलाई बढी चिनी मन पर्छ। कसैलाई कम। कसैलाई कडा रङ मनपर्छ। कसैलाई कम। कसैलाई काँचको गिलास मनपर्छ। कसैलाई पर्दैन। हरेक ग्राहकको आआफ्नै रूचि हुन्छ। कुनै एक रचनाले जगत्को चित्त बुझाउनु संभव छैन। तापनि लेखक नामक औतारी जन्तुले जन्तुले सबैलाई रिझाउने जस्तो असंभव काम गर्ने जिम्मा लिएको मानिन्छ। लेखक धर्म अनुसार उसले सबै सहनु पर्छ। बाजे भानुभक्तले उहिल्यै भने, 'सहु तिमी बडो हुन्छ सहन्या।'
कलाको पहिलो कस्टमर स्वयम् सर्जक हो। उसको आफ्नै पारख पहिलो कुरा हो। उसको पारखलाई अरू पारखीले के भने, त्यो महत्त्वपूर्ण हो। ऊँटले के भने त्यो गौण हो।
वनस्पतिले पनि आफू फुलेर, फक्रेर, फलेर, पाकेर, बीज बनेर, पुन: अंकुरित भएर आत्मप्रकाशन गर्छन्। जलचर, थलचर, नभचर सबैका आआफ्नै आत्मप्रकाशन हुन्छन्। प्रजनन जीवनचक्रमा प्रकाशित हुने अभिव्यक्ति प्रकृतिका नियम हुन्। त्यसैले होला सन्तानलाई आत्मज भनेको। पशुले पनि सुख, दुख, खुशी, बेखुशीका आत्मप्रकाशन गर्छन्। वनस्पतिले पनि आफ्ना सुख दुखका आत्मप्रकाशन गर्छन्।
मान्छेले जानेर वा नजानेर रूपसज्जा, वस्त्रसज्जा, केश, दारी, जुँगाका कट-सट र तिनका रंगरोगन, हिँड्ने, बोल्ने, अभिवादन गर्ने, कुरागर्ने शैली जस्ता शारिरिक भाषाहरू अनि बोलीको नम्रता, वक्रता र कटुताले आत्मप्रकाशन गरिरहेको हुन्छ। ती कति लामो अभ्यास र स्वभाववश अनायास गरिएका हुन्छन् भने कति सायास, सपरिश्रम गरिएका अभिनय।
अनि त्यै नौटंकीले टिप्पणी गर्छ--तिम्रो साहित्य गुदी नभएको आत्मप्रकाशन हो। आत्मप्रचार हो। अहंकार हो।
कलाकार, लेखकले त्यो निन्दा सहन सदाकाल तयार रहनु पर्छ।
तापनि त्यस ऊँटहरूलाई म भन्छु--ए मिस्टर, ऐना हेर, आत्मप्रकाशन नगर्ने, आत्मप्रचार साहित्यकार, कलाकार त के तिमी जस्तो चलनचल्तीको हल्काफुल्का स्तम्भकार, टिप्पणीकार पनि हुँदैन। तिमी जे गरिरहेका छौ त्यो सबै तिम्रो आत्मप्रकाशन, आत्मप्रचार बाहेक केही होइन। सिर्जना सेल्फ पोट्रेट नभए के हो त, नौटंकी ?
सिर्जना गर्ने कलाकार हुन्छन्। टिप्पणी गर्ने टिप्पणीकार। टिप्पणीकारले सिर्जनाको पहिलो अक्षर 'सि' पनि जान्नु पर्दैन, सिर्जनात्मक मर्मको कुरै पर जाओस्। बच्चा नजन्माइ प्रसववेदना थाहा हुँदैन भन्ने उखान उसै बनेको होइन। मूर्तिकारले मेहनत गरेर कुँदेको मूर्तीमा टिप्पणीकारहरूले बिशेषता बताउन सक्छन्। कमजोरी बताउन सक्छन्। तर तिनले छिनु छुनु त के छिनुले मूर्ती कुँदिन्छ भन्ने जान्नु पनि पर्दैन।
समस्त सृष्टि प्रकृतिको आत्मप्रकाशन भए जस्तै समस्त कला, समस्त अभिव्यक्ति कलाकारको आत्मप्रकाशन हो। आत्मप्रकाशन जब प्रसारित हुन्छ, तब आत्मप्रचार बन्छ। आत्मप्रकाशन नभएको, आत्मप्रचार नभएको सृष्टि हुँदैन, सिर्जना हुँदैन, कला हुँदैन।
मान्छेको पूर्णता हो आत्मप्रकाशन र आत्मप्रकाशनको पूर्णता हो कला सिर्जना।
कला अहंको अभिव्यक्ति हो। अहंकार नभएको कलाकार हुँदैन।
कलाकारले सारा ज्ञान, बुध्दि, विवेक, भाव, सीप र श्रम लाएर कलाको सिर्जना गर्छ। अनि उसले त्यसको संचार गर्छ। त्यसपछि उसले सबै ग्राहक अर्थात् पाठक र टिप्पणकारको दुलत्ति सहन तयार रहनु पर्छ। घोडाले दुलत्ती हान्छ। सवारले, सइसले सके छल्नुपर्छ नसके ढल्नुपर्छ। घोडाको दुलत्ती त उसले घोडालाई कुदाएर पनि सदाउन सक्छ। तर जब गधाले दुलत्ती हान्छ, अनि के गर्ने ?
देवकोटाले आफ्नै शाकुन्तल महाकाव्य बारे उसै भनेका होइनन्-
भोको भव्य भविष्य भृत्यसरि भै
मागोस् सदा काव्य यो
महाकविको त्यो भविष्यवाणी, त्यो भविष्यकामना अनुरूप भव्य शाकुन्तल महाकाव्यलाई भविष्य पर्यन्तले भोको भृत्यले झैँ मागेको माग्यै छ। उच्च कलाकारको असल अहंकार हो त्यो।
टिप्पणी गर्नेले पनि आत्मप्रकाशन र आत्मप्रचार नै गर्ने हो। तर ऊ आफ्नो आत्मप्रचार भने देख्तैन, अर्काको मात्रै देख्छ।
त्यस्तालाई साहित्य पारखी, 'वाह ! गजल' का लेखक गजलगुरू सनत कुमार वस्ती ऊँट भन्छन्।
"किन ऊँट ?" मैले सोधेँ
"शार्ङ्गधरपध्दतिको भनाई हो यो।" उनले भने। अनि यो श्लोक सुनाए।
कर्णामृतं सूक्तिरसं विमुच्य
दोषेषु यत्न: सुमहान् खलस्य ।
अवेक्षते केलि वनं प्रविश्य
क्रमेलक: कण्टकजालमेव ॥
कानमा अमृत घोल्ने अमृतमय काव्यीय सूक्तिरसलाई चटक्क छोडेर, दुर्जनले दोष पत्ता लाउन घनघोर परिश्रम गर्छ। प्रेमी युगलले आमोदप्रमोद गरिरहेको सुन्दर केलि वनमा प्रवेश गरेर ऊँटले काँडाको झाँङ नै देख्छ (त्यहाँ कुनै सौन्दर्य देख्तैन र काँडामा आफ्नो कुरूप थुतुनु गाड्छ।)
काव्यसंसारको केली वनमा ऊँटले काँडाको मात्र रसास्वादन गर्छ।
हरेक कलाकारको रचनात्मक जीवनकालमा ऊँटसंग जम्काभेट हुन्छ। मेरो प्रशस्त भएको छ, तपाईँको पनि भयो होला। नभए पर्खनोस्, जति माथि उक्लिनुहुन्छ, उती हुरी झेल्नु पर्छ।
तर मैले काव्य केलि वनमा विचरण गर्ने ऊँट मात्र भेटिनँ, फूलको रसका पारखी मौरी पनि भेटेको छु, जसले अत्यन्त उपयोगी मह मात्र होइन रानी मौरीलाई सदा क्रियाशील राख्ने जीवनामृत 'र्वायल जेली' पनि बनाउँछन्।
मौरी र रानी मौरीको पुर्ख्यौली लगायत सबै कुरा उनै र उस्तै भए पनि मह नै मुख्य आहारा हुने मौरीको आयु सात हप्ता हुन्छ। तिनै मौरीले बनाई दिएको 'र्वायल जेली' मुख्य आहारा हुने रानीमौरीको आयु तीन चार वर्ष हुन्छ र आफ्नो जीवनकालमा दुई लाख फुल पर्छ।
त्यस्ता कर्मठ मौरीहरूले गर्दा नै काव्यकेलि वन र कलाकारहरूको प्रयत्न सार्थक भएको हुन्छ। ती मौरीहरूलाई मेरो अभिवादन।