मुख्य पृष्ठ » निवन्ध » “पशु – पशुपति र मान्छे”

“पशु – पशुपति र मान्छे”

भैरव अर्याल
नाम : भैरव अर्याल
  भैरव अर्यालका रचनाहरू

“साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”
यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”
 
साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाई कान्जीहाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रिय भनाउँदो मान्छे।” साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो – “होइन हजुर! वास्तविक मर्कामा परेको पशु त अझ म
पो छु। जमिन जोत्नेको हुन्छ भनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरङ्गो बाँधिदिन्छ – आजको समाजवादी मान्छे।” साँढे र गोरु आँखा पल्टाउँदै थिए, वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो। उसले अर्जी गर्यो – “हामी विश्वका समस्त वानरजाति घरबारहीन छौं, तर हाम्रो यो समस्या हेरिदिंदैन- आजको विश्वबन्धुत्ववादी मान्छे।” यत्तिकैमा गैंडा र ग्राहको संयुक्त डाँको सुनियो – “हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिंदैन – आजको शान्तिवादी मान्छे।”
ओहो! सुन्दासुन्दा पशुपतिको कानै टट्टायो। उनले च्याँट्ठिएर भने – “यो सब तिमिहरुका बकबास हुन्। मान्छेमाथि मेरो पूरापूरा पत्यार छ।

“ऊ कहिल्यै पशुझैं मात्तिदैन, ऊ उत्ताउल्याइँ जान्दैन।” पशुपतिको कुरा काट्तै पशुराज सिंहले भन्यो – “होइन हजुर! हामीसित चोखो बल छ, तर मान्छेसित बिटुलो बुद्दि छ, बुद्दिभित्र छल छ। त्यसैले मान्छे भस्मासुर भैसक्यो, आज ऊ आफूबाहेक कसैलाई पनि गन्दैन, स्वयं पशुपतिलाई पनि पशुले मात्र पत्याउने पाषाण पो ठान्छ।”
पशुपतिजीले पशुहरुका कुरा सुनी दिक्क भएर सोधे – “त भन न आखिर तिमीहरु के चाहन्छौ?” साखुल्ले भएर अघि सर्दै ब्वाँसोले भन्यो -”अरु हामी केही चाहँदैनौं हजुर! यो मान्छेको जातलाई हाम्रो जिम्मा लगाइदिनुपर्यो। यिनिहरुले तपाईंको टाउको खान लागिसके।” “व्यर्थै केको फिक्री? मात्तिएको मान्छेलाई हात्तीले तह लगाउँछ।” दाह्रावाल हात्ती कड्क्यो। तर पशुपतिको चित्त बुझेन। उनले भने – “मैले कत्रो दु:ख गरी पाले-पोसेका, सिकाए-सधाएका मान्छे अब म पशुको जिम्मा ”

“दिऊँ? स्पुतनिक युगबाट फेरि जङ्गली युग फर्काऊँ? – यो हुन सक्तैन। पशूभन्दा मान्छे कहिल्यै नजाती हुँदैन।” बुढी गाईले नम्रतासाथ भनिन् – “हो हजुर! मान्छेलाई अब तहमा राख्ने हो भने यसको जिम्मा पशूलाई दिनुपर्छ। मान्छेसित केवल आसक्ति बाँकी छ, शक्ति छैन, आक्रोश बाँकी छ, प्रेम छैन। आशङका बाँकी छ, विश्वास छैन।” गाईको पनि यस्तो कुरा सुन्दा पशुपतिको मनमा अलिकति चिसो पस्यो। पशुपतिले गम्भीरताकासाथ सोधे – “आखिर तिमीहरुसित यसको प्रमाण के छ त? प्रमाणबिना अर्कालाई दोष लाउन पाइँदैन – बुझ्यौ?”
मुखामुख गर्दै पशुको प्रतिनिधिमण्डल चुप लाग्यो। अन्त्यमा बिदाइको सलाम गर्दै गधाले भन्यो – “प्रमाण एक मात्र होइन, हामी​
हजारौं लिएर आऔंला।” बाहिर आएर पशुहरु मान्छेको करतुत सबुद खोज्न थाले। कोही पुस्तकालयतिर गए त कोही वाचनालयतिर, कोही वेधशालातिर गए त कोही सैन्यशालातिर।

एक दिन पशुपतिको प्राङगणमा पशुहरुको कचहरी थियो। स्पष्टीकरण दिन मान्छेको प्रतिनिधि पनि उपस्थित थियो। सयौं हात्तीहरुले रासका रास पुस्तकहरु पशुपतिका अगाडि राख्तै भने – “मान्छेका दिमागको एउटा करतुत यही हो, जसको कारण आजको मान्छे बौलाएको छ।” पशुपतिले एउटा पुस्तक पल्टाएर सर्र पढे, पुस्तकमा कसरी अरुलाई उछिनेर आफू अघि बढने, कसरी मान्छे फकाउने, कसरी छकाउने र कसरी बहकाउने इत्यादि कुरा थियो। पशुपतिले आँखा अलि तरेर नजिकै बसिरहेको मान्छेलाई सोधे- “यो क्या हो?” मान्छेले फुर्तीसाथ जबाफ दियो- “यो पुस्तक हो- राजनीतिको पुस्तक।” पशुपतिले अर्को पुस्तक पल्टाएर,

“त्यसमा कसरी सम्पत्ति कसरी धेरै कमाउने, कसरी बचाउने इत्यादि कुरा थिए। मान्छेले बतायो- “यो अर्थशास्त्र।” पशुपति पुस्तक टिप्तै गए, मान्छे भन्दै गयो- “यो व्यापारशास्त्र, यो आधुनिक दर्शन नित्सेको, यो मनोविज्ञान फ्रायडको, यो डार्बिनको थ्योरी, यो ” “योगवशिष्ठ, यो धम्मपद, यो बाइबिल, यो इजरा पौण्डको कविता, यो क्यामुको कथा, यो …” पशुपतिले जिभ्रो काट्तै भने- “यी सब किन? किन यी सब? पशू ठिकै भन्छन- बुझिस् मान्छे! तँ बौलाहा भइछस्, धेरै मात्रामा बौलाहा बहुलाइसकिछस्। अब लैजा यी सारा कसिङगर। ए वानर हो! च्यातिदियो यी सारा थाङ्नाहरु।” मान्छे जिल्ल पर्यो। युगानुयुगदेखि उसले गर्दै आएको चिन्तन, मनन, मन्थन, आविष्कारको सम्पूर्ण राशि पुस्तकप्रति पशुपतिको यत्रो कुदृष्टि। आखिर पशुपति पशुकै पति रहेछन- तिनलाई मान्छेको दिमाग कति गहिरो र व्यापक छ – के थाहा?”
यत्तिकैमा एक बथान कुकुर, बिराला र मुसाहरुले अखबारको ठेली पशुपतिको समक्ष थुप्र्याए- ‘साम्राज्यवादी अमेरिकाले भयतनामलाई ध्वस्त पार्यो’- पशुपतिले अखबार एक-एक गरी पल्टाउँदै गए- ‘विस्तारवादी चीनले भियतनाममा खुट्टो घुमायो’, मङगलग्रहको तस्बिर खिचियो’, ‘अल्जेरियामा सैनिक विद्रोह’, ‘रुसको नयाँ राकेट, जोन्सन र दगालको भनाभन’, ‘जनकपुर चुरोट कारखानाको प्रगति’, ‘कलकत्तामा लाठीचार्ज’, ‘बर्लिनमा गोली हानाहान’, … “यी सब के हुन्?” रातो मुख लगाउँदै पशुपतिले सोधे। “यी अखबार हुन् हजुर! दिनदिनका समाचार, विचार छापिने अखबार।” पशुपति- “के यिनमा सब सत्यसत्य छापनिन्छन्?” “सत्य त सत्यै हुन्, तर आजको मान्छेको अगाडि सत्य गणितजस्तो छैन। देशदेशका आफ्ना सत्य, दलदलमा आफ्ना सत्य…।” मान्छेले व्याख्या गर्यो, पशुपति रन्किए। अखबारहरुलाई धुजाधुजा पारेर पशुपतिले भने – “बिग्रेछौ मान्छेहो! तिमीहरु पक्का बिग्रेछौ।”
“अँ, यो के हो नि?”-

“बाधबालुहरुले सकीनसकी बोकेर ल्याएका हातहतियारलाई नियाल्दै पशुपतिले सोधे। चितुवाले भन्यो- “हामीलाई हिंस्रक जन्तु भनेर हेलाँ गर्ने मान्छेले मान्छेमाथि नै प्रहार गर्न बनाएको यो बन्दुक, यो तोप, यो क्षेप्यास्तर, यो एटम बम…।” ”

“धिक्कार!!!” पशुपतिले लामो सुस्केरा हाल्दै मान्छेलाई धिक्कारे। सारा पशुहरुले कुनैले खुट्टा बजारेर, कुनै सिङ् तिखारेर र कसैले जुरो हल्लाएर भने- “कसो भो!!” मान्छेले अँध्यारो मुख लाएर स्पष्टीकरण दियो- “यी सब संहारको निम्ति होइन, सुरक्षाको निम्ति हामीले निर्माण गरेको हौं, शक्तिसन्तुलनको लागि बनाएका छौं…।”
“गर्यौ सुरक्षा!” भनेर अझ रन्कँदै पशुपतिले पशूहरुपट्टि फर्केर भनेर- “लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरुको बुद्दि र बठ्याइँ पाएँ भन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरुलाई अब तिमीहरु नै जेर गर्छौ गर।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्- अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसें।”
“हाम्रो समाजमा त यसलाई ल्याउन हुन्न, यसले भित्रभित्र बम बनायो भने…।”
“हो हो ल्याउन हुन्न, यसको पशुका छाउराछाउरीलाई पुस्तक पत्रिका पढ्न सिकाएर बिगारिदियो भने…।”
केही पशुहरु कराए। तर लुरुक्क परेर मानिसले आफ्नो बचेखुचेको मौलिकता पोली पशुका समक्ष आत्मसमर्पण गर्यो।
 

आषाढ, २०२२​
 लायकुसाल

साभार: “भैरब अर्यालका हास्य निबन्धहरु.” 

पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस