पोयुसाँप अब 'रानाभाट'को नेतृत्वमा

२० सेप्टेम्बर, २०१४

पोखरा ३ असोज । पोखराको जेठो वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको ३७ औं साधारण सभा तथा अधिवेशनले सुरेश रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपक समिप, सचिवमा अर्जुन अधिकारी, सह सचिव सुरज उपाध्याय र कोषाध्यक्षमा मोती भेजल भएका छन् । यसैगरी सदस्यहरुमा गनेस पौडेल, शरण आँसु, अमृत सुवेदी ‘गुराँस’ हेमकान्ती गुरुङ र सन्तोष बस्याल रहेका छन् ।



यसैगरी साहित्य संयोजकमा प्रकास ज्ञवाली, कला संयोजकमा मिलन शेरचन र संगीत संयोजकमा श्रीमान थुलुङ चयन भएका छन् । यस अघि साधारणसभामा बोल्दै परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठले नेपाली वाङ्मयिक क्षेत्रमा पोखरेली युवा सांस्कृतिक परिवारले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको बताए । २०३४ सालमा स्थापना भएर कला, साहित्य र संगीत तीन वटै विधामा काम गर्ने संस्था नेपालमै कम भएको भन्दै त्यसमा पनि परिवारले काम नेपालमै उदाहरणीय रहेको बताए । पुरानो भएका कारण मात्रै नभइ कामका आधारमै परिवार अगाडी रहेको उनको भनाई थियो ।

श्रेष्ठले परिवारमा रहेर काम गरेका तीन जना पूर्व अध्यक्षहरु अहिले कुलपति र प्राज्ञ सभासद् बन्नु परिवारको गर्वको कुरा भएको उल्लेख गर्दै परिवारका सदस्यले यही पदचापलाई पछ्याउनुपर्ने बताए । कलाकार दुर्गा बरालले कला, साहित्य र संगीतमा परिवारले पोखरालाई ओसिलो बनाउने काम गरेको बताए । यहाँ थुप्रै साहित्यकार, संगीतकार र कलाकारको जन्म भएको भन्दै उनीहरुले गरेको कर्मले पोखरालाई, पोखरा बनाउन सहयोगको गरेको बताए । सरस्वती प्रतिक्षाको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष प्रतिक्षाले संस्थागत प्रतिवेदन र सचिव प्रकास ज्ञवालीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोती भुजेलले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

आफ्नो कार्यकालमा विशेष सहयोग गरेको भन्दै प्रतिक्षाले विभिन्न पाँच जनालाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेकी थिइन् । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार टोपबहादुर थापा संयोजक र आनन्द श्रेष्ठ तथा इश्वरमणी अधिकारी सदस्य रहेको निर्वाचन समितिले प्रक्रियागत रुपमा आएको नयाँ कार्यसमितिको नाम घोषणा गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए । नव निर्वाचित समितिको शुक्रबार नै पहिलो वैठक बसी निर्वाचन समिति, निवर्तमान कार्यसमिति र सल्लाहकारहरुलाई धन्यबाद ज्ञापन गरेको छ भने विभिन्न योजना र शसक्त भई एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय गरेको छ ।

समाचार स्रोत: अमृत सुवेदी ‘गुराँस’

पाठकको प्रतिक्रिया