मुख्य पृष्ठ » कविता » प्रतिक्षण (क्वान्टम कविता)

प्रतिक्षण (क्वान्टम कविता)

bool(false)

वाईफाई क्षेत्रका रैथानेहरु
फेसबुकमा "लाइक" को रोपाईं गर्न
अहोरात्र बाँचिरहेछन्
पंचियोलप्राय: जिन्दगी -
त्यहीं जागीर खाएजस्तो !!

संसार
सुन्तला छोडाएको केश्रा जस्तो
खण्डित/विखण्डित !!
सत्य/भ्रम/ भर्च्युएल् ...
परिभाषा र सीमा बाहिर
"पारानर्मल" विचार -
आयामहरुको धरातलमा
गजधम्म पिरामिड उभिरहेछ ....

<< विचारहरुको रंगीन / रंगहीन प्रतिविम्ब -
हामीले देख्ने भोग्ने गरेको संसार हो /होइन ...>>
यो प्रश्न /प्रतिप्रश्नमा
टक्क रोकिँदा छालहरू विचारको -
भन्न बाँकि / अव्यक्त कुराहरु
जो आँखा /ओंठका मुद्रामा
सल्बलाई रहेछन्
कति सुन्दर / मीठा लागिरहेका छन्

एक विचारले छोप्यो  :
"तिमीलाई माया गर्छु "
उच्चारणमा झरे पछि त्यो
माया कै अन्त्यस्टी गरे जस्तो !

अर्को विचारले फेरि लडायो  :
"भो आजदेखि पिउँदिन...(चीसो पानी !)  "
उच्चारणमा झरे पछि त्यो
दुर्गन्धित जँड्याहाको आदिम सपथ जस्तो !

कतै गएको विचार  फेरि आयो :
"अब म बाँच्न चाहन्छु"
उच्चारणमा झरेपछि त्यो
भर्खरै चिहान / घाटबाट फर्केको मलामी जस्तो !

मानौं यहाँ शब्द
मान्छेको शिकार खेल्न निस्केको छ
र मेरो उपस्थिति  निशब्द बन्न थालेको छ
हिजोआज
हेर्छु हजारौं शक्तिशाली शालिक -
म जस्तै छ
हेर्छु हजारौं सुन्दर  फूल
म जस्तै छ
हेर्छु पूर्णेको बाटुलो जून
म जस्तै छ
मौन
मानौं सबैतिर छ मेरो अस्तित्व !

कतै "म" छुइन ...

सन्त्रासको सिरक ओढेर सुतिरहेको
संसारमा
जहाँ जे रोपे पनि तरबारै उम्रिन्छ किन ?
डराई डराई फुल्ने साकुरा -
एकाबिहानै साउती गरिरहेछ
तेश्रो विश्वयुद्धको डढेलो -
तिम्रो विचारको बेहोस विचरण
मौनताको पासो बाँधेर
मध्यान्हको  टुंडिखेलमा किन बाँधिदैन ?
मेरो विचार फेरि स्तब्ध भयो
कल्पनाको एक क्वान्टम  -

अहिले
तिम्रो अनुभूति
'स्क्यान' गरिरहेछु -
मान्छेको "छुएला /कचिला"
कति भोको प्रतिक्षा -
मौन सौन्दर्यको
खुला उपहास
मान्छेको !
भो, म कविता -
यहीँ रोकिन्छु
फेरि विचार चल्न थाल्यो
फेरि रोकिन्छु ...
रोकिन्छु
"...रो"
किन्छु
बाँध्छु
बाँध
छु

अझै !

 

हाल: मस्को, रसिया |

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस