उज्यालोको बलले
खुलेको छ युगीन अँध्यारोको ढोका
कहिल्यै बन्द नहुने गरी ।
अँध्यारोको सुरूङ भित्र छिरेको मेरो उज्यालो
धेरैबेर कता हरायो हरायो
मलाई पत्याउन गाह्रो थियो अँध्यारोभित्र उज्यालो हराउँछ सधैँ
मलाई विश्वास गर्न गाह्रो थियो मेरो वस्तीमा अँध्यारो अडिईरहन्छ पछिसम्म
तिमी अँध्यारोको उपासनामा लागेका रहेछौ
म भने उज्यालो डाकिरहेको छु ।
मलाई थाहा छैन उज्यालो हराएको (
अँध्यारो धेरै समय रोकिएको पनि मलाई थाहा छैन
उज्यालोको आकाश टाँगिएको छ म माथिमाथि
म उज्यालोको पहाडले घेरिएको उपत्यकामा छु
उज्यालोकै सडक भएर मैले हिँड्नु छ निकै टाढा ।
अँध्यारोका हुँडारहरू दाह्रा ङिच्याएर मान्छेलाई लखेटेको लखेट्यै छ
अँध्यारोकै हुच्चिलहरू उज्यालोको छानामाथि बसेर अपसकुन बास्न खोज्छन्
म उज्यालोको राँकोले अँध्यारा हुँडारका हुललाई लखेटिरहेछु परैसम्म
म उज्यालोको हात उज्याउँछु अँध्यारोकै हुच्चिलका बथान धपाउन ।
म यहाँ अँध्यारोको साम्राज्यवाद विरूद्ध हुँकार गर्न आएको हुँ
म यहाँ अँध्यारोको नानावली तह लागेनलागेको हेर्न आएको हुँ
तिमी त अझै अँध्यारोकै आराधनामा रहेछौ ।
म मान्छेहरूलाई उज्यालोको वस्तीमा बसेको हेर्ने चाहाना पूरा गर्न हिँडेको हुँ
म अँध्यारोलाई कतै नदेखिने गरी उज्यालो बाल्न हिँडेको हुँ
सक्छौ भने सघाउ मलाई अँध्यारोलाई लखेट्न
अझैसम्म अँध्यारोलाई भाकिरहेको तिमी
अब उज्यालोलाई स्वागत गर्न तयार होउ
र पत्याउँछौ भने एउटा कुरा भनेर कविता अन्त्य गर्छु
तिमीलाई अँध्यारोलेभन्दा उज्यालोले
सधैँलाई बचाउँछ
सधैँभरिलाई बचाउँछ ।
samba.dhakal@ntc.net.np