पुज्दैमा पत्थर भगवान हुँदैन
ढुंगा र थुंगा समान हुँदैन
उकाली देखेर तर्सिन्छ दुनियाँ
जिन्दगी सधैंभर मैदान हुँदैन
समस्या सदैव अवसर दर्शाउँछ
को भन्छ त्यसको निदान हुँदैन
बिनाले कस्तुरी हराए झैँ लाग्छ
जब त्यो ओंठमा मुस्कान हुँदैन
अथाह हुन्छ सकिन्न बुझेर
मायाको अन्त्य र मुहान हुँदैन
देखेर तिमी अरुले के सोच्छन
म संग त कुनै बयान हुँदैन
पुज्दैमा पत्थर भगवान हुँदैन
ढुंगा र थुंगा समान हुँदैन
(यो गजल, प्रमेश कँडेल को पहिलो प्रकाशोन्मुख कृति “सुनको पिँजडा” बाट लिइएको हो । साताको साहित्य डट कम को प्रकाशनमा यो कृति चाँडै प्रकाशित हुँदैछ ।)