मुख्य पृष्ठ » कविता » पर्यटकको आवाज

पर्यटकको आवाज

bool(false)

मेरो बुवा भन्नुहुन्थ्यो
कम्तीमा एकपल्ट
नेपाल घुम्न अवश्य जानू
त्यहाँ विश्वको तेस्रो ध्रुव छ,
शान्तिदूत बुद्धका अमर आँखा छन्
प्रकृतिको अनुपम वरदान छ

अखण्ड हिमाली श्रृंखलाहरुको काखमा
असंख्य मनोरम तालतलैयाहरु छन्
दुर्लभ चराचुरुङ्गी र वन्यजन्तुहरुले भरिएका
अतुल्य सिमसारहरु छन्
सफा स्वच्छ कलकल बग्ने
सयौं झरना र नदीनालाहरु छन्
अमूल्य जडिबूटीहरु फल्ने
सुनगाभा, सुनाखरी र गुराँस ढकमक्क फूल्ने
अजङ्ग भीरपाखाहरु छन्

बहुमूल्य सम्पदाहरुले भरिएको
वैभवशाली संस्कृति छ
अतिथि देवो भवः
अनि अहिंसा परमो धर्म
जस्ता परम्परागत मान्यता बोकेको
अकृत्रिम सभ्यता छ

सुनेर कल्पना गरेको थिएँ
स्वर्ग नै होला त्यो ठाउँ

तर आज यहाँ आइपुग्दा
मैले सुनेको र कल्पना गरेको
“सुन्दर नेपाल” मासिंदै गैरहेको देखें ।
नाङ्गा उजाड भीरपाखा अनि
अतिक्रमित नदीनाला भासिंदै गैरहेको देखें
लोपोन्मुख वन्यजन्तु, उपेक्षित संपदाहरु
कंक्रीटको जंगलबीच नासिंदै गैरहेको देखें
के तिमी देखिरहेका छैनौ ?

यो कंक्रीटको जंगल, यी अग्ला भवनहरु
झलमल्ल शपिङ्ग मल अनि चिल्ला गाडीहरु
यो हेर्न त म यहाँ आएको हैन
यीभन्दा राम्रा मेरै देशमा कति छन् कति

फोहोरको थुप्रोले आक्रान्त भएर
सगरमाथा चुपचाप रोईरहेछ
के तिमी सुनिरहेका छैनौ ?
बुद्ध नेपालमा जन्मिएकोमा तिमी गर्व गर्छौ होला
तर नेपालीले कपिलवस्तु र लुम्बिनीको उपेक्षा गरी
सधैं लोभ, हिंसा र अशान्तिमा रुमल्लिईरहँदा
अनि विदेशीले आएर लुम्बिनीलाई सिंगार्नुपरेको देख्दा
आफु नेपालमा जन्मिएको हुँ भन्न
आज बुद्धलाई लाज भैरहेछ ।
के तिमी देखिरहेका छैनौ ?

यस्तै हो भने
भोलि म मेरो छोरोलाई कसरी भनूँला,
कम्तीमा एकपल्ट
नेपाल घुम्न अवश्य जानू ??

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस