जब जब
घरमुनिको
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग' कराउँथे -एका बिहान बिहानैदेखि
तब तब
मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु
पर
बाटोको उपल्लो छेउसम्म
परदेशीएका छोराका
खबरहरुको आगमनको आसमा बिछिन्थ्यो
अनि
स्वचालित ढंगले
केहि सपनाहरु बुनिन्थ्यो
न कुनै कुसहरु
न त हातहरुनै देखिन्थे आँखाहरुमा
र पनि
बृद्ध सपनाहरु बुनिन्थे बृद्ध आँखाहरुमा
'काग कराउनु'
अनि 'खबर आउनु' बीच
कुनै नाता नरहे झैं
आँखाहरु
र सपनाहरुको पनि
आजभोलि
कुनै सम्बन्ध छैन
जीवन
र रहरहरु पनि कहिं कतै सम्बन्धित छैन
तर पनि
जब जब
घरमुनिको
नरिवलको बोटको हाँगामा बसेर
एक हुल कागहरु दिक्कै लागुन्जेल
'काग काग' कराउँथे -एका बिहान बिहानैदेखि...
-धरान