मुख्य पृष्ठ » कविता » सम्झनाको जंगल

सम्झनाको जंगल

bool(false)

सम्झनाको जंगलमा छिर्छु
बाघभालुहरू रक्ताम्मे नंग्रा देखाउँदै आउँछन्
सिकारहरू गिद्धको चुच्चोलाई धारे हात लाउँछन्

सम्झनाको जंगलभित्र
लु छिर
र हेर
–विष्टिनीले सात ठाउँमा अनुहार कोतर्दा
कपाल लुछेर रक्तमुछेल पार्दाको चित्कार
ऊ... त्यही सार्वजनिक धारा छेउछाउमै निस्सासिएको छ

अहिले पो बहुराष्ट्रिय कम्पनीले बनाउँदै घाउ
नाइनलको टाका मार्छ देशलाई
उहिले
दमाई दाइको उ...त्यही सियोले हो
–सिएको उध्रिएको यो देश !

सार्की दाइको उ...त्यही हातले फ्याँकेको हो
मृत पशु–लाश
र त पृथ्वी नै कुहिए जसरी गन्हाएन ‘तिम्रो पूजाकोठा’
नत्र तिम्रो ईश्वर
मन्दिर छाडेर उहिल्यै भागिसक्थ्यो !

त्यता हेर यारहरू
त्यो सुकुम्बासी बस्तीमा
र्यालसिँगानको अमूर्त रंगले
देशको वीरता आफ्नै अनुहारमा
कोरिरहेको बच्चालाई हेर
यो देशको प्रत्येक वडा कार्यालयको भुइँमा
त्यो ‘डोम’ बच्चाले कति सफा कोर्छ समृद्धिको अनुहार हेर !

यो देशको राष्ट्रिय झन्डा पनि हेर
यसको छातीको रक्तिम रंग
बादी पाठेघरबाट चुहिएकै रगतको रंग हो ।

याद छ यारहरू
हामीले एकसाथ छोएका थियौँ
–नाइल नदीको किनार र सिन्धु धर्तीको माटो
तिमीले ‘मनुस्मृति’ बनाएपछि नै हैन
ध्वस्त भएको हाम्रो ‘साझास्मृति’ ?

सम्झनाको जंगलमा
अभाव जस्तो टाँस्सिएको थिएछ माटोको गीत ।

तर, उ...त्यहाँ हेर
संविधान पनि ब्लेड बोकेरै
आएको छ हाम्रा लागि
त्यही विभेदको ब्लेडले कोपरेर
आज पनि बग्छ
रातो आँसु हाम्रो आँखाबाट !

यस्तो थिएछ सम्झनाको जंगल
जब जब
सम्झनाको जंगलमा छिर्छु
बाघभालुहरू रक्ताम्मे नंग्रा देखाउँदै आउँछन्
सर्पहरू राजा/छोटेराजाको लिंगजस्तै उत्तेजित बन्छन्
दाह्रा किट्दै पुच्छरमा अड्किन्छ आदिम पुर्खाको लभ लेटर !

हामीले हात समातेर हिँडेको पाइतालाको डोब
कता होला
कुन चाहिँ प्राक्–ऐतिहासिक छातीमा ?
त्यो उज्यालो छातीको देश हामीले हेर्नै खोजेनौँ
प्रिय यारहरू
एक दिन
त्यो उज्यालो छातीको देश फुटेर
सूर्य त निस्किन्छ निस्किन्छ
त्यतिविघ्न उज्यालो हेर्न नसकेर अन्धो नहुनू !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस