मुख्य पृष्ठ » कविता » ब्रम्हाजीको पिलो

ब्रम्हाजीको पिलो

सारा ब्रम्हाण्ड
चराचर जगतको सृष्टि गर्दा गर्दै
शरीरको तल्लो भागमा कतै
उत्पन्न भयो एउटा नौलो किसीमको दुखाई
छटपटाउन थाले ब्रम्हाजी पीडाले
लौन! मेरो नितम्बमा पिलो पो आएछ

टनक टनक रन्किए पछि
घोचेर निचोर्दिए ब्रम्हलोकका बैद्यहरूले
पिलित्त निस्कियो महाभारतको लडाई
रामायणको युद्ध

अझै निस्किएन सायद आखो, भएन सञ्चो
पुनः निचोरीयो बल गरेर
चङ्गेज खान समयको रगत तुर्कियो, तुरूक्क
तिरिक्क रोईदिए ब्रम्हाजी, बोनापाटे युग आयो बाहिर
आयो मजेल नदी र जर्मनी हुदै
प्रथम र दोस्रो विश्व युद्धका पिपहरू हवाल्ल

सफा गरीयो आएपछी
जोन्सटाउन मास सुसाईड
पुचुक्क!
पाकिष्तानी चक्रवत बाहिरियो

अफगानिस्तान, सिरियाले बिच्कायो फेरी
झिकियो बाहीर पिलित्त
थिली पिथीली बनाएर निकालियो
हिन्द महासागरको सुनामी
नेपालको भूकम्प 
सोमिलियाका भोका ब्याक्टेरिया
भारतको किसान आत्महत्या बगीरहेका छन
बेला बेला पुछी रहनु पर्छ

जसै सुक्दै गएको छ पिलो
उसै बढदै छ ग्लोबल वार्मिङ

बल गरेर निचोरेका निचोरै छन बैद्यहरू
निस्किरहेछ एवं रितले
नयाँ नयाँ तरिकाले मृत्यु

याद राख्नुस! जुन दिन बाट पूर्ण रूपले निको हुनेछ
ब्रम्हाजीको नितम्बको पिलो
मेटीनेछ मानव जातीको अस्तित्व
त्यसैदिन बाट हराउनेछ अनतरिक्ष बाट एउटा ग्रह
पृथ्वी!

 

पाठकको प्रतिक्रिया
अन्य कविताहरू