मुख्य पृष्ठ » कविता » कसिङ्गरको अन्तर्कथा

कसिङ्गरको अन्तर्कथा

bool(false)

घर सफा गर्दा
कसिङ्गरको रुप धरेर मसामु आए
यी अनेक पात्रहरू !

साविक भन्दा बेसी पिएर
भट्टीबाट घर पुग्न नसकी
बाटोमै निस्फिक्री लडिरहेको
कुनै रक्स्याहा जस्तो
रोयलस्टेगको सिसी !

क्रूर मायालु जोडीले
बाँसघारीमा फालेको
अनैतिक प्रेमको निशानी जस्तो
कविताको भू्रण सहितका
केही बेवारिसे पन्नाहरू !


इच्छा वा अनिच्छाले
आफ्नो कार्यकालभरि
न्यायको आवाज उराल्नेका थाप्लामा
निरङ्कुश लाठी बर्साएर
तिनका छातीमा
निर्मम बुट बजारेर
यो बुढेसकालमा
हातखुट्टा बसेपछि
र तुजुक घटेपछि
तिनै पुराना दिन उघ्राइरहेको
पूर्व प्रहरी हवल्दार जस्तो
यौटा ठुटे हथौडा !

भर्खरभर्खर
नव विवाहिता हुँदा
सधैँ हातहातै हुने
सधैँ साथसाथै हुने
जतनले स्याहार्ने गाला मुसार्ने
अनुहारबाट आभा हराउँदै गएपछि
तन पनि बिस्तारै खुकुलो भएपछि
लोग्नेले सौता हाल्नुको परिणति झेल्दै
उपेक्षाको जुनी काट्दै
एकान्तमा अतित टोलाइरहेकी
पतिव्रता कसैकी जेठी स्वास्नी जस्तो
धुलो जमेको रुमाल !

खसम हुँदा उनको इच्छामा
पुतली झैँ फुरफुराउने
सिउँदो भर्ने चिटिक्क पर्ने
मेकअप गर्ने अत्तर छर्ने
उनी खसेपछि
रंग उडेर उदास उदास
वैशालु विधवाको सपना जस्तो
नेलपोलिसको सिसी !

भरजन्म कहिल्यै नछुट्टिई
सँगै बाँच्ने सँगै मर्ने
कसम खाएर पनि
ब्याधाको निशानामा परेर
प्राण पखेरु उडेकी
आफ्नो जीवनसँगिनी संझिदै
एक्लोपन बाँचिरहेको
कुनै बियोगी ढुकुर जस्तो
बिर्को नभएको डटपेन !

आफ्नो सिङ्गो जिन्दगी
बिद्यालयमा घण्टी बजाएर बिताए
बिद्यार्थीको रेखदेखमा बिताए
जब अवकाश पाए
बुढेकालका घण्टिहिन दिन गन्दै
समयको हेक्का हराएको
बूढो पालेदाइ जस्तो
ब्याट्री सकिएको घडी !

युद्दमा कति हताहत भए
यकिन हिसाब छैन
कतिले शहादत प्राप्त गरे
कुनै लेखाजोखा पनि छैन
कति बेपत्ता पारिए
केही था’पत्ता छैन
छर्रा लागेर हराइनसकेको
छातीको खत सुम्सुम्याउँदै
अरबतिर भौँतारिँदै गरेको
सपनाको इलाष्टिक लुज भएको
कथित अयोग्य लडाकु जस्तो
यौटा थोत्रो मोजा !

यतिबेला
बडो प्रेमले पढ्दैछु म
कसिङ्गर रुप धरेर मेरो शरण परेका
यी अनेक पात्रहरूको अन्तर्कथा !!

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस