टाउको

bool(false)

मेरो आमाको कपाल
अलिकति शोकले, अलिकति बुढ्यौलीले
झर्दै थिए, छोटा हुँदै थिए
मेरो कपाल
कलिकति शोखले, अलिकति अराजकताले लामा हुँदै थिए
आज अचानक हजामले मेरो टाउकोमा
कैंचीजस्तै भोको पेट घुमायो
अनि, म आमा भएँ
आमा टुहुरी भईन्

नसम्झौं भन्दा नि सम्झन्छु
सानोमा आमाले मेरो मुलायम कपालमा
लगाईदिन्थन् चमेलीको तेल
र स्याप्प् पारेर फर्काईदिन्थीन् त्यतैतिर
जताबाट दुई गाँस भात सिला खोज्न मेरा बा मुग्लान हिँडेथे
अनि, नर्बिसौं भन्दा नि बिर्सन्छु
घर बहिर हिड्ने बेलामा
किन लगाईदिन्थीन् आमाले मेरो निधारमा
यो देशको ईतिहासजस्तै निख्खर कालो टीका ?
निकै ढिला गरेर अहिले महशुस हुन थालेको छ
मान्छेले सम्झनुपर्ने कुरा बिर्सेपछि
बिर्सनुपर्ने कुरा सम्झेपछि
मान्छे, मान्छे हुँदैन बन मान्छे हुन्छ !

मेरो कपाल हुँदा धेरैलाई सजिलो भएथ्यो
हाफटाईममा स्कुलबाट भाग्दा
भोलीपल्ट भुत्ल्याउँन सुन्तली मिसलाई सजिलो हुन्थ्यो
कपीबाट खिल पानो चोर्दा
दिदीलाई मेरो कन्सिरी उखेल्न सजिलो हुन्थ्यो
एकदुई पटक त पुलिसले चेतावनीनै दियो
र भन्यो –
‘कि कपाल काट नत्र चारपाटे मुडिदिन्छौं’
त्यसताका देशमा सबैभन्दा असुरक्षित कसैको टाउको थियो भने
त्यो मेरो टाउको र कमरेड प्रचण्डको टाउको थियो !

अहिल मेरो टाउकोमा लामो कपाल छैन
छैनन् मलाई दुख्लाकी भनेजसरी
सवधानिपूर्वक ठुङ् हानिदिने कोमल औंलाहरु
तेल लगाएर कपाल स्याप्प् पारिदिने
आमाको हात थर्ररर काप्न थालेका छन्
कहाँ गए होलान् मेरो कपाललाई नै फोकस गरेर
फोटो खिचिदिने यासिकाम्यानहरु
म चाहन्छु
यो दुनियाँमा यस्तो अजीवको दोकान खुलोस्
जहाँ सुपथ मूल्यका किन्न पाईयोस्
एक चोक्टा बालापन

अहिले उजाड–उजाड भएको छ मेरो टाउको
जसरी जम्मै युवाहरु
पासर्पोट बनाउने लाईनमा गाँसिएपछि
उजाडिन्छ गाँउ
सुनसान छ यो टाउको
मानौ मेरो टाउको मुर्दा पोल्ने घाट हो
र, देशको संविधान जलाएर
भर्रखरै घर फर्केका छन् मलामीहरु

मुर्दा जलाउने उजाड घाट जस्तो
यहि एकथान टाउको लिएर
म पनि जान लागेको छु अब त्यतैतिर
जताबाट दुई गाँस भात सिला खोज्न
मेरा बा पहिलो पटक मुग्लान हिँडेथे ।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस