मेरी सासूले झैँ
निधारभरि रातो अक्षता
आमाले झैँ सिउँदोभरि
सिन्दूर हालेर
किन
मलाई मेला पठाइँदैन ?
भाउजू, बुहारीले झैँ
एक झुत्तो पोते लगाएर
मलाई मन्दिर जान निषेध गरिएको छ
र
निषेध गरिएको छ—
फूलको जस्तो सपना देख्न
कुनै पुरुषले हातमा
एक पात्र टीका
थमाइदिएको याद होस्
याद होस्—
वर्षिएका आँखा
कुनै मर्दले पुछिदिएको
मेरा
हातभरि चुरा
लगाइयो कतिखेर ?
हालियो सिउँदोमा सिन्दूर कतिखेर ?
निकालेर झोलुङ्गोबाट
र
फेरि फोरियो कतिखेर
मेरो रहर नपुग्दै
हातभरिका चुरा ?
हाकिमले बेरुजु फर्स्यौट गरेझैँ
छाती अधिग्रहण गरेर
क्षतिपूर्तिको पूर्जी बनाइरहेको ठेकेदारजस्तो
लाग्छ यो संस्कृति
खेल्दाखेल्दै चुकेको चुराको झुत्तो
झुन्डिरहेछ
आँखीझ्यालनेर
बतास दौडिएसँगै निकालिरहेछ
वियोगको कारुणिक धुन
अझै कुहिन बाँकी नै छ
तल पँधेरीमा
डोली छोपेर ल्याएको
फूलजडित मजेत्रो
तर, लुटिएको छ मेरो बालसुलभता
कुन्ठित परिएको छ यौवनका रहर
किन मौन छौ तिमी
अझै पनि ?
कुनै दिन
तिम्रो देश विधवा भयो भने
के फेर्न सक्छौ
देशको रातो झन्डा ?