गजल

कसले बिगार्यो घरबार? अनुसन्धान जारी छ
भगवान्, मदिरा या प्यार? अनुसन्धान जारी छ

 

अन्तिम इच्छामा छोराले बेपत्ता बाको खबर सोध्यो
अझै पनि भन्छ सरकार अनुसन्धान जारी छ

 

यौटा गरीब रातारात अमीर भएको खबर आयो
गरेछ उसले कुन व्यापार? अनुसन्धान जारी छ

 

गोजी रित्तिँदा फैलिन्छन्, भरिँदा मुठ्ठी बन्छन् यी हात
के होला यसको उपचार? अनुसन्धान जारी छ

 

उसले चोरेर आफ्ना साना नानीको भोक मेटायो
पुण्य होला कि पाप यार? अनुसन्धान जारी छ।

 

पाठकको प्रतिक्रिया
अन्य गजलहरू