चिम्सा आँखा भएको
थेप्चो नाक भएको
र, वेद पढ्दै गरेको ब्राह्मण
जसको सौन्दर्यलाई बटुलेर
म फेरि आइपुगेको छु–बालुवाटारको ढोकामा
महोदय
बाईस वर्षअघि
ज–जसले बन्दुक उठाए
तिनीहरूले
कसरी ताछेका रहेछन् असमानताको आली ?
कुरा सुन्दै छु म पनि
कुरा बुझ्दै छु म पनि
घाउले आफ्नो ठाउँ छाडेपछि
समथर बनेको रहेछ– टुँडिखेल
र, त्यही टुँडिखेलमा स्वतन्त्रता टिपेर
बच्चाहरू खेलिरहेछन् निर्भय क्रिक्रेट र भकुन्डो
तपार्इँलाई थाहा छ–युध्दकाे बाल्यकाल कस्तो हुन्छ ?
सिउँदोमा नदेखिए पनि रातो
भाउजु टेम्पु चढेर
बिहानै पुग्नुहुन्छ लिवाङ बजार
र, बेच्नुहुन्छ
–रातो चुरा
–रातो पोते
–रातो सिन्दूर
तपाईंलाई बुझ्न मुस्किल पर्न सक्छ यो समाजशास्त्र !
गाउँजस्तो मात्र छैन गुरुङगाउँ
उकालोमा पठाएर बाख्राका पाठाहरू
आफू ओरोलोमा बसेर
देशको लागि किन मान्द्रो बुनिरहेछ ?
के तपार्इँले पढ्नुभएको छ– उनीहरूको आत्मकथा ?
भट्ट साउजी
सातदोबाटोको किनारमा
अचेल बेचिबस्छन्
मगरनी आमाले बनाउनुभएको टिम्मुरको रक्सी
के तपार्इँले चाख्नुभएको छ–उनीहरूको खुसी ?
माडीचौरमा उम्रेको
दुबोको सानो रहरलाई
कहिल्यै सुम्सुम्याउनुभएको छ–चस्मा लगाएको आँखाले ?
बालुवाटारको आसनमा बसेर
बात गर्नुहुन्छ महोदय
रोल्पाली भनेका आतङ्ककारी हुन्
रोल्पाले मात्र देशद्रोही जन्माउँछ
कहाँकहाँबाट भयको टोकरी ल्याएर
छोपिरहनुहुन्छ हँ ?
यहाँबाट नदेखिएला रोल्पाको रङ
गएर हेर्नुस्
पहाड फोर्दै किन उकालोतिरमात्र गइरहेछ डोजर ?