धेरै पहिलेको कुरा हो
माथि लेकबाट केही हुल मानिसहरु बोरा र नाम्लो लिएर
नुन लिन बटौली सम्म झर्थे अरे
एक भारी नुन र थोरै खुसीको सगुन बोकेर
त्यही बाटो फर्किन्थे रे
कयौँ दिन लगाएर!
त्यही हुल मध्येका एक थिए रे मेरा बा।
र,
म आज त्यही बाटो
झोलामा बाको भारी गुन लिएर
आमाको अनुहारको धुन किन्ने
रहर लिएर सहर आएको छु।
हिँड्ने बेला आमाले राखिदिएको
साइतको दुबो मुखमा च्याप्दा
आमाले मनको आँसु यसरी च्यापिन्
आँसु खस्ला भन्ने डरले आँखा डिलसम्म पनि पुर्याइनन्।
मेरो घरको खरको छानो उधृएर
आमाको त्यही पुरानो चोलो झैँ भएको छ
मेरो घरको मनि खाँवो
बा'को आँत झैँ कमजोर भएको छ
र,
अन्तिम पटक फर्किएर घरलाई हेर्दा
मेरो मन चुहिएर बलेनी बन्यो
मेरो ज्यान घरको दलिन झैँ काँप्यो
यो सहरका अग्ला अग्ला घरहरु
अनि
मान्छेका रङ्गिन अनुहार हेरेर यस्तो लाग्थ्यो
यहाँ त्यस्तो कोहि मान्छे बस्छ
जसले दिनदिनै सबैलाई पुग्नेगरी
दुई छाक खुसी बाँडेर जान्छ,
तर
यहाँ त भीर भन्दा पनि डरलाग्दा खण्डहर रहेछन्
चिप्ला अप्ठ्यारा उकालाहरु रहेछन् ।
यहाँका मान्छेहरुले मलाई
शिर देखि पाउसम्म हेर्दा यस्तो लाग्थ्यो
उनीहरुलाई थाहा भैसक्यो
मैले लगाएको कपडा
मेरो आमाले घ्यु बेचेर पठाएको पैसाले किनेको हुँ भनेर।
यहाँका गल्लीहरुमा हल्लिँदा हल्लिँदै
यहाँका चोकहरुमा ठोक्किँदा ठोक्किँदै
यति सम्म थाहा पाएछु
यो सहरले यतिका धेरै रहरहरु हरेर बसेको छ,
हिसाब गरेर बस्ने मान्छेको फुर्सद नभएर होला
अझै पनि हुकुम छरेर बसेको छ!
बा !
मैले त यहाँ घाँस जस्तै जिउँदा लास पनि देखेँ
बेच्न र बेचिन तयार मान्छेहरु देखेँ
यस्ता कुराहरु देखेँ
जो मेरा आँखाले हेर्ने हिम्मत समेत गरेनन्
यस्ता कुरा सुनेँ
जो मेरा कानले सुन्ने बाहानामा तन्किन मानेनन्।
बा !
यो सहरमा पैतालाहरु यति धेरै भैसके
मेरा सपनाका पैतालाहरुले
पाइला टेक्नै पाएन।
आमा!
यो सहरको बाटो
कोदाको रोटी जस्तै घुमाउरो छ
चिन्ता नलिनु
हिँड्न नबिर्सुन्जेल हराउँदिन होला।
आमा!
म तिम्रो चोलोको आयतन नाप्न सकिन
बा!
म हजुरको निधार चम्काउन सकिन
बरु
यहाँ रुमल्लिँदै गर्दा
अनेकौँ कुराहरु मनमा बनकुरो बनी टाँसिएका छन्
उहीँ आउँला संगै उक्काउँला।