मालीदाइ !
मलाई फूलहरू मन पर्छ
फूलहरूको सुवास मन पर्छ
तपाईँले फुलाउनु भएको घाम र जून फुल्दा
डकमक्क ताराहरू फुल्दा
कतिपल्ट फुल्न बिर्सनुभो? आफू
कतिपल्ट छिनाल्नुभो? हातका औँला र
दल्नुभो फूलहरूमा मलम
कति पाथी खन्याउनुभो? पसिनाको रङ र
भर्नुभो फूलहरूमा जीवन?
नौडाँडापारिबाट तपाईले पठाउनु भएका
यी सुन्दर फूलहरु हेर्दै, टोलाउने गर्छु
कहिले के सम्झन्छु र हाँस्छु!
कहिले के सम्झन्छु र रुन्छु!
मालीदाइ,
मलाई फूलहरू मन पर्छ
फूलहरूको सुवास मन पर्छ
मालीदाइ, यो सहर
रगत बेच्छ र किन्छ पानी
किताब बेच्छ र किन्छ मदिरा
मान्छे बेच्छ र किन्छ बुख्याँचा
सहर, श्रम बगेको निलो पसिनामा
बारुदको कालो गन्ध खोज्छ।
कसलाई थाहा छैन्?
सहर कागजको फूल बनाउँछ
अत्तर छर्कन्छ र लोभ्याउँछ भमरा
सहरमा व्यापारीहरू कागजकै फूल बेच्छन्,
र किन्छन्, ग्राहकहरूपनि।
मालीदाइ, एकफेर माटो सजीएका हातगोडाले
तपाईँ, आफैँ छाम्नुस्, सहरको अनुहार
भेटिन्छ, भेटिन्न?
फूलहरूको जीवन सुहाउने बगैँचा?
सपनाको रङ सुहाउने हृदय?
उज्यालो मुस्कान सजाउने भविष्य?
म जान्दछु,
तपाईँको जवाफ हुनेछ स्वयँ, फूल
काँडाहरूको जवाफ फूल
पत्थरहरूको जवाफ फूल
तरबार र बारुदहरूको जवाफ फूल
हर प्रश्नको जवाफ फूल, फूल अनि फूल।
तर, तपार्इँलार्इँ थाहा हो, होर्इन?
यो समय, सबैभन्दा धेरै प्रश्न त देशसँग छ।
र जवाफ, फूल फुलाउने केवल तपाईँसँग छ।
त्यसैले मालीदाइ,
यी पत्थरहरूका माझबाट
यी काँडाका झ्याङहरूबाट
एकपटक टपक्क टिपेर यो देशलाई
तपाईको बगैँचामा सार्न मिल्दैन्?
माटोलाई फूलै फूलको जवाफ दिन मिल्दैन्?
अथवा, देशलाई फूलझैँ फुलाउन मिल्दैन्?
साँच्चै मालीदाइ,
हामीलाई यो देश, फूल भएर फुलेको हेर्ने रहर छ ।