आमा

bool(false)

मैले सोधें
आमा तिम्रो आँखा छ ?
आमा भन्छिन्
मेची र महाकाली मेरै आँखा त हुन् नि बाबु !

त्यसो भए
फूल्टिनको चुच्चोमा
कसले आगो झोसिदियो आमा ?
यहाँ सिङ्गै गाउँ जलेर खरानी बन्दैछ
ति अवोध आँखाहरुमा
झुसी झुसी पानी बोकेर
धाइफल तोड्दै कुदिरहेका छन्
हरेक बर्ष यहाँका पाठशालाहरू
आगो निभाउन,डढेलो निभाउन
तिमी कस्तो भविष्य हेरिरहेकी छ्यौ आमा ?

मान्द्रोले छाएको छानामा
जुइनो मक्किएर
ढुङ्ग्रे बाँसका टाटीहरुमा
कुपोषणका लुते करङ्ग अड्याउँदै
फोक्सो भित्र हिउँ निलेर
घाम छादी रहेका
भोकमारी जिन्दगीले
एक मुठ्ठी सासलाई
जाकटीमा राखिरहँदा
काँचो कागजमा तमसुक पाकिरहेको
देख्यौ कि देखिनौ आमा ?

नागरिकताको प्रमाण पत्रमा
पखेटा लगाएर
राहदानी बोकेको हुच्चिल
उडिरहेको छ हरेक दिन
तिम्रै भुँडी माथि बाट
यति बेला तिम्रो सगरमाथाको विशाल छाती
दुख्छ कि दुख्दैन आमा ?

अंकुसेले जून चिथोरेर
धुजा धुजा बनाई
बलात्कार गरिरहँदा
तिम्रै हातले लिटो खुवाएका मुखहरूले
उल्टै तिमीलाई चपाइरहँदा
औंला समाएर टुकुटुकु हिंडेकाहरुले
भ्रष्टाचारको वायुपंखी दौडाइरहँदा
अनि सक्कल बमोजिम नक्कल ठिक छ भनि
तिम्ले स:शुल्क दिएका नागरिकताहरू
वेश्यालयमा सित्तै बेचिइरहँदा
तिम्रा कलेजाका छेउकुनालाई
पोल्छ कि पोल्दैन आमा ?

अब आँखा खोल आमा
अनि मेची झैं रून बन्द गर
अब आँखा खोल आमा
अनि महाकाली झैं रून बन्द गर
मैले आकाशलाई गर्भिणी बनाएर
एउटा नयाँ घाम जन्माएको छु
गुराँसको थुङ्गा माथि सजाएर
जाउन उसको न्वारन
गरिदेउन आमा !!

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस