मुख्य पृष्ठ » कविता » घर खाने कथा

घर खाने कथा

bool(false)

 

धेरै पहिले
म सानै छँदा
जव आमा अह्राउनुहुन्थ्यो घरको काम
मलाई नै छानीछानी
म बिगारीदिन्थे जानीजानी
या नजानी
भारी बोक्यो,
नाम्लो लामो, भारी बाङ्गो।
तरकारी पकाए नून चर्को।
हार खांदै आमा कराउनुहुन्थ्यो,
यो केटीले यसरी त कसरी घर खाने होली?
अनि आमा सुनाउनुहुन्थ्यो
घर खानेहरुका सुनौला कथा
घर खानेहरुका दर्दनाक व्यथा।


केही बुझेजस्तै
केही नबुझेजस्तै
केही गम्भीर
केही अल्लारे भाव
थोरै आमाकै
केही आफ्नै अर्थमा
भनिदिन्थें
धैत! आमा,
घर पनि खान्छन् र?
घर त बनाउने, लिप्ने, पोत्ने र सिंगार्ने पो!!
आमा फेरि भन्नुहुन्थ्यो,
तँ कुरै बुझ्दिनस कि बुझ्नै खोज्दिनस??
म अलमलमा छु
मैले आमाका कुरा बुझ्न सकिन
या
आमाले मेरा?

आज धेरैपछि
म आमाका अर्थमा
घरखाने छोरी भएकी छु।
थाहा छैन
मैलै सकें
या
सकिन
आमाकै अर्थको घर खान।
मैले बोक्ने जिन्दगीको भारी
बाङगो छ कि सोझो ?
नाम्लो
लामो छ कि छोटो?
मिलाउन सधैं आमाका साथ बस्न पाउँदिन।
थाहा छैन
मैले सम्हाल्ने भान्छामा
नून
चर्को भो कि विल्नो?
चाखेर सम्झाउन
सधै आमा मसँगै हुनुहुन्न।
थाहा छैन मैले कति सकें घर खान
तर सकेकी छैन
आजसम्म बनाउन
आफ्नै अर्थको एउटा घर।
तर देखिरहेछु
धेरैले धेरै अर्थमा घर खाइरहेका।
कोहीले कताबाट
कसैले कताबाट
कसैले कसरी
कसैले कसरी
उनीहरु खाइरहेछन,
म हेरिरहेछु।

म फेरि अलमलमा परे,
आमालाई सोध्न मन लाग्यो,
सोधें,
" आमा, म घर खाऊँ कि नखाऊँ?
खाऊँ त कसरी खाऊँ?"
यसपालि त आमाले झस्किएझैं भन्नुभयो
"छोरी,
तँ सही रहिछस्
घर त बनाउने , लिप्ने, पोत्ने सिँगार्ने हो,
घर बनाउनू ,
तर घरखाने नहुनू।"
म फेरि अलमलमा छु
यसपाली मैले आमाको घरखाने कथाको अर्थ
सही बुझेँ या गलत?

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस