यौटा कविता लेखेँ पानीमा
र परसम्म बगेको हेरिरहेँ
टाढा कतै
समुन्द्रका ओठले उसलाई छुने छन्
वर्षौंको तिर्खा मेटिने छ समुन्द्रको
यहाँ म
एक्लै सोचिरहने छु,
उसलाई जन्माएँ, हुर्काएँ मायाले
जिन्दगीका नागबेली बाटाहरूमा हिँड्न सिकाएँ
दुनियाँको आदत बताएँ
यौटा कविता लेखेँ पानीमा
र छोरी जसरी बिदा गरेँ ।
धुवाँको धागो २०७०