जब स्पर्श गर्थ्यो चीसो सिरेटोले
कक्रिएका हातहरूले
छामेर हेर्थेँ छातीको देब्रे कुनो
लुकामारी खेले झै लाग्थ्यो
मुटुको ढुक्ढुकी ।
बुढ्यौलीको तारे भीरबाट
ओरालो लाग्दै गरेको जिन्दगी
कठ्याङ्ग्रिएर ओसिला मनहरुको सेपमा
सुँकसुकाउदै गर्दा
कहिल्यै कसैले आवश्यक ठानेनन्
अंगालोभरी मायाको न्यानो घाम ।
लट्ठीको काँध समातेर
चल्न खोज्ने खुट्टाहरू
अँध्यारो मझेरीमा पछारिदा पनि
जितेर आफैलाई
बोकेर जिजिविषा मन भरि
आँखिरी आशामा उभिन खोज्थ्यो जिन्दगी ।
तर
प्यास मायाको थियो
भोक भरोसाको थियो
मन डढेर खरानी भएपछि
पटुकीले टुन्टुनी कसेर
भोकलाई शान्त्वना दिदै
प्यासको महायुद्दमा छटपटिरहदा
कहिल्यै कसैले पूरा गरेनन्
एक घुट्की पानी
र एक पेट खानाको आवश्यकता ।
पिंढीमाथिको गौँथलीझैँ
भुर्र उडेर गयो प्राण
र चल्न छोड्यो
म भित्र उफ्रिरहेको
एउटा घाइते मुटु पनि ।
यतिबेला
वर्षौँ ननुहाएको मेरो मृत शरीर
तुलसी मठ छेउ लडिरहेछ
र सजिएको छ
फूलमाला अबिरले
मगमगाईरहेछ अत्तर-धूपहरूले
एउटा अचम्मको भीड उभिएको छ
घाट पुर्रयाउन काँध थाप्नेहरूको ।
ओहो ! यो भीड
यहाँ आफन्त त
मान्छेलाई माटोमा मिलाउने र
खरानी बनाउने बेला मात्रै
जुट्ने रहेछन् ।
म मौन हेरिरहेछु
मेरो अस्तु बोकेर
काशी यात्रामा निस्किरहेछन्
र तूल टाँगेँर बाँडिरहेछन्
कपडा र भोजनहरू
मलाई भोकैनाङ्गै
वृद्धाश्रममा छोडेर फर्किनेहरू।