मुख्य पृष्ठ » कविता » म यथास्थितिवादी

म यथास्थितिवादी

bool(false)

के गर्दैछेस ?
सधैझै,
कुनै विहान,
कुनै साँझ,
वा कुनै दिउँसो,
यसरी अचानक कानमा ठोक्किने
मदेखि पर रहेका
मेरा बा आमाको आवाज,
उनीहरुसंग हुने उनै रुटिन लंबेतान गफ
अर्थात यथास्थिति ,
जसबाट म चाहन्न
कहिले बाहिर निस्कन
किनकि,
कुनै दिन म नसुन्न पनि त सकुँला ती आवाज
कति भयावह हुनेछ त्यो पल
कल्पना गर्नै डरलाग्दो ।

'के गर्दैछौ ?
भात पकाउँदै ।'
यो संवाद पनि त रहेछ यथास्थिति
किनकि
कुनै दिन
नहुन पनि त सक्दोरहेछ चुलामा
नुन  तेल चामल र तिहुन
वा जीउ तताउने आगोसम्म पनि
एकतमास रातोदिन,
भयानक मौनता ओकलिरहँदो रहेछ कुनाको अगेनो

कता छन् नि छोराछोरी ?
यहीं छन्  
आँखैवरिपरि।
कसैको जिज्ञासामा व्यक्त यो संतुष्ट प्रतिक्रिया
यथास्थिति नै त रहेछ यो सब
किनकि
कुनै दिन तातो बालुवामा
रगत पगालिरहेका पनि त हुन सक्दारहेछन् सन्तान
वा भ्रम पछ्याउने झुण्डको हिस्सा बनेर
गुमाउन सक्दारहेछन युद्दभूमिमा प्राण

कहाँ जादैछौ ?
घर ,
कहा छौ ?
घरमै,
यथास्थिति  नै त रहेछ  यो सवालजवाफ
किनकि,
कुनै दिन
जीवनभरको मेहनतले आर्जेको दलिन भित्ता र छानोलाइ
मुस्कुराएर नियालिरहँदा
वा
आँधी हुरि, थकाइ वा आक्रमणबाट भाग्दाभाग्दै
भित्र पसेर बाँच्ने लालसामा हस्याङफस्याङ आइपुग्दा
गर्ल्याम्म ढलिसकेको पनि त हुनसक्दोरहेछ
मेरो शिरमाथिको ओत

के छ हालचाल ?
सन्चै छ , ठिकै छ
कसरी बित्दैछ दिन
बस घाम तापेर
साथीभाइका यस्ता सवालमा
सधैंजसो दिइने
यस्ता जवाफहरु
यो पनि त रहेछ यथास्थितिको एउटा रुप
किनकि
कुनै दिन  
म नरहन पनि त सक्ने रहेछु
सन्चै वा ठीकै
गुमाउन सक्ने रहेछु मैले
मेरो पिंढीको न्यानो घाम
र टाउको लुकाएको शरणस्थलमा
कठांग्रिदो शिशिरसंग लड्दालड्दै
हार खाएर ,
सुम्पिनेरहेछु उसलाई
आफ्नै जीवन

यी सबै
वर्षौंदेखि सोधिएका
वर्षौदेखि बोलिएका
खासै उल्लेखनीय नलाग्ने सवालहरुका
खासै उल्लेखनीय नलाग्ने जवाफहरु त
यथास्थिति पो रहेछन्

यथास्थिति
यानेकि ,
चुलोमा अनवरत बलिरहने आगो
भरिएको पेट,
छोपिएको आङ,
शिरमाथिको ओत,
जीवनले महसुस गरिरहेको वात्सल्यको छहारी
ममत्वले भरिएको अभिभावकत्व
निर्बाध हिंडडुल गर्ने मेरा स्वतन्त्र पाइला
पुर्खाले वीरताले आर्जेर सुम्पेको सार्वभौम

शारांशमा,
सुखी रहनु, खुसी रहनु,
स्वतन्त्र रहनु, ठाडो शिर रहनु
यदि अग्रगमनकोको नाम
यो सब गुमाउनु हो भने
यी सबलाई सेलाएको निरीह हेरिरहनु हो भने
हो म यथास्थितिवादी हुँ

प्रिय नेताजी,
आदरणीय योद्दा
माननीय कमरेड
दिनुहोस मलाई मेरो यथास्थिति फिर्ता
जुन सुम्पिएकी थिएँ वर्षौंअघि
अग्रगमनको वाचामा लठ्ठिएर सहर्ष तपाईलाई ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस