“यस्तो ‘होपलेस्’ देशमा म बस्दै-बस्दिँन!”
यस्तो ‘होपलेस्’ देश म फर्कँदै-फर्कन्न!”
देशसंग फन्केर हिँडेको छ छोरो
छोराले ‘होपलेस्’ भनेको देश कुर्नु छ-
‘होपलेस् देश’ को ‘होपलेस्’ गाऊँ कुर्नु छ
छोरालाई अमेरिका उडाएर फर्केका छन् बा-आमा,
चम्किईरहेको छ नयाँ रातो कुर्था-सुरुवाल
तर आँखामा सन्ताप बनेर ओर्लिएको छ
मधुमासको एक्लो आधा भाग
लोग्नेलाई कतार उडाएर फर्केकी छे नवविवाहिता,
ठूल्ठूला अक्षरमा छापिएको छ
‘साउदी र दुबईबाट माग भई आएको---‘ विज्ञापन
भित्र साना अक्षरमा छापिएको छ-
हाँस्दै सुतेको हट्टाकट्टा छोरो गाऊँको
काठको बाकसमा बद्लिएको नयाँ तथ्यांक
पखेटाझैं फिँजारिएको छ पत्रिका
'न्यानो कपडाको पैसा’ बाँड्न गाऊँ जाँदैछ सचिव
हिऊँ ओढेर पुस कटाएका छन् टहरा र पालहरुले
र माघका लागि
हिजै मात्र-
एक डोज ‘राष्ट्रवादी’ भाषण खापिदिएको छ सरकारले,
ड्राइभर र खलासी दोहरी बजाऊँछन्
‘नेपाली हामी---‘ पनि बजाऊँछन्
फेरि एकछिनमा ‘शिला—‘ बजाऊँछन्
र ‘मुन्नी----‘ पनि बजाऊँछन्,
गरीबिको फोटो खिच्नु छ-चिल्लो बनाएर छाप्नु छ
‘एङ्गल मिलाएर’ भग्नावशेषको दामी फोटो निकाल्नुछ
गरीबि र भग्नावशेष बेच्नु छ
डलर खेती गर्नु छ
लामो सुँड भएको क्यामेरा बोकेर
नयाँ फसल उठाउन जाँदै छ ‘विकासे’ जोडी,
एक थान ‘ब्याक अफ इण्डिया!’ हुत्याएर ट्विटाकाशमा
लामो सास फेरेर एक पटक-
फेरि मोबाईलमा पसेको छ
‘आई लभ नेपाल’ लगाएको मेरो युवा सहयात्री
र विपाशाका तिघ्रा चिमोट्न थालेको छ,
दुब्लो बच्चा बोकेकी दुब्ली आमालाई
खलासीले थचारिदिएको छ मूढामा
र मलाई अचानक निद्रा आएको छ,
म ऊँघीरहेछु र सोचीरहेछु
एउटा धूवाँदार नयाँ कविताको ‘प्लट’
‘होपलेस्’ देशको होपलेस्’ गाऊँ फर्कीरहेको-
यो एउटा 'होपलेस्' यात्रा
यो यात्रामा म सोचीरहेछु
एउटा धूवाँदार नयाँ कविताको ‘प्लट’।