यसपालि
यस्तो भो
दरैहरुले
दासताको पुरानो आगो निभाए
र
गिंदरीका काठहरु रगडेर
नयाँ झिल्का निकाले
(उता अग्निनगरमा महान् प्रमिथस पुरस्कार
बाँडियो -
पानीमरुवाहरुलाई )
भुइँचालाहरुको गीत गायो -
नयाँ वर्षले
र
मात्र त्रासदी
बग्यो: दरौदी
( म मेरो स्वर्गीय
भाइ सम्झेर बर्बराएँ :
डाँडाकाँडा सम्मीको रुख बरै..
सम्झे दु:ख नसम्झे हाइ सुख )
रामविलास
फोहोर कागज र कार्टून बटुल्न
जनकपुरबाट ट्रयाक्टर चढेर
काठमाडौं आइपुग्यो
र
डुङङ गनाउने हयुमपाइपहरुको
चिसो ओढेर निदायो :
दरबारमार्गमा
(धेरै थकाइको र अलिकति दारु पिएको अवस्थामा
यसरी बाटोमा भोकै र नांगै निदाउनु
सामान्य कुरा हो )
उसैको नाममा त्यही रात
उसैको मदहोस आँखा अगाडि
न्याना महलका अट्टालिकाहरुमा
झिलिमिली झिलिमिली बत्ती बालिए
( उता धुनिबेसीकी बत्ती दिदी
अँध्यारो पिएर उङ्ग्न थालिन् )
जाडो बढ्यो
गाउँतिर ,
सहरतिर ,
देहाततिर
सरकारी स्टिकर लागेका
कागजहरु बालेर आगो तापियो
डोमहरु,कड़ौरीहरु , दुसाधहरु,
धुनियाहरु, नुनियाहरु, छिपाहरु,
चुनाराहरु , छितारीहरु ,नटहरु ,
चेपाङहरु, राउट रौट्यहरु, गनगाईहरु,
बाह्र गाउँले थकालीहरु
र अरु सबैहरुले बुझेको
मेरो माटोको संबेदनशीलता -
यी भुइँचालाहरुले बुझेनन्
र
मात्र हल्लाईरहे - कट कट कट कट
मानौं, यो भुइँचालाहरुकै माटो हो
र
हामीले बटैयामा कमाएका हौँ -
यो हिउँबेसी, पहाड, मधेस र सलहेस फूलबारी
यसपालि पनि राउट्याहरुले
पैसा छोएनन्
गुना बाँदरको मासु खाए
र
मृत सन्तानहरुलाई
राउटीमै जलाएर बसाईं सरे
भूलबस
लोग्नेको नाम काड़ेकोमा
रानी बुधनीले
ब्रत बसेर
भुयाँर देउताको पूजा गरिन्
( यी देउताहरुले दली दली
सरुमै रानीहरूलाई
खैलपा बनाए )
दाइजोमा पाएको
त्यै एउटा चिउरीको बोटमा अल्झियो -
लाटीमायाको सपना
अल्लाको भांग्रो बनाए -
थामीहरुले
र
सानीमायाको साइपाटोमा
एक पुङ्ग रक्सी छर्केर दुलाहालाई
भांग्रो ओढाइयो
( यो मेरो देशको भांग्रो थियो )
राजबंसीहरुले
दुलाहाको मुखमा मोसो दलेर
जन्तीहरुको स्वागत गरे
(मलाई पनि
अनुहारमा अबिर र मनमा मोसो दलिएका
मान्छेहरु भन्दा
यै जन्तीको दुलाहा राम्रो लाग्यो )
यसपालि पनि
गहुँको सातुलाई अलिकति छ्यांगले र
धेरै आँसुले भिजाएर
पल्दोक बनाइयो
मनसरा
दैलोमा छोराको फोटो हेरेर
खडेरी मनले बर्षात पर्खिरहिन्
तर
ऊ पाल्दोक खान आएन
(पछि खबर आयो, ऊ नाइजेरियाको
जंगली रनमा परेछ )
घ्याप्रिंगहरुले
तामाको अम्खोरामा पानी र पानीमा तीतेपाती राखेर
छर्कीदिए
र पो आमाको होस फर्कियो
पिंडौंलामा ट्याटू कोरेर
उसैलाई देखाउन पर्खी बसेकी
फुल्किरीको आँसुले छेकिरह्यो -
आँगनसम्म ओर्लने घामको बाटो
सै हो रे बम्बा सै हो
सै हो रे बम्बा सै हो
यसैपालि
च्याब्रुङको तालमा देश गाउँदै
आठपहरिया राईहरुले योयम्बो र गियामिनीहरुलाई धपाए
(किपटहरण ,बासटठीहरणका बिरुद्ध धावा बोले )
यसपालि पनि
बस पल्टेर, रातो माटाको ढिस्कोले पुरिएर ,
पापी सरकारको गोली लागेर
मरे -
जगदिशपुरा र राराका सन्तानहरु
तिमलीको घाँस र सुइनाको सोत्तर काट्न गएका
बाहुन बाज्याको ज्यान गयो -
भिरबाट लडेर
(पानी भन्दा क्यै महँगो थिएन-
तिनको रकत :
यो देशको रकत )
हिउँ उघ्रेसी
भेडीगोठ तिर फर्किए : सौकाहरु
( र म उनीहरुसितै फर्किएँ : देश हेर्दै
मेरै गुराँसे वनको बाटो )
मैले माटोको गीत गाउँदा
मैले चिन्दै नचिनेको
मौलानी मुर्दारले
मेरो घरसम्म आउने बाटो छेक्यो
र
मेरी छोरीले मलाई
किताब पढेर सुनाइदी-
"स्वामी महाराज रणबहादुर र ब्रिटिश कम्पनि सरकार बीच
अंग्रेजलाई कीर्तिपुरमा कोठी खोल्न दिने सन्धी गरियो "
अनि इतिहास सम्झिएँ
यसपालि