आउ, सबैतिरबाट झोसौँ आगो
आउ, मिलेर जलाइदिउँ देश
हिउँ हो आगो बल्दैन भनेर नसोच
बल्छ बालेपछि
कञ्चनजंगालाई बालिदिउँ
अन्नपूर्णलाई बालिदिउँ
आउ, सबैतिरबाट झोसौँ आगो
आउ, मिलेर जलाइदिउँ देश
पानी हो आगो टिप्दैन भनेर नसोच
बल्छ बालेपछि
गोसाइकुण्डलाई बालिदिउँ
फेवा—रारा सबैलाई बालिदिउँ
आउ, सबैतिरबाट फुकौँ आगो
आउ, मिलेर जलाइदिउँ देश
बुद्धहरूले बुद्धहरूलाई जलाउँ
क्रुद्धहरूले क्रुद्धहरूलाई जलाउँ
नरहुन् कुनै भगवानका अवशेषहरू
कहिल्यै रक्षा नगरेको झोकमा
पशुपतिनाथलाई जलाउँ
आउ, चारैतिरबाट दन्काउँ आगो
आउ, मिलेर जलाइदिउँ देश
सिमीकोट कसले चिनेको छ र ?
बैतडी कसले सम्झेको छ र ?
जनकपूर कसले पुजेको छ र ?
केही नरहुन्
आउ, सबै खरानी बनाउँ
र उभिऔँ देशको चिहानमाथि
बटुलौँ
आफ्नो हिस्सा पुग्ने गरी
कसैले मधेसको खरानी
कसैले पहाडको खरानी
कसैले हिमालको खरानी
र दलौँ
आफ्नै शरीरभरी
अंशबण्डामा पाएको
आफ्नै देशको खरानी
त्यसपछि कसैले नमागोस्
कहिल्यै आफ्नो भाग
र उम्रियोस्
बिशाल चिहानमाथि
एउटा सानो देश
जसको नाम नेपाल होस् !