घाँटी भिजाउने पानी मात्रै भईदिएको भए,
जुनकिरी जत्तीको प्रकाश मात्र भईदिएको भए,
म भुईचालोले भत्काएको
घरको भग्नावशेष भित्र
ईनारमा रहेका कछुवा जस्तै
सयौं वर्ष जिईदिन्थें ।
घडीको टुक् टुक् आवाज
अस्प्रे विमानका भन्दा ठूला थिए
चुक अमिलो घोप्टिए जस्तो अन्धकार
मैले पढेको दन्त्य कथाका ओडार जस्तै थिए
म कुनै नयाँ ग्रहमा
सृृष्टि सृजना गर्न देवताले पठाए जस्तो थिए
म पृथ्विका मानिसको व्यग्र प्रतिक्षामा थिएँ ।
यो नौलो ग्रहमा,
समयले मलाई बन्दी बनाएको थियो
भूपरिवेष्ठित मेरो घरको कोठामा
म नेपाल जस्तै भएको थिएँ
बत्ती थिएन
पानी थिएन
बाटो थिएन
म आम नेपाली
फेरि पनि दरिद्र नेपाली बनेको थिएँ
म श्वाश फेर्ने शालिक जस्तै भएको थिएँ ।
मलाई छोरा भनेर बोलाउने
आवाज चाहिएको थियो
मलाई बाबा भनेर कोट्याउने
छोरीको स्पर्ष चाहिएको थियो,
म खोजिरहेको थिएँ
आफ्नै मान्छेहरु
यो निर्जन स्थलबाट ।
म चाहन्थें
मलाई रकेट लिएर कोही लिन आओस्
म मेरै पृथ्विीमा फर्कन चाहन्थें
मलाई त्यही प्रकृति चाहिएको थियो
मलाई त्यही मायाका बहर चाहिएको थियो ।
यतीखेर,
मलाई आँखा खोलेर
सपना देख्न मन लागेको थियो,
मृत कुकुरको शरिरबाट
किर्नाहरुले ठाउँ छाडेझैं
सपनाहरुले
मलाई पत्याउन छोडीसकेका थिए ।
मलाई आँसुका धारा बगाउन मन थियो,
एक थोपा आँसुले पनि बाटो मोडिसकेका थिए ।
मलाई बिगुल फुक्न मन लागेको थियो,
अफसोच मसँग आवाज पनि थिएन ।
भगवानहरु पुजें
एक एक आफन्त सम्झें
अनि जप्न थालें महामृत्युंजय मन्त्र ।
अन्ततः
मैले मृत्यु जितें,
काल कोठरी भित्र
प्रकाश छिर्यो
आवाज छिर्यो
मैले फेरि मेरै आकाश हेर्न पाएँ
मैले फेरि मेरै पृथ्वी छुन पाएँ
मैले मेरो देवतालाई प्रत्यक्ष भेट्न पाएँ ।