मुख्य पृष्ठ » कविता » भोकको रामायण -२

भोकको रामायण -२

bool(false)

अपरम्परित यो प्रेमको
सिलसिला कोरेर
एक्काइसौँ शताब्दीको अन्त्यमा
प्रेमको हाराकिरी लेख्न
गणतन्त्रको पूर्वसन्ध्यामा
सहारा फूलदानीमा सञ्चित
ओ पोजिटिभ मेरो रगतले
लेखिरहेछु
भोकको अर्को रामायण ।
अनन्त प्रेमको अन्त्य पनि होला
तर कोसित छ भोकको समाधान ?
भलै रूप फेरिएला
तर भोकको रूप एउटै
भाषा फेरिएला
भोकको भाषा एउटै
जातको रङ अर्कै होला
तर भोकको जात
भोक, भोक, मात्र भोक हुन्छ
फेरिएला धर्म र भूगोल
तर फेरिने छैन भोकको आयतन !
अंकले गुणन गर या शून्यले
अंकले भाग गर या शून्यले
अंकमाथि जोड अंक या शून्यमाथि शून्य
अंकमा घटाउ या शून्यमा
भोकको क्षेत्रफल खुम्चिने छैन
हरेक प्रेमको अर्को
वल्लो र पल्लो प्रेम होला
हरेक भाषा र जातको
नजिक र टाढा अर्को बगर होला
हरेक धर्मको आदि र अन्त्य होला
हरेक भूगोलको अर्को भूगोल होला
पूर्व र पश्चिम दिशा होला
र होला
उत्तरायन र दक्षिणायन पनि ।
प्रेमको मुद्दामा
घृणाको लक्ष्मण रेखा कोरिदिएपछि
जन्मन्छ परिवर्तनको भोक
पहिचानको मुद्दामा दोशद्रोहीको आरोप रोपिदिएपछि
उम्रन्छ आक्रोशको भोक
समताको भूमध्य रेखामा
खडा गरेपछि जङे पिलर
जाग्दछ जातबिरोधी भोक
थाहा छ सबैलाई
माकुराले होइन
जुलाहाले बुन्दछ तनको न्यानो
ज्यापू अर्थात् श्रमिकले
आफ्नै श्रम बुन्छ
र बनाउँछ
प्रतिस्पर्धा र स्वाभिमानको समाज
भोकलाई सार्वभौम दायित्वले बेरेर
पकाउँछ र बाँड्छ सहस्तित्व
धान उमार्छ, तरकारी बेच्छ
र किन्छ लत्ता कपडा, औषधि
अनि बनाउँछ
पसिनाको बर्कतले आफ्नै घर
माकुराको त जातै हत्यारा
जन्मनुपूर्व नै खाएको हुन्छ उसले आमाको अस्तित्व !!
माकुराको पेटमा धागो हुन्छ
त्यही धागोले बेरेरै
नामेट गर्छ अरूको अस्तित्व
यो देशमा कोहीकोही
पेटभित्र त होइन
बाहिरै
देखिने गरेरै
धागोको लर्को बेरेर
पहिचान र अवसरको
अधिकार र आवाजका भोकालाई बेरेर
दुस्साहस गर्दै छन्
सहिदलाईझैँ झुण्ड्याउने ।
के यो भोक को आयतनभन्दा पर
अर्को भूगोल होला ?!
के यो भोकको रामायणलाई
अनुवाद गर्न
जन्मिएको होला कुनै आदिकवि ?

जडिबूटी, काठ्माडौँ

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस