तिमीले त्यो शब्द सुनेका छौ ढाक्रे दाइ ?
जसले संविधान मान्दैन
मर्यादा जान्दैन संयमलाई चिन्दैन
महान्लाई गन्दैन ठालु हो भन्दैन ।
तिमीले त्यो शब्द सुनेका छौ
ज्यामी दाइ ?
तिमीले निश्चय त्यो शब्द सुनेका छैनौ
भरिया दाइ !
किनकि
तिमी सिंहासन मान्छौ — ऊ मान्दैन
तिमी रबाफ देखेर कहालिन्छौ — ऊ कहालिन्न
तिमी मर्न डराउँछौ— ऊ डराउन्न
तिमी मुन्टो निहुराउँछौ— ऊ नुघाउन्न
तिमी तर्किन्छौ, ऊ पड्किन्छ
तिमी तर्सिन्छौ, ऊ बर्सिन्छ
तिमी चर्किन्छौ, ऊ गर्जिन्छ
तिमी चुँडिन्छौ, ऊ बरु झुन्डिन्छ । गिँडिन्छ । रेटिन्छ ।
तर सहजै मेटिँदैन ।
आँटिलो मान्छेलाई
सूर्यले सापटी दिने गर्छ आफ्नो तेज, ऊष्मा र ऊर्जा
अन्धकार लखेट्न
र कमजोर मान्छेका मुठीहरू पनि
कसिन्छन् दरो गरी
जसलाई पाएर
चिनिराखे है ज्यापू दाइ
त्यो बिद्रोह हो ।
साभार: प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता २०७०