मुख्य पृष्ठ » कविता » देऊ भेट सधैं सुटुक्क

देऊ भेट सधैं सुटुक्क

bool(false)

बोलेको सुरिलो अहा ! कलकले सङ्गीतको निर्झरी !
हेरेको पनि स्निग्ध भाव, मनको मूलै फुटेझैँ गरी
हिस्सीदार मुहार नील नभमा जूनै खुलेको सरि
हाँसेको अझ बिर्सनै नसकिने बेली फुलेको सरि

छोरी हौ कसकी, उमेर कति भो, के नाउँ, काँ हो घर ?
थाहा छैन, न देखभेट कहिल्यै हाम्रो भएथ्यो तर
बाटोमाझ झिलिक्क त्यो दिन फगत् आँखा जुधेकै भर
पैलो दर्शनमै उही छिन भएँ प्यारी ! म तिम्रो वर

स्यूँदो लाल सिँदूर झल्झल खुली श्रृंगार नानाथरी
आफैँ चन्द्रमुहार झल्मल अझै घुम्टी सितारा जडी
झिम्झिम्, चञ्चल, बान्किला, रहरिला आँखाहरू गाजली
झिल्झिल् कुण्डल झुल्दछन्, झलझली झल्किन्छ झम्के फुली

कालो स्निग्ध कपाल या सिमलका मानूँ कि काला भुवा
नौनीको छ शरीर औ अधरमा खेल्छन् नयाँ पालुवा
छातीबीच सुहाउँदो तिलहरी–पोते गलामा परी
नारीमा पनि काँचका झिलिमिली छन् टम्म राता चुरी

चुल्ठो नाग भनूँ ! झपक्क गजरा त्यैमाथि गम्किन्छ झन्
झुम्के पायल पाउमा रुनुझुनू सङ्गीत गुन्जाउँछन्
फुल्दो बैँस, मुहारमा सरमको लाली अहा ! झन् दली
इन्द्रेनीसरि झिल्मिलाइरहँदी प्यारी धपक्कै बली

ब्यौली भै सजिई तिमी लगनको सारी लगाईकन
पर्दैै भित्र फुरुङ्ङ बाहिर भने सार्है लजाईकन
‘एकै ज्यान भयौँ दुवै, अब सँगै ज्यूने र मर्ने’ भनी
प्यारी ! मैँसँग आइथ्यौ प्रण गरी अन्मेर जग्गे घुमी

न्यूरी मोटरमा अघिल्तिर बसी मेरो अँगालोभरि
गर्दै सुँक्क र घुँक्क कोक्किइ त्यसै सम्झी कठै ! माइती
बाटोमा यसरी रुँदै र फुलिँदै, जिस्क्याइँदै, मुस्किँदै
यात्रा जीवनको नयाँ सुरु गर्यौ सम्पूर्ण मेरी हुँदै

छैनौ आज तिमी, परन्तु सँगिनी ! बाँचीरहेको छु म
प्यारो त्यो बिपना गुमाइ सपना साँचीरहेको छु म
अर्धो भैकन ज्यूनु दुष्कर अहो ! के भन्नु खै जीवन !
सासै फेर्नु त हो, कुनै तरहले फेरीरहेको छु म

ए मेरी मृदु कल्पना ! हृदयकी ए कोमल स्पन्दन !
मेरो प्यार ! तिमी चटक्क चुँडियौ दुर्भाग्यले! बैँसमा
झोक्री बस्छु कठै ! प्रिया–विरहमा कल्पेर रातोदिन
भैँचालो मुटुमा र आँसु गहमा धिक्कार यो जीवन !

टुक्रा यी मुटुका भए नि टुहुरा ‘आकाश–नीलू–शरद्’
छाती फाट्तछ, अन्धकारमय यो देखिन्छ सारा जगत्
पोखूँ गै कुन ठाउँ ? पागलसरी ! यो वेदना दारुण !
भक्कानिन्छ त्यसै त्यसै मुटु, तिमी फर्की छिटै आउ न

हाम्रो यो घरबार सुन्दर थियो, सन्तोषको जीवन
शान्त–स्निग्ध–हराभरा अनि थियो सङ्लो सबैको मन
खै के भो, कसरी अचानक हरे ! ‘औँसी’ बन्यो पूर्णिमा
कालो रोग कि राहुले छल गरी आई डस्यो चन्द्रमा

‘खाऊ औषधि लौ सधैँ समयमा, चिन्ता धपाऊ पर
सिन्कोसम्म नभाँच, केवल तिमी आराम प्यारी गर’
भन्थेँ आकुल भै सधैँ र कहिले गर्थेँ कठै ! कर्कर
मेरो कर्करमै पनि प्रणयको बग्थ्यो सफा निर्झर

छानो यो घरको अझै छ अधुरो हाल्दै थियौँ भर्खर
‘छोरीको घरबार जोड्नु छ’ भनी गर्दै थियौँ तर्खर
‘हाम्रा दुर्दिन लौ बिते अब’ भनी बन्दै थियौँ फुर्फुर
उफ् ! सारा छिनमै भयो नि सपना,यो जिन्दगी के छ र !

साथैै अन्तिम साससम्म रहने बाचा गरेका थियौँ
त्यो बाचा अधुरो अवश्य नहुने आशा गरेका थियौँ
प्यारी यौवनमै गयौ अब फगत् बाँकी रह्यो सम्झना
त्यो प्यारो स्मृति–विम्ब जीवनभरी साँचेर राख्नेछु म

त्यूरे, चाँप र पारिजात, हसिना, बेली र गोदावरी
प्यारो आँगनको डिलैभरि अरू कौसी–करेसाभरि
फुल्दै रोज परन्तु खिन्न मनले बास्ना करैले छरी
‘खै हाम्री सँगिनी’ भनी दिनदिनै खोज्छन् बिलौना गरी

यौटा झाङ गुलाफको अझ सखी, यो पश्चिमी झ्यालमा
कोठैभित्र छिरी फुलाउँछ सधैँ राता थुँगा कैयन
हावा सिर्र, बरर्र पत्र तिनका हाम्रो बिछ्यौनाभरि
सम्झी सेज–सुहाग त्यो झलझली आँखा असारे झरी

कैल्यै कामविशेषले जब तिमी जान्थ्यौ प्रिये  माइत
बस्थेँ व्याकुल भै प्रिया–मिलनको रोजै कुरी साइत
‘आउन्नौ अब यो जुनीभरि’ भनी जाने–बुझे तापनि
औँला भाँच्छु उसैगरी दिनदिनै प्यारी ! म ऐले पनि

अल्लारे वयदेखि दुःख–सुखकी मेरी थियौ सङ्गिनी
भै यात्री असहाय हाय  कसरी काटूँ म एक्लै जुनी ?
देऊ भेट सधैँ सुटुक्क कि तिमी आएर गाला चुमी
लैजाऊ कि सँगै प्रिया ! प्रणयले साथै बसौँला उहीँ

छन्द: शार्दुल विक्रिडित

रचनाकाल र स्थान : २०५४ असोज, कलैया

(‘गरिमा’ पूर्णाङ्क २१६, २०५७ मङ्सिर /‘बोधिवृक्षको छायामा’ कविता–सङ्ग्रह—२०६९)

२०३२ साल वैशाख ७ गतेका दिन विवाह भएपछि लगत्तै खिचिएको कवि व्यास र उहाँकी श्रीमती ‘कल्पना’को संयुक्त तस्विर ! कल्पना ज्यूको २०५४ साल असोजमा देहावसान भयो ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस