हजुरबा

तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले
मलाई उपहार दिनु भएको थियो
मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट

लगाएर निस्केको पहिलो दिन नै
किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो
धागो निस्केको थियो
धागो तान्दै गएँ, सिलाई उध्रिँदै गयो
हेर्दा हेर्दै मेरो अनुहार
धागो बनेर हरायो टि—शर्टबाट

म पनि उध्रिँदै गैरहेछु भित्र भित्रै
हराउने छु धुवाँको धागो बनेर एक दिन

तपाईं भएको भए सोध्ने थिएँ
को हो जो तानिरहन्छ धागो
म उध्रेको ठाउँबाट ?

पाठकको प्रतिक्रिया
अन्य कविताहरू