मुख्य पृष्ठ » कविता » गधायोद्धा

गधायोद्धा

bool(false)

(1)

खासमा म त्यसरी भाग्दै भाग्दै भाग्दै
जुन दैलो तिमीले तिम्रै हातले थुनेकी हौ ।
त्यसपछि म आँगनमा थिएँ
अन्धकार थियो
तर जूनजस्तो उज्यालो कतै थियो मभित्र
म चुपचाप हिँडिरहेँ
किन भने मलाई सपनाले ठेलेर जिन्दगीबाट बाहिर निकालिदिएको थियो।
झोला थियो, त्यहीँ थिए कुपोषित केही अक्षर
त्यहीँ थियो लुते विचार
त्यही थियो कविता पनि ।
त्यतिखेर त्यो मान्छे बुद्ध थिएन र पनि उसले बुझ्यो
मानिस बासको निम्ति आशक्त रहेछन्
मानिस गाँसको निम्ति आशक्त रहेछन्
मानिस सासको निम्ति आशक्त रहेछन् ।
यी तीन दृश्य वास्तवमा तिमीले दैलो थुनेपछि मात्र मैले देखेको हुँ ।
त्यसपछि म बुद्ध त बन्न सकिन
तर योद्धा भने पक्कै बनें ।

(2)

त्यसरी त्यो योद्धा हिँडिरहेको थियो आफ्नो बाटो
जुन बाटो हिँडिरहेको थियो त्यो भीरमा टुङ्गियो
त्यसलाई लाग्यो
यो भीर भनेको जीवनको अर्को संघर्ष हो
यसलाई जित्नुपर्छ
त्यो हाम फाल्यो ।
सबैभन्दा पहिले त्यसको भावुकता बज्जारियो
भीरमुनि छरियो त्यसका कोरा सपना
त्यसपछि बिनासमय ढुकढुकिने मुटु फुट्यो
पोखियो त्यसलाई छोपेर राख्ने फेन्टासीको रगत
भीरमाथि हुँदा त्यसलाई लाग्थ्यो म योद्धा हु
भीरमुनि त्यसलाई लाग्यो म गधा हुँ ।


(3)

त्यो गधाले त्यसपछि सबैभन्दा पहिला आफैलाई बोक्यो
त्यसपछि भीरमुनि फुलेको एउटा रगतपच्छे फूल पनि बोक्यो
जुन फूललाई थाहा छ भीरमुनिको माटो
कश्मिरभन्दा भयानक छ ।
कश्मिरमा जुन गोली जान्छ
त्यो भारतको संसद भवनबाट नै जान्छ
पाकिस्तानको पान दोकानबाट नै जान्छ
तर भीरमुनि त
कोहीबेला पेट बोकेकी चमेली खस्छ
कोहीबेला पेट सुकेको हर्के झर्छ ।
भीरमुनि मरेको एउटा नाम पनि टिप्यो
त्यो कुनै कविको थियो कि कुनै सपनाहारा चरीको त्यसले चिनेन
एकपन्ना कागज पनि टिप्यो, जहाँ समाचार च्यातिएको थियो
त्यो समाचार सम्भवत त्यसैको थियो कि समयको थियो त्यसले पढ्न सकेन ।
अन्तमा त्यसले एकमुट्ठी माटो टिप्यो र बोक्यो ।
त्यसले सोच्यो मरेपछि चाहिने माटै हो
जिउँदो भइजेल हिँड्नुपर्ने बाटै हो
त्यसकारण हिँड्यो
गधा थियो त्यो ।

(4)

त्यो गधा निस्कियो भारतको भ्रमणमा
त्यसले देख्यो-
साँपजस्तो सुतेको हाइवेमुनि देशका गोठालाहरू अवैद्धरुपमा लाशहरू गाडिरहेका छन्
एक खोला रगत बोतलमा हालेर बेचिरहेको छ पेप्सी कम्पनी
पहाडबाट झर्नाजस्तो झर्ने आशुको बेगमा मिसिन राखेर
बलिरहेका छन् बिल्डिङहरू
जङ्गलहरू हरियो मुस्कान बेच्न जोङ्गाको हुटमा बसेर शहरतिर गइरहेका छन्
सयपत्रीका फूलहरू ओछ्यानमा छरेर हनिमुन मनाइरहेको छ कानून
सिमानामा एउटा बढेमानको ढुङ्गा राखिएको छ
त्यसैमा छेलिएर पिसाब फेरिरहेका छन् राष्ट्रपति !
यत्रो भारि बोकेको समय नबिसाई लुखुर लुखुर हिँडिरहेको देखेर
त्यसलाई लाग्यो,
अब गधाको जमाना सकिएछ ।


(5)

त्यो गधा कहिले मर्यो मलाई थाहा छैन
तर त्यसका कथाहरू धेरैलाई थाहा छ ।
टायर बलिरहेको सडकमा पुलिसले हातको टुक्रा फेला पारेको थियो
हिमालमा एउटा खुर अल्झिएको च्याङ्बाले घाँस कट्दा भेटेको थियो
सपिङमलबाहिर एउटा आँखा लडिरहेको मेरै स्वास्नीले देखेकी हुन् ।

एकदिन अचानक शहरमा हल्ला फैलियो
एउटा गधा डल्लै पृथ्वी बोकेर हिँडिरहेको छ
मानिसहरुले पछ्याउन थाले
त्यो कुरा अमेरिकाले पनि सुन्यो रे
सुने होलान् भारत, रुस, चीन, जापान सबैले।
त्यसपछि गधा पनि हराएको हो
पृथ्वी पनि हराएको हो ।

***

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस